Logo
Logo

बेचन झाका कारण प्रहरीभित्र ‘यदुवंशी लडाइँ’


2.6k
Shares

काठमाडौं । भुटानी शरणार्थी प्रकरणका दुईजना आरोपी समातिएसँगै प्रहरी संगठन एकले अर्कालाई सकाउने ‘यदुवंशी’ लडाइँको कोपभाजनमा फसेको छ ।

अनुसन्धानकै क्रममा फरार आरोपी बेचन झा पक्राउ र पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ काका छोरा प्रतिक थापा समातिएपछि प्रहरी संगठनभित्र रिसको आवेगमा एकले अर्कालाई सकाउने खेल सुरु भएको हो । झालाई भने काठमाडौं प्रहरीले थुनामा राखेर थप अनुसन्धान गर्दै आएको छ ।

गत असार १५ मा पक्राउ परेका बादल पुत्र थापा जिल्ला अदालत काठमाडौंका आदेशअनुरुप पुर्पक्षका लागि जेल चलान भइसकेका छन् । झामाथि नक्कली भुटानी शरणार्थी खडा गरेर नेपालीलाई अमेरिका पठाउने मतियारका रुपमा लिखत कीर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराध मुद्दामा अनुसन्धान जारी छ ।

झा अदालतबाट उम्कन भुटानी शरणार्थी प्रकरणबारे आफूलाई कुनै जानकारी नभएको भन्दै प्रहरीमा बयान दिन इन्कार गरिरहेका छन् । झाले आफ्नो स्वास्थ्य अवस्थाको बाहनाबाजी बनाउँदै बयानबाट भाग्न खोजिरहेको प्रहरी स्रोतले जनाएको छ । यद्यपि, झा पक्राउपछि भुटानी शरणार्थी प्रकरणमा राजनीतिक संलग्नता खुल्ने आशा भने जीवितै छ । झाको माथिल्लो तहका शक्तिशाली नेताहरुसँगको ‘कनेक्सन’ रहेको तथ्यलाई दिल्लीबाट पक्राउ गर्न भारतीय प्रहरीको असहयोगले पनि पुष्टि गर्दछ । मुद्दा चलेपछि फरार भई भारत पुगेका झालाई शुरुमा भारतीय प्रहरीकै कारण पक्राउ गर्न हडल भएको थियो ।

तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वयंले झाको लोकेसन पत्ता लागे पनि पक्राउ गर्न नसकिएको स्वीकारोक्ति गरेका थिए । रवि लामिछाने गृहमन्त्री बनेका बेला झा अन्ततः समातिए । जसरी समातिए पनि उनी समातिनु प्रहरी संगठन र देशकै हितका लागि ठूलो सफलता थियो । तर सरकार फेरिएपछि बेचन पक्राउको विषयमा प्रहरी संगठनमा भाँडभैलो सुरु भएको छ ।

झा पक्राउ पर्नेबेला प्रहरीका आइजिपी वसन्त कुँवर नेपाल थिएनन् । इन्टरपोलको कार्यक्रममा भाग लिन अमेरिकामा थिए । कुँबर नभएको बेला आइजिपीको भूमिकामा उपत्यका प्रहरी कार्यालयका प्रमुख रहेका एआइजी दिपक थापा थिए । त्यही बेला झा र थापा समातिएका थिए ।

झा पक्राउ परेको दुई दिनमै सत्ता समीकरण उलटफेर भयो । तत्कालीन गृहमन्त्री रवि लामिछानेले सरकार ढल्नुको मुख्य कारण बेचन झा पक्राऊ पर्नु नै रहेको ठोकुवा गर्दै आएका छन् । लामिछानेले झा पक्राउ पर्दा एमाले–काँग्रेसका माथिल्लो तहका नेताहरुमाथि अनुसन्धान सोझिने डरले सत्ता समीकरण गरिएको किटानी गर्दै आएका छन् ।

झा पक्राउपछि सत्ताको उलटफेरले सत्ताधारी माथिल्लो तहका नेता जोगिए । तर प्रहरीभित्र आन्तरिक विग्रह र षड्यन्त्रका घटना सतहमा आएका छन् ।

आइजिपी कुँवर अमेरिकाबाट फर्के लगत्तै प्रहरीको विशेष ब्यूरोमा कार्यरत प्रहरी नायब महानिरीक्षक (डिआइजी) मनोज केसी सरुवामा परे । उनलाई दुई महिना पनि नपुग्दै प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज पु¥याइयो । कुँवरले गृहमन्त्रीको सल्लाहमा केसीको ठाउँमा आफू निकट रहेका डिआइजी राजन अधिकारीलाई ल्याएका छन् ।

अपराध अनुसन्धानमा अब्बल मानिएका केसीले एक वर्षे कार्यकाल पूरा गर्न नपाउँदै विशेष व्युरोबाट हटाइएका थिए । प्रहरी नियमावलीमा सरुवा भएपछि विना कारण एक बर्ष चलाउन नपाइने किटान छ ।

केसीको सरुवालाई लिएर संसदमै प्रश्न उठ्यो । उक्त सरुवा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राज्यव्यवस्था तथा सुशासन समितिमा डीआईजी केसीको सरुवाबारे स्पष्टीकरण दिनुपरेको थियो । शरणार्थी काण्डको प्रारम्भमा केसीले नै केसको नेतृत्व गरेका थिए । तर झा पक्राउ परेपछि केसी नै किन तारो बने भनेर यतिबेला सबैतिर प्रश्न उठिरहेको छ ।

यतिसम्मकि भुटानी शरणार्थी काण्डमा माथिल्लो तहसम्म थप छानबिन अघि नबढाउन र बेचन झालाई समात्न अरुची देखाएपछि आइजिपी कुँवरलाई नै पदबाट हटाएर सीआईबीका प्रमुख रहेका एआइजी श्यामलाल ज्ञवालीलाई प्रहरी प्रमुख बनाउने तयारीसमेत गृहमन्त्री लामिछानेले गरेको बताइन्छ ।

केसीले एसएसपी हुँदा उपत्यका अपराध अनुसन्धान कार्यालयको कमाण्ड सम्हालेका थिए । जतिबेला नक्कली शरणार्थी प्रकरणमा जोडिएका आरोपीहरू धमाधम समातिएका थिए । गृहमन्त्री र आइजिपीको मिलेमतोमा केसीमाथि प्रतिशोध साँध्न सरुवा गरिएको प्रश्टै छ । राजनीतिक दाउपेचका बीच झा पक्राउपछि विशेष ब्यूरोको नेतृत्वबाट डिआइजी मनोज केसीलाई मात्र पाखा लगाइएको नभै एआइजी श्यामलाल ज्ञवालीमाथि छानबिन गर्न समिति गठन गरेको छ । अब बनावटी आरोपको पुलिन्दा बनाएर यसपछि ज्ञवालीलाई पनि कोपभाजनमा फसाउने खेल हुने गम्भीर आशंका छ ।

एकैसाथ भुटानी शरणार्थी प्रकरणको सुरवाती अनुसन्धान अधिकारी केसी र ज्ञवालीलाई ‘बलिको बोको’ बनाउने प्रपञ्च यतिखेर चलिरहेको छ । ज्ञवाली उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख हुँदा उनकै निर्देशनमा केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका आरोपीविरुद्ध धमाधम ‘एक्सन’ मा उत्रिएको घटना अझै सेलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्