काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा आज नेपालले इरानसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा साँझ सवा ५ बजे सुरु हुनेछ ।
लिगमा अपराजित रहेको नेपाल सोही लयलाई निरन्तरता दिन चाहन्छ । शनिबार भएको लिग चरणको आफ्नो दोस्रो खेलमा नेपालले भारतमाथि ऐतिहासिक जित निकाल्न सफल भएका थियो । आज पनि इरानलाई हराउने उच्च मनोवलका साथ नेपाली टोली मैदान उत्रने छ ।
उता इरान भने घरेलु टोली नेपाललाई स्तब्ध पार्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लन चाहन्छ । लिगमा २ खेलबाट ५ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ । एक खेल बढी खेलेको इरान पनि ५ अंकमा तेस्रो स्थानमा छ ।
समान ३ खेल खेलेको भारत ७ अंकमा तालिकाको शीर्ष स्थानमा छ । २ खेलबाट १ अंक बनाएको श्रीलंका चौथो र त्यति नै खेलबाट अंक विहिन मालदिभ्स भने अंक तालिकाको पुछारमा छ ।