एजेन्सी । नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुस बंगलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त भएका छन् । राजनीतिक अस्थिरताका बीच मंगलबार राति राष्ट्रपति मोहम्मद शाहबुद्दिनले युनुसलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गरेका हुन् ।
तीनै सेनाका प्रमुखको उपस्थितीमा राष्ट्रपति र आरक्षण विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरूबीच भएको छलफलपछि राष्ट्रपतिले युनुसलाई सरकार प्रमुख घोषणा गरेका हुन् ।
विभिन्न राजनीतिक दलसँगको छलफलपछि अन्तरिम सरकारका अन्य सदस्य टुङ्गो लगाइने राष्ट्रपति शाहबुद्दिनका प्रेस सचिव जोयनाल अबेदिनले बताएका छन् ।
युनुस हाल देशबाहिर छन् । तर उनले शेख हसिनाको बहिर्गमनलाई स्वागत गर्दै यसलाई देशको दोस्रो स्वतन्त्रता भनेका छन् । सरकारी जागिरमा आरक्षण कोटा प्रणालीको विरोध गर्दै बिद्यार्थी समूहले सुरू गरेको आन्दोलन थप हिंसात्मक बन्दै गएपछि सोमबार प्रधानमन्त्री शेख हसिना पदबाट राजीनामा दिँदै देश छाडेर भागेका थिए ।
उनी गत जनवरीमा भएको निर्वाचनबाट देशको प्रधानमन्त्री चुनिएका थिए । यो उनको पाँचौँ कार्यकाल थियो । यद्यपि उनको सरकार एक वर्ष पनि टिकेन ।