Logo
Logo

स्वास्थमा हेरफेरको तयारी


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसले स्वास्थ्य मन्त्रालय सम्हालेपछि आफू अनुकुलका कर्मचारीहरू सरुवाको तयारी भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्यसचिवद्वय रोशन पोखरेल र हरिप्रसाद मैनालीसँग परामर्श गरेपछि यसको तयारी थालेका हुन् । केही दिनमा सरकारी अस्पतालका विभागीय प्रमुख र महाशाखा प्रमुखको सरुवा तयारी भैरहेको छ ।

स्रोतका अनुसार स्वास्थ्य सेवा विभागको महानिर्देशक फेर्ने तयारी भइरहेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगीता कौशल मिश्रलाई मन्त्रालय फिर्ता बोलाएर त्यहाँ नयाँ व्यक्ति पठाउने भएका हुन् ।

सबैभन्दा आकर्षक मानिने स्वास्थ्य सेवा विभागको महानिर्देशक बन्नका लागि अतिरिक्त सचिव डा. टंक बाराकोटी र डा. विकास देवकोटा लागिपरेका छन् । डा. बाराकोटी झापाली भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीनिकट भएको आशंका गरिएको छ । डा. विकास देवकोटा भने नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग लुम्बिनीमा काम गरेका व्यक्ति हुन् । तर, पोखरेल लुम्बिनीको सत्ताबाट हटेपछि उनले खासै महत्व नदिएकाले उनको संभावान कमजोर रहेको स्रोतले जनाएको छ ।

स्वास्थ्यमन्त्री पौडेलले ओलीको रोजाइमा परेका बाराकोटीलाई स्वास्थ्य सेवा विभागको महानिर्देशक बनाउँछन् कि शंकर पोखरेलको नाम लिने देवकोटालाई हेर्न बाँकी छ । प्रधानमन्त्री ओलीले बाराकोटीलाई महानिर्देशक बनाउन स्वास्थ्यमन्त्री पौडेललाई सन्देश दिएको स्रोतको दाबी छ ।

यसले देवकोटालाई महानिर्देशक बनाउन त्यति सहज देखिँदैन । कांग्रेसको मन्त्रालय भएकाले ओलीले संकेत गरे पनि हस्तक्षेप भने नगर्ने बताएका छन् । ‘कर्मचारी सरुवामा मेरो कुनै हस्तक्षेप हुँदैन’, ओलीले मन्त्रीहरूलाई मुखले भन्दै आएका छन् ।

डा विकास देवकोटा लुम्बिनी प्रदेशको स्वास्थ्य सचिव बनिसकेका उनलाइ कसरी काम गर्ने भन्ने ज्ञान रहेको बताइन्छ । कसैलाइ भनी नबिझाउने उनको मनपर्ने शैली छ । आत्मकेन्द्रीत आनीबानी भएकाले उनको नियतमा सधै शंका रहने अधिकारीहरु बताउँछन् । व्यापारी नै उनलाई महानिर्देशक बनाउन मन्त्रीसँग स्टार होटलमा डिल गर्ने परिपाटीले भने हालका मन्त्री पौडेलको लक्ष्य पूरा हुदैनकी भन्ने मुख्य चिन्ता स्वास्थ्य सुधारको अभियानमा लागेकाहरुको हो । ‘अहिले प्रदीय पौडेललाई झुक्याउन गाह्रो छ’, स्रोतले भन्यो ‘उनका सहयोगीहरुले पनि राम्रो सल्लाह दिइरहेका छन् ।’

त्यसैगरी डा टंक बराकोटी सफल चिकित्सकका रुपमा चिनिन्छन् । पूर्वमा वर्षाैँ काम गरेका उनले जनताको समस्या बोकेरै काठमाडौं छिरेका हुन् । सोझा डा टंक नियम कानुन भन्दा बाहिर गएर कलम चलाउदैनन् । त्यसैले सरकारले उनलाइ चाहे पनि व्यापारीले नचाहन सक्छ ।

स्वास्थ्यमन्त्री पौडेलले उनीहरूको ‘पर्फमेन्स’ हेरेर मात्रै गर्नु उचित हुने मन्त्रालय कै अधिकारीहरू बताउँछन् । स्वास्थ्य सेवा विभागको महानिर्देशक फेर्न खोजेका स्वास्थ्यमन्त्री पौडेलले यी कुरामा ध्यान दिन जरुरी रहेको ती अधिकारीहरूको भनाइ छ । सबैभन्दा बढी भ्रष्टचार हुने ठाउँ भएकाले त्यहाँ व्यापारी र विचौलियाहरुको पनि चासो रहेको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस्