काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्ने मर्दी हिमाल आधार शिविरमा मानव अवशेष भेटिएको छ ।
माछापुच्छ्रे गाउँपालिका–९ का वडा अध्यक्ष हरिबहादुर क्षेत्रीले लामडाँडा भन्ने ठाउँमा मानिसको हाडसँगै टाउजर र आइफोन मोबाइल भेटिएको जानकारी दिए ।
भेटिएको मानिसको हाड, टाउजर र आइफोन स्विडिस नागरिक मिचल लिउ ब्लोम्बर्गको हुन सक्ने अनुमान रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
गत वर्ष पुस १४ गते मर्दी हिमालको बेसक्याम्पसम्म सोलो (एकल) पदयात्रामा गएका स्विडिस नागरिक मिचल हराएका थिए । त्यो बेला प्रहरी, स्थानीय र स्विडिस् दूतावासकोसमेत सहयोगमा खोजी गर्दा पनि उनको पत्ता लागेको थिएन ।