एजेन्सी । बङ्गलादेशमा बनाउने भनिएको अन्तरिम सरकारको प्रमुख सल्लाहकार बन्न नोबेल शान्ति पुरस्कार विजेता प्राध्यापक मोहम्मद युनुस तयार भएका छन् । द डेली स्टारले विश्वसनीय स्रोतको हवाला दिँदै प्राध्यापक युनुस अन्तरिम सरकारको नेतृत्व गर्न तयार भएको जनाएको हो ।
प्रधानमन्त्री शेख हसिनाको राजीनामापछि विद्यार्थी आन्दोलनका नेताहरूले बङ्गलादेशको वर्तमान राजनैतिक अवस्थालाई सम्बोधन गर्न युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न प्रस्ताव गरेका थिए । सुरुमा उनको सो प्रस्ताव नमानेपनि देशमा सैनिक शासनको खतरा बढेपछि उनी अन्तरिम सरकारको नेतृत्व गर्न तयार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
युनुसको भनाइ उद्धृत गर्दै डेली स्टारले लेखेको छ,’ ‘सुरुमा छात्रहरूले मलाई सम्पर्क गर्दा त म सहमत थिइनँ । मैले उनीहरूलाई मेरा धेरै कामहरू बाँकी रहेको बताएको थिएँ । तर विद्यार्थीहरूले बारम्बार आग्रह गरिरहे ।’
युनुसलाई विद्यार्थीले गरेको आग्रह भन्दै डेली स्टारमा लेखिएको छ, ‘यस आन्दोलनमा धेरै मान्छेहरूले ज्यान गुमाएका छन् जसमा विद्यार्थी र सर्वसाधारण छन् । अब बङ्गलादेशलाई ठीक ढङ्गले चलाउने अवसर आएको छ । र, यो तबमात्र सम्भव छ कि जब तपाईंले जिम्मेवारी लिनुहुन्छ । यदि तपाईं तयार हुनु भएन भने हाम्रा लागि राम्रो हुँदैछ । त्यही भएर पनि हामीले तपाईंलाई जिम्मेवारी लिन आग्रह गरेका हौँ ।’
युनुस यतिबेला विदेशमा रहेका छन् । उनी पेरिस ओलम्पिकको उद्घाटन समारोहमा सहभागी हुन गएका थिए । त्यसपछि उपचारका लागि भन्दै उनको विदेश भ्रमण लम्बिएको छ । छिट्टै नै उनी स्वदेश फर्कने बताइएको छ । यसअघि युनुसले शेख हसिनाको राजीनामापछि बङ्गलादेश स्वतन्त्र भएको टिप्पणी गरेका थिए ।