एजेन्सी । बंगलादेशमा प्रदर्शनकारीहरूले प्रधानमन्त्री निवासबाट कुर्सी र सोफा लगेका छन् ।
बिबिसीका अनुसार सोमबार दिउँसो प्रधानमन्त्री निवास गणभवनबाट प्रदर्शनकारीहरूले कुर्सी र सोफा उठाएर लगेका हुन् ।
अहिले ढाकामा हजारौं प्रदर्शनकारीहरू सडकमा छन्। ठूलो संख्यामा प्रदर्शनकारीहरू प्रधानमन्त्री निवास छिरेका थिए।
प्रधानमन्त्री शेख हसिना भने प्रधानमन्त्री निवासबाट सेनाको हेलिकप्टरमा चढेर देश छाडेकी छन् । उनी चढेको हेलिकप्टर भारततर्फ गएको दाबी विभिन्न सञ्चारमाध्यमहरूले गरेका छन् ।
हसिनाले पदबाट राजीनामा दिएर देश छाडेसँगै बंगलादेशका सेना प्रमुख वाकेर(उज(जमनले विभिन्न राजनीतिक दलका प्रमुखसँग छलफल गरेका छन् ।
त्यसपछि देशबासीका नाममा सम्बोधन गर्दै उनले अन्तरिम सरकार बनाउनेबारे छलफल गरिरहेको बताए ।
बंगलादेशमा विभिन्न जिल्लामा जारी आन्दोलनमा आइतबारमात्रै कम्तिमा ९१ जना मारिएका थिए ।
हसिनाको राजीनामा माग गर्दै दसौं हजारको संख्यामा उत्रिएका विद्यार्थी र सुरक्षाकर्मीबीच झडप हुँदा एकै दिन ९१ जना मारिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भूपू सेनाका सन्तानहरूलाई सरकारी जागिरमा आरक्षण दिने नीति विरूद्धको आन्दोलन अब सरकारविरोधी आन्दोलनमा परिणत भएको छ। आन्दोलनकारीहरूले प्रधानमन्त्री शेख हसिनाले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने भनेका थिए ।
आइतबार ठूलो संख्यामा हताहती भएपछि सरकारले देशव्यापी अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ । साथै इन्टरनेट सेवा पनि बन्द गरिएका छन् । सोमबारसम्म सबै सरकारी कार्यालयहरूमा पनि बिदा दिइएको छ ।
प्रधानमन्त्री शेख हसिना हिंसात्मक प्रदर्शनमा उत्रिएकाहरू विद्यार्थी नभई आतंककारी रहेको बताएकी छन्।