Logo
Logo

पुतुवार, जसले पृथ्वीनारायण शाहको ज्यान बचाए


24.1k
Shares

नौ वर्षअघि महाभूकम्पपछि तहननहस बस्तीमा राहत वितरण गर्न इचंगुनारायण पुगेको एक संस्थाका साथ यो लेखक पनि त्यहाँ पुगेको थियो । पुतुवारहरुको यो बस्तीका सबैजसो घर भूकम्पबाट ढलेका थिए । कुनै घर पक्का ढलान संरचनाबाट बनेका थिएनन् । परिवेश हेर्दा लाग्थ्यो, राजधानी सहर काठमाडौँको छेवैमा रहेको यो बस्ती बत्तिमुनिको अध्याँरोको एक नमूना हो । बस्तीका बासिन्दाहरुमा पुरै पछौटेपन झल्किन्थ्यो ।

यस बस्तिमा एक फन्को लगाएर फर्केपछि पुतुवारहरुको ऐतिहासिक पाटोबारे सोधखोज गर्न मन लाग्यो । यहीँ सेरोफेरो यो लेख तयार पारिएको छ । गोरखाली राजा पृथ्वीनारायण शाहले कीर्तिपुरको पहिलो युद्धमा ब्यहोर्न परेको हारको घटनाबाट पुतुवारहरुको इतिहासको खोजी गरिएको छ ।

उपत्यकाको तीन राज्य जित्नका लागि सबैभन्दा पहिले कीर्तिपुर हात लिन जरुरी ठानेका गोरखाली राजा पृथ्वीनारायण शाहले आफ्नो सैन्य शक्ति दहचोक गढीमा तैनाथ गरेका थिए । उनी कीर्तिपुर हात लिन हतारिइरहेका थिए । तर गोरखालीका लागि कीर्तिपुर हात लिन अनुकूल समय भइसकेको थिएन । अर्को तथ्य कीर्तिपुरमा विजय हासिल गर्नु पनि सजिलो थिएन ।

त्यो समय उपत्यकाका तीनै राज्य एक भइरहेका थिए भने जयप्रकाश मल्लले नगरकोटी सेनाहरु झिकाएर उनीहरुबाट कान्तिपुरका युवाहरुलाई प्रशिक्षित गराई सैन्य शक्ति सुदृढ बनाइरहेका थिए ।

एकातिर पृथ्वीनारायण शाहका कान्छा भाई सुरप्रताप शाह आफ्ना दाजुलाई कीर्तिपुर तत्काल आक्रमण गर्न उक्साइरहेका थिए । तर पहिल्यैदेखि दहचोकगढी कुरिरहेका हरिवंश उपाध्यय मात्र होइन, युद्धको समय साइत हेरिदिने गोरखाली ज्योतिष कुलानन्द ढकालका साथै पृथ्वीनारायण शाहका विश्वासपात्र काजी कालु पाँडे भने तत्काल युद्ध छेडिहाल्दा परिणाम अनुकुल हुनेमा सशंकीत थिए । उनीहरु सकेसम्म पृथ्वीनारायणलाई सम्झाएर केही समय पर्खाउने पक्षमा थिए । तर पृथ्वीनारायण शाहको हठको अगाडी उनीहरुको केही लागेन । परिणामस्वरुप उनको विश्वासयोग्य काजी कालुको ज्यान मात्र गएन, उनी स्वयम्को ज्यान जोखिममा प¥यो ।

वि.सं. १८१४ जेठ १९ गतेको कीर्तिपुरको युद्धमा गोरखालीहरुले नराम्ररी क्षति ब्यहोर्नुप¥यो । पृथ्वीनारायण शाह हार ब्यहोरेर चुकचुकाउँदै दहचोक फर्कनु प¥यो ।
उनलाई युद्धस्थलमा पुतुवारहरुले बचाएका थिए ।

कीर्तिपुरको त्यो पहिलो युद्ध

कुलानन्द ढकालले युद्धका लागि साइत निकाल्न नमानेपछि उनलाई पृथ्वीनारायण शाहले नराम्ररी हप्काए । उनले ‘गोरखामा तँ मात्रै ज्योतिषी छस्’ भन्ने भावमा हप्काएर बालकृष्ण जैसीलाई युद्धको साइत निकाल्न लगाए । अझै पनि कालु पाँडे तत्काल कीर्तिपुरमा आक्रमण गर्न नहुने पक्षमा थिए । उनलाई पनि पृथ्वीनारायण शाहले ‘तँलाई मर्न गाह«ो भयो कि’ भनी हप्काए । त्यसपछि कालु पाँडेले ‘मैले मरी हजुरको सब्य हुन्छ भने म मर्छु’ भनी युद्धका लागि तयार भए (प्राचीन नेपाल, सङ्ख्या २२–माघ २०२९ः११–१२)

बालकृष्ण जैसीले निकालिदिएको साइतअनुसार वि.सं. १८१४ जेठ १९ गते उज्यालो नहुँदै खानपिन सकेर कालु पाँडे १२ सय जति सैनिक आफ्नो साथमा लिई दहचोक पृथ्वीनारायण शाह गढीबाट तल झरे ।

कीर्तिपुरदेखि उत्तरपश्चिमको झम्सिखेल चौरमा गोरखाली सैनिक दल जम्मा हुँदा जयप्रकाश मल्लको नेतृत्त्वमा कान्तिपुरको सैनिक दल पनि आइपुग्यो । गोरखाली र कान्तिपुरको सैनिकहरु युद्धरत रहेको अवस्थामा मध्यान्हमा ललितपुर र अपराह्न भक्तपुरका सैनिकहरु युद्धमा सामेल हुन आइपुगे ।

गोरखाली सैनिकहरुले नै दपेटा दिइरहेको अवस्थामा अचानक शत्रुपक्षबाट छुटेको काँड कालु पाँडेको शिरमा प्रहार भयो । उनी ढले । सेनापति नै ढलेपछि गोरखाली सैनिक तितरबितर हुन थाले (गंगा कर्माचार्य (हाडा), ‘कन्ट्रीब्यूसन टु नेपालिज स्टडिज’ वर्ष ३१ अंक १– जुनाई २००४ः३५०) ।

आखिर कालु पाँडेले भनेजस्तै भयो, युद्धको परिणाम पनि । अलि परबाट युद्धको दृश्य हेरिरहेका पृथ्वीनारायण शाहले आफ्ना सैनिकलाई फर्कन आदेश दिए ।

युद्ध मैदानमा कालु पाँडेको मृत्यू भएपछि कीर्तिपुरे फौजले पृथ्वीनारायण शाहलाई लखेट्न थाल्यो । त्यो लखेटाईमा पर्दा एक जना कीर्तिपुरे फौजले पृथ्वीनारायण शाहको गर्धनमा ताकेर खुँडा प्रहार गर्नै लागेका थिए । तर कसैले ‘सेनाले राजालाई मार्नु हुन्न, राजालाई राजाले मार्नुपर्छ । होइन भने धर्मविपरित हुन्छ’ भनेकाले उनी ज्यान बचाएर दहचोकसम्म पुग्न सफल भए (कर्माचार्य, सन् २००४ः३५२) ।

त्यो युद्धमैदानमा पृथ्वीनारायण शाहलाई ज्यान जोगाउन मुस्किल परिरहेको बेला उनलाई पुट्वार (पुतुवार) जातिको मानिसले बचाएका । त्यसपछि जयकृष्ण थापाको पिठ्यूमा चढेर उनी दहचोक पुगे । त्यहाँ उनले ‘काल्याले त भन्याथ्यो, मेरो हठले लडाई विग¥यो’ भन्दै पछुतो गरिरहेका थिए । त्यसपछि यहाँ बसी भलो हुँदैन भनेर दहचोकको रक्षार्थ केही सैनिकहरु राखी बाँकी फौज लिएर नुवाकोटतिर लागे (कर्माचार्य, सन् २००४ः३५०)

त्यो युद्धस्थलमा पृथ्वीनारायण शाहलाई बचाउन पुतुवारहरुले धेरै मेहनत गरे । त्यतिले पनि नपुगेर जयकृष्ण थापाको पिठ्यू चढेर पृथ्वीनारायण शाह युद्ध मैदानबाट भाग्न विवस हुनु परेको थियो (प्राचीन नेपाल, २०२९ः१२) ।

कीर्तिपुरको युद्धमा आफूलाई जोगाएर दहचोक पु¥याउने पुतुवारहरुप्रति पृथ्वीनारायण शाहले निक्कै खुसी भई उनीहरुलाई आफू नजिकको मानिस बनाएका थिए । यस ऐतिहासिक प्रकरणबारे ‘भाषा वंशावली’ भाग २ (देवीप्रसाद लंसाल (सम्पा.), २०२३ः११५)मा ‘लडायी हुँदा गोर्खाका राजा पृथ्वीनारायण शाहका असल सुरा सुरा काजी उमराव सिपाही धेरै मारिदियो ।

पृथ्वीनारायण शाहले आफ्नो जीवको शन्सय गरी दहचोक डाडा चढी भागी जाँदा एक कसाहि र पुतुवारले बोकी रातारात गरी नुवाकोट् पु¥यायी दिया । यहाँ पछि कशाई पुतवारलाई मेरामाथि यिनीहरुले गुण ग¥या भनी खुसी भै महर्वानि गरी राष्या । पुतुवारलाइ नजिक गरि राष्या’ भन्ने उल्लेख छ ।

यसभन्दाअघि वि.सं. १८०१ को नुवाकोटको युद्धमा नुवाकोट कब्जा गरिसकेपछि बेलकोट आक्रमण गर्दा पृथ्वीनारायण शाहले ठूलो क्षति बेहोर्नु परेको थियो । जयन्त रानाको सेनाले प्रहार गरेको बाण लागेर पृथ्वीनारायण शाहका धेरै सेना घाइते भएका थिए । उनलाई पालकीमा बोक्ने पुतुवारहरु पनि सख्त घाइते भएपछि युद्धस्थलबाट पृथ्वीनारायण शाह फर्कन खोजेका थिए । तर कालु पाँडेले त्यो गर्न मानेनन् र मुस्किलले बेलकोट हात लिई जयन्त रानालाई पक्रेर पृथ्वीनारायण शाह फर्केका थिए (‘प्राचीन नेपाल’, २०२९ः४) ।

पुतुवारहरुको प्रयोग

कीर्तिपुरेहरुले मार्न भनि लखेटिइरहेको अवस्थामा पृथ्वीनारायण शाहको ज्यान बचाउन पुतुवारहरुको प्रयोग राज्यले विभिन्न रुपमा गरेको पाइन्छ ।

राजदरबारभित्र शक्ति संघर्ष हुँदा रणबहादुर शाह नेपाल छाडेर काशी भाग्न विवस भए । आफ्ना नावालक छोरा गीर्वाणयुद्ध विक्रमलाई राजगद्दि सुम्पेर आफू सन्यासी भइसकेको अवस्थामा पनि पुनः राजकाजमा हस्तक्षेप गर्न थालेपछि उनीसँग दामोदर पाँडे लगायतका भारदारहरु असन्तुष्ट थिए ।

उनै दामोदर पाँडेलगायतका भारदारहरुले आफूलाई पक्रेर थुन्लान् भन्ने डरले उनी वि.सं. १८५७ जेठ ८ गते एकाविहानै पाटनबाट काशीतर्फ भागे । यसरी भाग्दा उनीसँग दुई जना जमदार, तीनजना खवास र आठ जना पुतुवार थिए (ज्ञानमणि नेपाल, ‘नेपालको महाभारत’–२०५२ः४७)।

पुतुवारको खास काम भनेको पालकी बोक्ने थियो । रणबहादुर शाहले पनि आठ जना पालकी बोक्ने प्रयोजनमै काशीतर्फ लगेका थिए भन्ने स्पष्ट हुन्छ । रणबहादुर शाह काशीबासको समयमा लाखौँ ऋणमा चुर्लुम्म डुबेका थिए । तत्कालिन राजा गीर्वाणयुद्ध विक्रम शाहले रणबहादुरको ऋण तिर्न दरबारका चौतारिया, काजी तथा साना ठूला सबै पदका कर्मचारीहरुलाई सलामी रकम बुझाउन आदेश जारी गरेका थिए ।

वि.सं. १८६१ जेठ वदी १३ मा जारी यस आदेशमा चार जना पुतुवारलाई १० रुपैयाँ बुझाउन आदेश दिइएको छ । उनीहरुमा पुतुवार नाइक्या वस्ति, पुतुवार नाइक्या महेश्वर र अरु नाम नखुलेका दुई जना पुतुवार रहेको छन् (चित्तरञ्जन नेपाली, ‘श्री ५ रणबहादुर शाह’–२०७५ः१२६–२७) ।

रणबहादुर शाह काशीबाट स्वदेश फर्केपछि पुरै राजनीतिमा हात हाल्न सुरु गरेका थिए । काशीबाटै फर्केर जेठी महारानी राजराजेश्वरीले बालक राजा गीर्वाणयुद्धको नायवी माहिली रानी सुवर्णप्रभाबाट खोसेकी थिइन् । रणबहादुर शाह स्वदेश फर्कनासाथ राजराजेश्वरीलाई हेलम्वु निर्वासनमा पठाएका थिए ।

इतिहासकार नेपाल (२०५२ः९७)ले तत्कालिन घटनाक्रम खुल्ने एक अर्जी प्रकाशित गरेका छन् । राजराजेश्वरीको हेलम्बु निर्वासन प्रकरणमा ‘स्वामिले आफ्ना वडामहांरानिलाइ दोलिमाहां राषि हेल्मु भन्याको जगामाहां धपाइ दिया सुवेदार कंपनि १ चाकि राषिदियो. पुतवार जना ४ राषिदिया’ भन्ने परेको छ । यसबाट चार जना पुतुवारले निर्वासन तोकिएकी रानी राजराजेश्वरीलाई पालकीमा बोकेर हेलम्बु पु¥याएका थिए भन्ने बुझिन्छ ।

चन्द्रबीर पुतुवार, जसको हात काटियो

आफ्ना छोरा रणेन्द्रलाई युवराज घोषणा गर्न दवाव दिइरहेको अवस्थामा जंगबहादुर राणाले राजेन्द्रविक्रम शाहकी महात्त्वाकाङ्क्षी कान्छी महारानी राज्यलक्ष्मीलाई वि.सं. १९०३ मंसिर १० गते काशी प्रस्थान गराए (बाबुराम आचार्य, “पूर्णिमा” पूर्णाङ्क २७–वैशाख २०२९ः१७७) ।

राज्यलक्ष्मीसँगै राजा राजेन्द्र पनि काशीतिर हिँडे । काशीबाट बेलाबेलामा जंगबहादुरको हत्या गर्ने योजनाहरु बनाइएका थिए । यो योजना सफल बनाउन एकपटक गगनसिंहको हत्यारा भनी चिनिएका वा चिनाइएका लाल झा र दातृ पाध्यालाई पठाइएको थियो । यसको मुख्य योजनाकार चौतारिया गुरुप्रसाद शाह र जगतबम पाँडे थिए । तर योजना विफल बनाइयो । लाल झालाई कुम्भेदान बनाउने भनी फकाएर सबै बकाइयो । उनले पोलेका जति पक्राउ परे । लाल झा भने जेल परेको ३÷४ दिनपछि मरे ।

यी सबैको बयान मुचुल्का बनाएर निर्वासनमा रहेका राजा राजेन्द्रलाई पठाइयो । उता गुरुप्रसाद शाह र जगतबम पाँडेले पनि आफूहरुलाई मार्न काशी पठाइएको भनी दुई जना मानिस खडा गरे ।

यस्तै जंगबहादुरले आफूविरुद्ध षडयन्त्र गर्नेहरुको दमन गर्दै जाने क्रममा सेवकराम थापालाई ठिमीमा लुकेर बसेको अवस्थामा पक्राउ गरे । उनले जंगबहादुरको हत्या गर्न आउने सबैको नाम पोलिदिए । तिनहरुमा चन्द्रवीर पुतुवार, बदलसिंह गुरुङ र गम्भीरसिंह गुरुङ प्रमुख थिए । तीमध्ये चन्द्रवीरको हात काटेर थुनामा राखियो । दुई जना गुरुङलाई भालाले घोचेर मारियो (नेपाल,२०५२ः२७६–७७)

यसरी हात काटिएर थुनामा पर्न बाध्य चन्द्रबीर पुतुवार राजपरिवारका सदस्यलाई पालकीमा बोकेर काशी पुगेका थिए । उनलाई जङ्गबहादुरको हत्या षडयन्त्रमा प्रयोग गरियो, फलतः जङ्गबहादुरको दमनको शिकार बन्न प¥यो ।

को हुन् पुतुवारहरु ?

पुतुवारहरु काठमाडौँबासी नेवारहरु हुन् । उनीहरुको मूल बसोबास इचंगुनारायणमा रहेको छ । यो ठाउँ हल्चोकबाट मास्तिर पर्छ । नेवारका १५० भन्दा बढी थरहरु छन् । तीमध्ये पुतुवार पनि एक हो । उनीहरुलाई नेवारी भाषामा ‘डुइँया’ भनिन्छ । उनीहरुलाई राजवाहक पनि भनिन्छ । सम्भवतः पृथ्वीनारायण शाहलाई कीर्तिपुरको युद्धमा पालकीमा बोकेर बचाएपछि उनीहरुलाई ‘राजवाहक’ भन्न थालियो ।

पुतुवारलाई डुइँया भन्ने गरिएकोले उनीहरुको पूर्व डोय हुन् कि भन्ने अनुमान पनि गर्न सकिन्छ । ‘गोपाल राजवंशावली’मा तिरहुतियाहरुलाई डोय उल्लेख गरिएको छ । उक्त वंशावलीमा उल्लेख भएको नान्यदेव, नरसिंह, रामसिंह सिम्रौनगढका राजा थिए । तिरहुते नान्यदेव र उनका वंशजहरु त्यसताका नेपाल उपत्यकाभित्र ‘डोय’ भनि प्रशिद्ध थिए ।

सिम्रौनगढमा आफ्नो राज्य स्थापना गरेदेखि नै तिरहुतेहरुले नेपाल उपत्यकातिर पनि आँखा लगाउन थालेका थिए । वि.सं. १३६७ तिर केही काल यहाँ उनीहरुको शासन पनि कायम थियो । तर, उनीहरुको शासन दीगो हुन सकेन । यहाँको तात्कालिक राजवंशको स्थिति पूर्ववत कायम थियो (धनबज्र बज्राचार्य, ‘पूर्णिमा’ पूर्णाङ्क ४–माघ २०२१ः३०) ।

गयासुद्दिन तुगलकको भीषण आक्रमणबाट सिम्रौनगढ राज्यको पतन हुन पुग्यो । त्यहाँका अन्तिम तिरहुतिया राजा हरसिंहदेव ज्यान जोगाएर हालःको पूर्वी नेपालमा आएर आश्रय लिन बाध्य भए । यिनको साथमा यिनका रानी, मन्त्री तथा अन्य भारदारहरु पनि थिए ।

सुरक्षित आश्रयको खोजी गर्दै सुनकोशी नदीको किनारै किनार दोलखातर्फ आउँदा तीनपाटन नामको ठाउँमा वि.सं. १३८२ को माघ महिनामा हरसिंहदेवको निधन भयो । त्यसबेला अरि मल्ल नेपालका राजा थिए भने रुद्र मल्ल शक्तिशाली प्रशासक थिए । दिवंगत राजा हरसिंहदेवकी विधवा देवलदेवी नेपाल दरबारमा आश्रय लिन पुगेकी थिइन् (बाबुराम आचार्य, ‘नेपालको सङ्क्षिप्त वृत्तान्त’–२०६३ः६६–६७) ।

यसरी युद्धबाट पराजित भएपछि उपेक्षित अवस्थामा पुग्न बाध्य उनै डोयहरु क्रमशः डुइँया कहलाएको अनुमान गर्न सकिन्छ । नेवार समुदायमा पुतुवारहरुलाई डुइँया भनेर निम्न वर्गमा राखिएको छ । डा. तुलसी नारायण श्रेष्ठले आफ्नो पुस्तक ‘नेपालका नेवारहरु पहिचान र पृष्ठभूमी’ (२०६६ः१२७)मा पुतुवारलाई नेवार समाजमा निम्नस्तरको भए पनि अछुत नमानिने वर्गमा राखिएको उल्लेख गरेका छन् ।

यस्तै इतिहासकार डा. जगदिशचन्द्र रेग्मीले आफ्नो पुस्तक ‘नेवारी संस्कृतिको रुपरेखा’ (२०३५ः२४)मा उल्लेख गरेअनुसार जङ्गबहादुरको समयमा बनेको मूलुकी ऐनले गल्ती वा अपराध गरेको अपस्थामा साल्मी, नकर्मी, छिपा, माली, खुसल र मुसलसँग एउटै वर्गमा राखेर पुतुवारहरुलाई सजायको ब्यवस्था गरेको थियो ।

एक पुरानो तमसुकमा उल्लेख भएको आधारलाई मानेर इतिहासकार शङ्करमान राजवंशीले पुतुवारलाई ‘माझी’ पनि भनी लेखिएको उल्लेख गरेकाछन् । उनले ‘प्राचीन नेपाल’ सङ्ख्या ७७ (भदौ–असोज २०४०ः२५)मा प्रकाशित गरेको ने.सं. ९६९को ताडपत्र तमसुकमा कान्तिपुर तंलाछेटोल नास्वनीमा बस्ने पुनाराम पुतुवार र भानाराम पुतुवार दुई जनाले देवलतिर रहेको लगापात जग्गा सोही टोलमा बस्ने मनिकृष्ण कुसि भारोलाई २४ रुपैयाँमा बेचिदिएको उल्लेख छ ।

अघिल्लो एक पत्रमा पुनारामलाई माझी भनिएको र पछिल्लोमा चाहिँ पुतुवार लेखिएकोले यसबाट पुतुवारलाई माझी पनि भनिदोरहेछ भन्ने थाहा भएको राजवंशीले उल्लेख गरेका छन् ।

पुतुवारहरुलाई पहिले ‘डुइं’ वा ‘डुइँया’ भन्ने गरिएको चर्चा माथि परिसकेको छ । उनीहरुलाई कहिलेदेखि पुतुवार भन्न थालियो त ? यसबारे भारतीय इतिहासकार बलदेवप्रसाद मिश्रले आजभन्दा १२० वर्षअघि लेखेको आफ्नो पुस्तक ‘नेपालका इतिहास’मा थोरै चर्चा गरेका छन् ।

मिश्र (१९६१ः८०) अनुसार कीर्तिपुरको पहिलो युद्धमा पराजित भई आफ्नो ज्यानकै जोखिम भएपछि पृथ्वीनारायण शाह एक कसाही र एक दुआन (डुइँया)को काँधमा चढेर नुवाकोट पुगे । त्यसपछि डुइँयाको कार्यतत्परता देखेर खुसी भई पृथ्वीनारायण शाहले उनलाई ‘स्यावास पुत’ भने । त्यहीँ दिनदेखि डुइँयाहरुलाई ‘पुतवार’ भन्न थालिएको मिश्रले उल्लेख गरेका छन् ।

पुत भनेको पुत्र अर्थात् छोरा हो । त्यसबेला आफ्नो ज्यानलाई सुरक्षित गरिदिएकोमा उनी डुइँयाहरुप्रति निक्कै आभार थिए भन्ने यस ऐतिहासिक प्रसङ्गबाट थाहा हुन्छ । तर पुतुवारहरु नेवारभित्रै पनि उनीहरु सिमान्तकृत जातिका रुपमा रहेका छन् । राजधानीको बासिन्दा भए पनि उनीहरुमा गरीबी र अशिक्षा ब्याप्त छ ।

प्रतिक्रिया दिनुहोस्