काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारी, खेलाडी र खेलप्रेमी कलाकारसँग छलफल गरेका छन् ।
सिंहदरबारमा आइतवार बिहान भएको छलफलबाट रंगशाला निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउन सहज हुने अपेक्षा गरेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत बताएका छन् ।
‘क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेलप्रेमी कलाकार र सचिवालयका साथीहरूबीच छलफल भयो । यससँगै रंगशाला निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउन सजिलो हुनेछ । आजको बिहानी खाजा भेटपछि म उत्साही छु,’ उनले फेसबुकमा लेखेका छन् ।
प्रधानमन्त्रीसँग छलफल गर्न क्यानका सचिव पारस खड्का, गायक प्रकाश सपूत, गायिका रचना रिमाललगायत सिंहदरबार गएका थिए । कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा अहिले स्तरोन्नतिको काम भइरहेको छ । ओलीले यससँगै अन्य क्रिकेट मैदानका विषयमा क्यानका पदाधिकारी, खेलाडी र खेलप्रेमी कलाकारसँग छलफल गरेका हुन् ।