स्कटहोम । स्वीडेनले लेबनानको बेरुतस्थित आफ्नो दूतावास बन्द गरेको गरेको छ । हजारौँ नागरिकलाई लेबनान छोड्न आग्रहसहित गाजामा युद्ध बढ्न सक्ने सम्भावना बढेपछि दुतावास बन्द गर्ने निर्णय गरेको जनाइएको छ ।
तेहरानमा बुधबार हमास नेता इस्माइल हानियाको मृत्यु भएपछि इरानले इजरायलविरुद्ध बदला लिने बताएसँगै मध्यपूर्वमा तनाव बढ्ने सम्भावना बढेको हो । गाजा युद्धको बीचमा थप क्षेत्रीय तनाव बढेको छ ।
स्वीडेनको विदेश मन्त्रालयले आफ्ना कर्मचारीलाई बेरुत छोडेर साइप्रस जान निर्देशन दिँदै दूतावास अस्थायी रूपमा स्थानान्तरण गर्ने योजना बनाइरहेको विदेश मन्त्री टोबियास बिलस्ट्रोमले बताए । उक्त निर्णय सुरुआती चरणमा अगस्ट महिनाको लागि लिइएको जनाउँदै उनले सुरक्षा अवस्थाका आधारमा विस्तार गर्न सकिने उल्लेख गरेका छन् ।
विदेश मन्त्रालयका अनुसार सन् २०२३ अक्टोबरदेखि जारी गरिएको चेतावनी वावजुत दश हजार स्वीडेनका नागरिक लेबनान गएका हुनसक्ने उल्लेख गर्दै विदेश मन्त्री बिलस्ट्रोमले लेबनानमा रहेका स्वीडेनका नागरिकलाई सो देश छोडी अन्यत्र जान आग्रह गरेका छन् ।
यस्तै, अमेरिकाले पनि आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न भनेको छ । मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई जतिसक्दो चाँडो लेबनान छोड्न आग्रह गरेको छ ।
बीबीसीका अनुसार यसअघि बेलायतका विदेशमन्त्री डेभिड ल्यामीले पनि आफ्ना नागरिकलाई लेबनान छान्न भनेका थिए । उनले यस क्षेत्रको अवस्था तीव्र गतिमा बिग्रन सक्ने बताएका चेतावनी दिएका थिए । यस्तै, जोर्डनका विदेशमन्त्रीले पनि चेतावनी जारी गर्दै आफ्ना नागरिकहरूलाई तुरुन्त लेबनान छाड्न आग्रह गरेका छन् ।