सुनेकी थिएँ, चीनमा पहिलेका महिलाहरूको पैताला सानो हुन्थ्यो रे । सुन्दा अचम्म लाग्थ्यो । तर क्वांङचउ, शाङ्घाई, पैचिङसम्म र पछि खुन्मिङ्ग, कुइलिन घुम्दा पनि कतै देखेकी थिइन । दुई वर्षको चीन बसाइमा साना पैतालाको चर्चै पनि कतै भएको सम्झना छैन ।
अर्को छुट्टीमा युनिभर्सिटीबाटै सियान् र लोयाङ् लैजाने भनेपछि मैले पनि नाम लेखाएँ । एक हप्ताको निम्तिमात्र भएकाले पहिलेजस्तो परिवारसँगै नभएर म एक्लै नै अरु विद्यार्थीहरुसँगै गएँ । हामीलाई पढाउने केही गुरुहरु पनि थिए ।
यसपालिको लामो बाटोमा साथी बनाउन भनेर मैले सात जना समकालीन महिला उपन्यासकारहरूको कृति समेटिएको एउटा पुस्तक बोकेकी थिएँ । उपन्यासका पात्रहरू नै मेरा नजिकका साथी पनि भए । शन रोङको उपन्यास ‘एट मिडिल एज’ एकदमै मन प¥यो मलाई । शाङ्घाईबाट सियानसम्म पुग्दासम्ममा धेरै पात्रहरुसँग घुलमिल भइसकेकी थिएँ । चीनको संक्रमणकालतिरको एकजना डाक्टरको कथा थियो, मार्मिक !
त्यो संक्रमणकालको चीन अहिलेजत्तिको विकसित भइसकेको थिएन । संक्रमणकालमा देखापर्ने अप्ठ्याराहरु देखापर्न थालेका थिए । अहिले अकल्पनीय प्रगति गरिसकेको सियान त्योबेला भने हाम्रो काठमाडौँभन्दा खासै फरक लागेको थिएन । मान्छे पनि खासै ‘शहरिया’ देखिँदैन थिए । बाटा–बाटामा हामी विदेशीलाई देखेपछि ‘चेञ्ज मनि’ भनी पछ्याउनेहरू हुन्थे । पुराना सिक्काहरु विदेशीलाई बेच्न खोज्नेहरू पनि देखियो ।
सिन्च्याङदेखि मङ्गोलियासम्म फैलिएको विशाल गोबि मरूभूमि धेरै टाढा नभएकोले यहाँ हुरीबतासले धुलो पनि बोकेर ल्याउँदो रहेछ । त्यसैले सहर पनि धुलाम्मे फुस्रो देखिन्थ्यो । यो ठाउँमा भने हात थापेरै मागिरहेका माग्नेहरू देख्दा अचम्म लाग्यो । सियान पुगेको दोस्रो दिनमा पुराना बादशाहका चिहान हेर्न गयौं । चिहानमा गाडिएका ढुङ्गाका मूर्तिहरू देख्दा र कथा सुन्दा मनमा कहाली नै लाग्यो ।
एकजना बादशाह मर्दा उनको साथमा कैयौँ रानी बनाइएकाहरू र मन पर्ने दासदासीलाई पनि जिउँदै गाडी दिन्थे रे ! कति मूर्तिहरू फुटाइसकिएका रहेछन् । सांस्कृतिक क्रान्तिताका उग्र विद्रोहीहरूले फुटाइदिएका रे । सुन्दा दिक्क पनि लाग्यो । तर पर्यटकको मन जित्नका लागि विभिन्न ठाउँलाई यथाशक्य सिँगारेर राखेको देख्दा आफ्नै काठमाडौँलाई नै सम्झेँ फेरि । यति पनि कहिले सिक्ने होला हाम्रो देशले भन्ने लाग्यो । उपत्यकाका तिनै सहर ऐतिहासिक सहर हुन् । मन्दिर र मूर्तिका सहर हुन् ।
सियानमा त्यतिबेला नै विदेशीले जता पस्न पनि टीकट काट्नु पर्ने थियो । वरिपरिका पसलहरूले दिनमै कति कमाउँथे होलान् ? सियानमा घोडाको मूर्ती प्रख्यात छ रे भनेर एक सेट विभिन्न रङ्गका घोडा किन्न मन लाग्यो । किनेँ । निकै पछिसम्म मसँगै थियो ।
सिआन् पुगेपछि भने चीनलाई अलि बढी बुझ्न पाएजस्तो लाग्यो । अलि फटाहा व्यापारीहरू बढी भएको ठाउँ मान्दा रहेछन् । र अपराधीहरू पनि धेरै हुने भएकोले वर्षमा २४ देखि २५ सम्मले मृत्यु दण्ड नै पाउने कुरा सुन्दा नमज्जा लाग्यो । एकचोटी त सानो तीन–चार वर्षकै बच्चा पनि माग्न आएको देख्दा झनै नमजा लाग्यो ।
त्यो बेला अनेरास्ववियूका पुराना नेता ठाकुरचन्द्र श्रेष्ठ सिआनमै पढ्दैथिए । एक दिन बेलुकी मलाई लिन आए र आफ्नो होस्टेलमै आफैँले कुखुरा पकाएर खुवाए । सिआनतिर मुस्लिमहरू पनि प्रशस्त भएकाले होला, हामीकहाँ प्रयोग हुने मसला त्यहाँ पनि पाइँदो रहेछ । नेपाली जिरा मसला हालेजस्तै गरेर पकाएको खाना गज्जब लागेको थियो । त्यसको भोलिपल्टै लोयाङ्गतिर लाग्यौँ ।
सिआनको दाँजोमा धेरै सानो भएपनि लोयाङ्गको विशेषता अर्कै थियो । बुद्धका विशाल मूर्तिहरू भएको लोयाङमा सिङ्गै पहाड नै ठूलो मूर्ति र गुम्बाजस्तो लाग्थ्यो । लोङ्मङ शाक्यमुनि र अमिताभ बुद्धका भव्य र विशाल मूर्तिहरूले मनमा भिन्नै असर पार्दा रहेछन् ।
म त बुद्ध जन्मेकै देशबाट गएकी । आफ्नो देशमा कहिल्यै नदेखेका विशाल बुद्धमूर्तिहरु अर्काको देशमा देख्दा पनि मन प्रसन्न भयो । पर्यटकहरू चिनियाँ भिक्षुको कपडामा फोटो खिच्दा रहेछन् । पूजाआजामा त चिनियाँहरू अझै त्यति लागेका थिएनन् । त्यो बेलासम्म अझै ‘नास्तिक’ नै थिए । तर पर्यटन उद्योगकै निम्ति भनेर ती मूर्ति र गुम्बाहरूलाई निकै राम्रोसँग बचाएर राखेका थिए । मैले पनि भिक्षुणीको भेषमा एउटा फोटो खिचेकी थिए ।
त्यहाँ आउने स्वदेशी विदेशी पर्यटकका निम्ति हुलाक टिकटको प्रदर्शनी भइरहेको थियो । बेचिराखेका पनि थिए । हाम्रो गाइडले पनि बढी नै बढाइचढाइ गरी त्यस्ता टिकटहरूको गुणगान गर्दै थिइन्– ‘भोलिपर्सि ती पैसामा परिणत हुन्छन्’ भन्दै थिइन् । टिकट सङ्कलन मेरो सोखको विषय नभए पनि विभिन्न देशका हुलाक टिकटहरूको एल्बम देख्दा मलाई पनि रहर लाग्यो र एउटा किनेँ । पछि थाहा पाएँ चीनमा चाहिँ धेरैको हुलाक टिकट सङ्कलन गर्ने सोख हुँदो रहेछ । अहिले त त्यसरी टिकट टाँसेर चिठी पोस्ट गर्ने धेरै नै कम भइसकेको बेलामा ती संकलित टिकटहरू हेर्नलाई भए पनि काम लाग्ने भएका छन् ।
अर्को एउटा एकदमै रमाइलो कुराचाहिँ के देखेँ भने हाम्रो पाटन, भक्तपुरको दरबार स्क्वायरजस्तो ठाउँमा मान्छेहरू गफ गरी बस्ने ‘फल्चा’हरु पनि रहेछन् । एउटा फल्चामा केही ज्येष्ठ नागरिकहरू बसिरहेको देखेँ, तीमध्ये केही पाका महिलाहरू पनि थिए । उनीहरू लस्करै चार पाँचजना खुट्टा तल झुन्डाएर बसेका थिए । सत्तरी वर्षभन्दा माथिकै थिए होलान् । झट्ट हेर्दा त्यो बेलाका साधारण चिनियाँहरूले लगाउने लुगामै थिए । तर जुत्तामा आँखा पर्दा पो देखेँ– सबैका कति साना पाइताला ! कपडाकै जुत्ता थिए सबैका । मैले फोटो खिच्न खोज्दा उनीहरूले चाल पाएर फोटो खिच्नै दिएनन् । अचम्म लाग्यो । प्रश्न पनि मनमा उठ्यो ‘किन यस्तो ,कसरी… ?’
यसको जवाफ पाउन मसँगै मेरी गुरुआमा याङसँग सोधेँ । उनले भनिन्– चीनमा महिलालाई धेरै दुःख हुन्थ्यो पहिले । सानो पैताला बनाउनुपर्थ्यो । उनको आफ्नै आमाको कथाअनुसार छोरीहरू तीन वर्ष मात्रै पुग्दा नै पैतालाका औँलाहरूको हड्डी भाँचिदिएर लामो कपडाले बेरिदिन्थे रे पैताला ठूलो हुन नपाओस् भनेर …! त्यो यातना केका निम्ति भन्दा ‘सुन्दरता’को निम्ति रे । ठूलो पैताला भएकासँग बिहे गर्न पनि केटाहरू मान्दैन थिए रे । विकसित ठूला सहरमा धेरै अघि नै हटिसकेको यो चलन मोफसलका पुराना सहर गाउँमा भने अलि ढिलोसम्म नै बाँकी रहेछ । त्यो कथा सुनेर पनि मन दुख्यो मेरो । त्यसबारे उहिल्यै लेख्न मन लागेको थियो ।
आखिरमा सानो पैताला भएका आमाहरूलाई पनि अप्रत्याशित रूपमा त्यहीँ सहरमा देखेँ– जहाँ बुद्धका विशाल मूर्तिहरू सुरक्षित थिए ।