Logo
Logo

एमालेमा फेरि १० भाइको रुवाबासी


9.6k
Shares

काठमाडौं । नेकपा (एमाले)ले पक्षपातपूर्ण रुपमा व्यापक मात्रामा नेताहरूको जिम्मेवारी हेरफेर गरेपछि असन्तुष्टि बढेको छ । सिंहदरबार अगाडि विशाल पण्डितको बसेरा होटलमा गत बिहीबार बसेको सचिवालय बैठकले केही नेतालाई अवसरमाथि अवसर दिएको छ भने केही नेतालाई पुर्पुरोमा हात राखेर बस्नुपर्ने अवस्थामा पु¥याइदिएको छ । महासचिव शंकर पोखरेलले गुटगत प्रभावमा नेताहरूको कार्यविभाजन गरेर सचिवालय बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए ।

स्रोतका अनुसार सचिवालय बैठकमै नेताहरूले कार्यविभाजनप्रति असन्तुष्टि जनाए पनि अध्यक्ष केपीशर्मा ओलीले निर्णय भएको घोषणा गरेका थिए । एमालेका ३५५ जना केन्द्रीय सदस्यहरूको कार्यविभाजन भएको छ । सातै प्रदेशका इन्चार्जहरू परिवर्तन भएका छन् भने ३२ वटा विभागका प्रमुख र २२ वटा जनसंगठनको इन्चार्ज पनि हेरफेरमा भएका छन् ।

पोलिट्ब्यूरो र केन्द्रीय सदस्यले आफ्नै भूगोलमा इन्चार्जको जिम्मेवारी पाएका छन् । तर, कार्यविभाजन न्यायसंगत र विधिसम्मत नभएको भन्दै पदाधिकारीहरू नै असन्तुष्ट बनेका छन् । माधवकुमार नेपाललाई धोका दिएर एमाले फर्किएका उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सचिव गोकर्ण विष्टले कार्यविभाजन पक्षपातपूर्ण रहेको औल्याएका थिए ।

ओलीले आफू नजिककालाई ‘काखा’ र अरूलाई ‘पाखा’ गरेको आरोप उनीहरूले लगाएका छन् । ओलीले गुरु बराललाई सुवास नेम्वाङको निधनपछि रिक्त उपाध्यक्ष पदमा मनोनित गरेका छन् ।

स्रोतका अनुसार सुरेन्द्र पाण्डेले बागमती प्रदेशको इन्चार्ज बन्ने इच्छा राखेका थिए । पाण्डेलाई इन्चार्ज नबाउने भए कृष्णगोपाल श्रेष्ठलाई बनाउन केही पदाधिकारीले आग्रक गरेका थिए । तर, ओलीले राजन भट्टराईलाई बागमतीको इन्चार्ज बनाए । उनी काठमाडौं क्षेत्र नं. ४ बाट दुई पटक पराजित उम्मेदवार हुन् ।

पार्टीको जिम्मेवारी हेरफेर, मन्त्री र राजदूत नियुक्तिमा ‘१० भाइ’लाई किनारा लगाउने काम भएको छ । ‘१० भाइ’लाई प्रदेश इन्चार्जबाट हटाउने काम भएको छ । अन्य केही सचिवलाई भने इन्चार्जमा निरन्तरता दिइएको छ ।

अहिले जिम्मेवारी हेरफेर गर्दा कोशीमा स्थायी कमिटी सदस्य शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ र बागमतीमा राजन भट्टराई, गण्डकीमा किरण गुरुङ र कर्णालीमा गोरख बोगटीले इन्चार्जको जिम्मेवारी पाएका छन् । लुम्बिनीमा पद्मा अर्याल र सुदूरपश्चिममा लेखराज भट्टले इन्चार्जको जिम्मेवारी पाएका छन् । अर्याल र भट्ट इन्चार्जमा दोहोरिएका हुन् । गिरीबन्धुमा ओलीलाई सहयोग गरेबापत अर्याल बारम्बार पुरस्कृत हुँदै आएकी छिन् ।

यसअघि, रघुवीर महासेठ कोशी, योगेश भट्टराई मधेस, टोपबहादुर रामयमाझी बागमती, गोकर्ण विष्ट गण्डकी, पद्मा आर्याल लुम्बिनी, लेखराज भट्ट कर्णाली र छविलाल विश्वकर्मा सुदूरपश्चिम प्रदेशको इन्चार्ज थिए । टोपबहादुर नक्कली भुटानी शरणार्थी काण्डमा जेलमा छन् । कोशीमा सचिव योगेश भट्टराई इन्चार्जको दाबेदार थिए । मन्त्रीको बधाई खाइसकेका भट्टराईको नाममा रातारात टिपेक्स लगाएर झापाकै देवेन्द्र दाहाललाई ओलीले मन्त्री बनाएका थिए ।

उपाध्यक्ष विष्णु पौडेलनिकट रहेका र ‘१० भाई’को रुपमा परिचित युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, अमृत बोहरा, रघुजी पन्तहरूलाई जिम्मेवारीमा पाखा लगाउने काम भएको छ । डा. भीम रावल एमालेले भूमिकाविहीन रहँदै आएका छन् भने घनश्याम भुसाल हाल नेकपा एकीकृत समाजवादीको महासचिव छन् ।

विगतमा माधवकुमार नेपाल र झलनाथ खनाल समूहमा रहेर पार्टी विभाजनको बेला धोका दिँदै उनीहरू एमालेमै बसेका थिए । उनीहरू महत्वपूर्ण जिम्मेवारी र राजकीय अवसरबाट बञ्चित हुँदै आएका छन् ।

एमालेमा अध्यक्ष ओली, महासचिव पोखरेल तथा उपमहासचिवद्धय प्रदीप ज्ञवाली र विष्णु रिमालको ‘कोर टिम’ छ । यो गुटले जे भन्यो, त्यही निर्णय हुन्छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको सानो समूह छ । उपाध्यक्ष विष्णु पौडेलको देशव्यापी रुपमा गुट छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समूह पनि एमालेमा सक्रिय छ । पूर्वमाओवादी नेताहरूको पनि गुट सक्रिय छ ।

‘१० भाइ’को गुट देशव्यापी भए पनि मनभित्रै पीडा गुम्साएर बस्नुपर्ने अवस्थामा रहेको एक पदाधिकारीले बताए । ओलीको निकट हुन बेलाबेला चाकडी गर्ने गरे पनि १० भाइलाई ओलीले विश्वास गरेका छैनन् । संसदमा योगेश भट्टराई र गोकर्ण विष्टले लाजै पचाएर चाकडी गरे पनि ओलीले यसपटक मन्त्रीको जिम्मेवारी दिने बेलामा विश्वास गरेनन् ।

बरु ओलीले माओवादी पृष्ठभूमिका लेखराज भट्टराई जिम्मेवारी दिँदै आएका छन् । एमालेका एक पदाधिकारीले भने, ‘एमालेमा पूर्वमाओवादी र १० भाइहरूको अवस्था बिजोग छ, पूर्वमाओवादीले कहीँ कतै केही पाए पनि १० भाइलाई छानीछानी डाम्ने काम भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्