विराटनगर । कोशी प्रदेश सरकारले जनताका गुनासो सुन्नका लागि ‘हेल्लो सीएम’ कार्यक्रम सुरु गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबारदेखि ‘हेल्लो सीएम’ सेवा सुरुवात गरेका हुन् ।
भिन्नै कक्ष राखेर २४सै घण्टा जनताको गुनासो सुन्न सकिने गरी ‘हेल्लो सिएम’ कार्यक्रम सुरुवात गरिएको छ । प्रदेश सुशासन ऐन २०७६ अनुसार हेल्लो सीएम सुरु गरिएको हो । मुख्यमन्त्री कार्कीले यो सुरुवातले शासकीय सुधारमा सहयोग पुग्ने बताए । सरकारका विभिन्न सेवा र निकायका कामकारबाहीलाई प्रभावकारी बनाउन हेल्लो सीएम महत्वपूर्ण हुने उनको भनाइ छ ।
सुशासनबाट नै जनतालाई राहत दिन सकिने भएकाले यसलाई प्रभावकारी सञ्चालन गर्न कर्मचारीलाई मुख्यमन्त्री कार्कीले निर्देशन दिएका छन् । कोशी सरकारसँग भएका गुनासा वा सहयोगका लागि टोल–फ्री नम्बर १६६०२१५२००२ मा फोन गर्न सकिनेछ ।