काठमाडौं, २२ बैशाख । कोरोना भाइरसको संक्रमणसँगै जारी लकडाउनका कारण होटल व्यवसायमा मन्दी छाएको भन्दै होटल व्यवसायीले ६ महिनासम्म होटल बन्द गर्ने निर्णय गरेका छन् ।
होटल एसोसिएसन अफ नेपाल (हान)को आइतबार बसेको बैठकले कोरोना भाइरसको कारण होटल व्यवसाय सबैभन्दा मारमा परेको र लकडाउन खुलेपछि पनि व्यापार हुने सम्भावना नरहेकाले असोजसम्म सबै होटल बन्द गर्ने निर्णय गरेको हो ।
सरकारले सबै ठूला व्यवसायीले कम्तीमा ५० प्रतिशत तलब कर्मचारीलाई दिनैपर्ने निर्णय गरेपछि होटल व्यवसायीले होटल नै बन्द गर्ने निर्णय गरेका जनाएको छ । उनीहरुले कर्मचारीलाई होटल बन्द रहँदा पनि आधारभूत तलबको १२ दशमलव ५ प्रतिशत तलब दिने बताएका छन् । यो तलब नदिने र असहमति जनाउने कर्मचारीलाई सेवा सम्झौता रद्द गरेर निष्कासन गर्ने समेतका व्यवसायीले तयारी गरेको छ ।
१२ दशमलव ५ प्रतिशत तलब लिन असहमत गरेको समयदेखि सबै सदस्य होटलले श्रम ऐन २०७४ को दफा १४५ बमोजिम कर्मचारी कटौतीको प्रक्रिया सुरु गरेको सूचना दिएर आंशिक वा पूर्णरुपमा कर्मचारी कटौती गरिने निर्णय संघले गरेको छ ।