Logo
Logo

क्यासिनोमा राजस्वको चलखेल


4.8k
Shares

काठमाडौं । दरबारमार्गस्थित क्यासिनो प्यालेसमा राजस्व अनुसन्धान विभागले छापा मारेको दुई महिना वितिसकेको छ । छापा मार्नेक्रममा विभागको टोलीले क्यासिनोबाट १ करोड ५ लाख र लकरबाट एक करोड बढी पैसा बरामद गरेको थियो । विदेशी मुद्राको अवैध कारोबार गरेको सूचनाको आधारमा छापा मारेको राजश्वले क्यासिनोमा नेपाली रुपैयाँ पनि संकलन गरिरहेको भेटिएको थियो । नेपाली क्यासिनोमा नेपाली रुपैया भेटिनु आफैमा अबैध थियो ।

त्यसक्रममा अनुसन्धानका लागि क्यासिनोको सेफ र लकर पनि विभागले नियन्त्रणमा लियो । क्यासिनोको तर्फबाट लकरमा भएको र बरामद भएको दुवै रकमलाई बैध बनाउनका लागि नक्कली कागजात पेश गरेको र विभागले त्यसलाई मान्यता दिएको स्रोतको दाबी छ ।

दरबारमार्गस्थित बन्द रहेको होटल अन्नपूर्णमा अवैध रुपमा क्यासिनो चलाउने जनकपुरका विनयकुमार साहमाथि राजश्व अनुसन्धान विभागले पनि छानबिन थाल्यो । साहलाई छानबिन थालेको कुरा बाहिर आएन ।

प्रहरीले फरार प्रतिवादीका रुपमा मुद्दा दायर गरेका साहले हालै राजश्वमा गएर बयान दिए । क्यासिनो प्यालेसमा क्रिप्टो तथा विदेशी मुद्राको समेत अवैध कारोबार हुने गरेको आधारमा प्रहरीले छापा मारेर साहसहित नौ जनाविरुद्ध गत फागुनमा मुद्दा दायर गरेको थियो । फरार रहेकै अवस्थामा राजश्वमा बयान दिएर कसरी छुटे यो विषयमा राजश्व अनुसन्धान विभागले केही भनेको छैन ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले गत १८ माघमा छापा मारेर तीन कर्मचारीलाई पक्राउ गरेको थियो । बजार व्यवस्थापक ऋषव पावा, व्यवस्थापक गौरव चोप्रा र बजार प्रतिनिधि गुलाब सिंह परेकोमा अनुसन्धानको क्रममा सञ्चालककै निर्देशनअनुसार अनलाइन जुवा खेलाउने गरिएको खुलेको थियो ।

राजश्वले पनि अबैध कारोबार गरेको आरोपमा छापा मारेको थियो । तर, राजश्वले भने मुद्धा नै कमजोर बनाएको स्रोतको दाबी छ । राजश्व अनुसन्धान विभागमा अहिले माओवादीनिकट चक्रबहादुर बूढा महानिर्देशक रहेका छन् ।

क्यासिनोका सञ्चालक जनकपुरका साह र भारतीय नागरिक तरुण खत्तेरसहित नौ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो । अनलाइन जुवाको कसुरमा मुलुकी अपराध संहिता तथा क्रिप्टो र विदेशी मुद्राको अवैध कारोबारको कसुरमा नेपाल राष्ट्र बैंक ऐनअनुसार मुद्दा दायर भएकोमा पक्राउ परेका तीन जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

सञ्चालक साह भने प्रहरी र अदालतमा सेटिङ मिलाएर बाहिर बसेका थिए । सो क्यासिनोमा आबद्ध अन्य भारतीय सञ्चालकहरू अशोक कुमार क्षेत्रापाल, बलदेवराज अरोरा, मुकेश गुलाटी र पानदुरांग नायकसमेत फरार छन् । क्यासिनो प्यालेस सञ्चालन गर्ने कम्पनी एटलान्टिक रिक्रियसन प्रालिका शेयरहोल्डर हुन् ।

पक्राउ परेका बजार प्रबन्धक पावाले सञ्चालकरूकै निर्देशनमा आफुहरुले अनलाइनमार्फत २४ अ‍ैं घन्टा जुवा खेलाउने गरेको बयान दिएका थिए । जबकी, लाइभ जुवा खेलाउन मात्र सो क्यासिनोले अनुमति लिएको थियो । नेपालमा अनलाइन जुवा प्रतिबन्ध छ । त्यस्तै, उनको मोबाइलबाट बाइनान्स एप पनि भेटिएको थियो । जसमा ४० लाख १४ हजार रुपैयाँ बराबरको कारोबार गरेको उनले स्वीकार गरेका छन् ।

अन्य मोबाइलमार्फत पनि क्रिप्टोको सो क्यासिनोबाट ठूलो कारोबार भएको हुनसक्ने आशंका गरिएपनि प्रहरीमा सेटिङ मिलाएर थप अनुसन्धान भएन । सो कम्पनीले वैदेशिक मुद्राको कारोबार गर्नसमेत नेपाल राष्ट्र बैंकबाट अनुमति लिएको थिएन । उसले सन् २०२० मै वैदेशिक मुद्रा कारोबारको इजाजत आफैंले निवेदन दिएर रद्द गराएको थियो । तर, नियमन नहुँदा क्यासिनोमा वैदेशिक मुद्राको अवैध कारोबार भने निरन्तर गर्दै आएको छ ।

सो क्यासिनोबाट प्रहरीले एक करोड बराबरको वैदेशिक मुद्रासमेत बरामद गरेको थियो । सो मुद्दापछि पनि क्यासिनोमा अवैध गतिविधि रोकिएको छैन । विनय साह क्यासिनो प्राइडका पनि सञ्चालक हुन् । उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा पनि छानबिन हुनुपर्नेमा रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्