साउन ७ गते नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको ४६औँ स्मृति दिवस । पुष्पलालको राजनीतिक इतिहासबारे बखान गरेर नथाक्ने कम्युनिष्ट नेताहरू लोकतन्त्रको मज्जा लिइरहेका छन् ।
सर्वहाराबाट उदाएर ती नेताहरू नयाँ सामन्त बनेका छन् । विचार कम्युनिष्टको भए पनि व्यवहार राजसी छ । पुष्पलालको नाम र फोटो टाँसेर राजनीतिक दलको दोकान चलाइरहेका कम्युनिस्टहरू जति स्वार्थी, नातावाद, गुटवाद, फुटवाद र लुटवादमा फसेको अर्को कुनै पार्टी छैन होला सायद । यो देश बिग्रेको पनि कम्युनिस्टहरूको विभाजनले हो भन्ने कुरा घाम जस्तै छ । नेताहरूको स्वार्थी र पदलोलुप भएकाले देश र आन्दोलन कमजोर बनिरहेको छ ।
आश्चर्यको कुरा त के भने, पुष्पलालको राजनीतिक उचाइ, गरिमा, त्याग, निष्ठा, समर्पण, अध्ययनका बारेमा भाषण गरेर नथाक्नेहरू नै यति स्वार्थी कसरी बन्न सकेका होलान् ? पार्टी सत्ता र राज्य सत्तामा पुगिसकेपछि नमरुन्जेल ‘म’ मात्रै हुँ भन्ने तानासाही व्यवहार र अवैज्ञानिक चेतना कसरी निर्माण हुन्छ होला ? यी सवाल उपर मन्थन आवश्यक छ । तथापि, यो कुन स्तरमा हुनुपर्छ भन्ने अर्को सवाललाई भुल्नु भने हुँदैन ।
अर्को अर्थमा भन्दा आज समग्र नेपाली राजनीति क्षेत्र यति बदनाम छ कि शब्दमा व्याख्या गर्न निक्कै कठिन छ । यो अवस्था किन र कसरी आयो ? कसका कारणले नेपाली राजनीतिक क्षेत्र छिछि र दुरदुरको विम्ब बन्यो भन्ने सवालमाथि ठोस विश्लेषण आवश्यक हुन्छ । मुलतः नेपाली राजनीतिक क्षेत्रले यतिबेला नैतिक संकट बेहोरिरहेको छ ।
२०४६ सालपछि बनेका प्रधानमन्त्री, मन्त्री, सांसदहरू नै आजसम्म पनि नेपाली राजनीतिको मुख्य भूमिकामा छन् । उनीहरूको पदलोलुपको सीमाहीन र गतिछाडा अवस्था झनै घिनलाग्दो छ ।
अर्कातर्फ नयाँ पुस्ताले राजनीतिको ‘र’ सम्म सुन्न चाहँदैन । राजनीतिमा रहेका असली राजनीतिक नेता तथा कार्यकर्ताहरू निराश देखिन्छन् । निष्ठाको राजनीति गर्नेहरू ओझेलमा परेका छन् । पार्टीभित्रको दलाल पुँजीवाद र गुट, ग्याङले असल नेता कार्यकर्ताहरूलाई बढारिरहेका छन् ।
वैचारिक नेताहरूले पार्टीमा निरीह र बिचरा बन्नुपर्ने अवस्था छ । नयाँ युवाहरू थपिनुको साटो पार्टीमा रहेका राम्रा कार्यकर्ताहरूको बहिर्गमन तीव्र रूपमा बढिरहेको छ । अर्थात्, राजनीति क्षेत्रको यो हविगत हुनुमा मुख्य नेतृत्व जिम्मेवार छ । मुख्य नेतृत्वलाई काँधमा चढाएर हिँडिरहेका दोस्रो र तेस्रो पुस्ताको भुत्ते चेतना दोस्रो कारण हो ।
समग्रमा, एउटा राजनीतिक दल बिग्रँदा देशका अनेकन् आयामहरूमा धक्का पैदा हुन्छ । बन्दै गरेका संरचनाहरू भत्किन थाल्छन् । जनतामा निराशा छाउँछ । राजनीतिक सङ्गठनहरूमा आबद्ध कार्यकर्ताहरूले पार्टी छोड्न थाल्छन् । त्यसैले राजनीतिक नेतृत्व चुनावदेखि चुनावसम्मका कुरा गर्ने होइन, पुस्ताको निम्ति राजनीति गर्ने खालको हुनुपर्छ । दूरदृष्टि राख्नसक्ने हुनुपर्छ ।
विडम्बना नेपालमा यस शाश्वत सत्यका विपरीत नेतृत्व स्वार्थी, लोभी र पदभोगी बन्यो । जसको असर जनताको जीवन र देशको समग्र विकासमा पर्यो ।
नयाँ आशावादको जन्म गराउनु नेतृत्वको मुख्य दायित्व हो । तर, हाम्रो नेतृत्वका क्रियाकलापहरू जनतामा आशा नभएर निराशा बढाउने खालका छन् । टिभीमा कांग्रेस, एमाले, माओवादी, समाजवादीका नेताहरूको समाचार आयो भने टिभी बन्द गर्ने वा अर्को च्यानल हेर्ने गरेको देखिन्छ । त्यसैले यस अवस्थाको ठोस विश्लेषण गरेर वर्तमान नेतृत्वले आफ्नो पार्टीलाई सुधार्नु जरुरी छ ।
संविधान सभाको दोस्रो निर्वाचनमा हामीले ‘भ्रष्टाचारमुक्त नेपाल, सुशासनयुक्त नेपाल’ को नारा दिएका थियौँ । नेपाली जनताले यस नाराको पक्षमा आफूलाई उभ्याउन सक्नुपर्छ र देश विकासमा जुट्नुपर्छ भन्ने उक्त नाराको आशय थियो । पछिल्लाका केही वर्षदेखि नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले घुसरहित पार्टी निर्माण गर्न सकिएको खण्डमा मात्रै देशलाई सुशासनको गतिमा अघि बढाउन सकिने दाबी गरिरहेका छन् ।
घुस नखाने नेता कार्यकर्ता र पार्टी निर्माण गर्नुपर्छ भन्ने घनश्याम भुसाल हालै सम्पन्न उक्त पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनबाट महासचिव चुनिएका छन् । सानो पार्टीको ठूलो महासचिवले भन्दै आएको जस्तो पार्टी निर्माण गर्छन् कि ? के गर्छन् ? त्यो भने हेर्न बाँकी छ । महासचिवले चाहेर मात्र घुस नखाने देश र जनतामा समर्पित पार्टी निर्माण आफैमा कठिन कार्य हो । अतः यो कार्यलाई सम्पन्न गर्न पनि मुख्य नेतृत्वको इमानदारिता, साथ, समर्थन र क्रियाशीलतामा भर पर्छ ।
एउटा पार्टीको महासचिवले चाहेको खण्डमा पार्टीलाई रूपान्तरण गर्न सक्नेमा कुनै दुईमत छैन । तर, पार्टीको मूल नेतृत्वको जडताले गाँजेको पार्टीलाई भ्रष्टाचारभुक्त बनाउने चानचुने कुरा होइन ।
पुराना नेताहरूको वर्तमान बुझाई र गराई यति अल्छी लाग्दो छ कि शब्दमा उतार्न सकिने अवस्था छैन । शीर्ष नेताहरूको कार्य व्यवहारप्रति जनताको धारणा निक्कै बदलिएको छ । करिब आधा शताब्ददेखि पार्टी सत्ता र राज्य सत्तामा रहेका नेताहरू अझैँ पनि आफूलाई निर्विकल्प नेता ठानिरहेका छन् । नेतृत्व हस्तान्तरणका प्रश्न उठाउनेलाई किनारा लगाउने काम गर्छन् ।
अन्त्यमा, यत्ति भन्न सकिन्छ कि ‘भ्रष्टाचारमुक्त पार्टी, सुशासनयुक्त पार्टी’ निर्माण नभएसम्म भ्रष्टाचारमुक्त नेपाल, सुशासनयुक्त नेपालको कल्पना गर्न सकिँदैन । राजनीतिक दलका निम्ति भ्रष्टाचारमुक्त पार्टी निर्माण गर्नु आजको मुख्य कार्यभार हो । त्यसका लागि नेतृत्व गणेश प्रवृत्तिबाट मुक्त हुनुपर्छ । कार्यकर्ता भ्रष्टाचारदेखि दूर रहनुपर्छ ।
यदि यसो गर्न सकिएन भने पार्टीलाई गाँज्दै गरेको दलाल पुँजीवादले नेता र पार्टीलाई निल्ने खतरा बढ्दै जान्छ । तसर्थ, वैचारिक, सैद्धान्तिक, राजनीतिक र कार्य क्रमिक रूपले नै घुस नखाने पार्टी निर्माण गर्नु आजको आवश्यकता हो ।
आज कम्युनिष्ट पार्टीमा विचार र सिद्धान्त निष्ठ नेता कार्यकर्ताहरूको संकट छ । यस संकटलाई चिर्न असल नेतृत्वबाट मात्र सम्भव छ । भनिन्छ, समय बलवान छ, समयले नै नयाँ नेतृत्व जन्माउँछ । पुष्पलाल त्यसैको एउटा उदाहरण हुन् ।