Logo
Logo

कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य


- दृष्टि न्युज/संवाददाता

0
Shares

कोहलपुर, २४ बैशाख । बाँकेको नेपालगञ्जमा कोरोना संक्रमण देखिएका २३ संक्रमितको स्वास्थ्यावस्था सामान्य रहेको छ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका कोरोना संक्रमितको स्वास्थ्यावस्था सामान्य रहेको कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । उनीहरुलाई वार्डमा चिकित्सकको निगरानीमा राखिएको छ ।
बाँकेमा पहिलोपटक एक ६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखापरेपछि स्थानीय प्रशासनले पिसिआर पद्धतिबाट परीक्षण शुरु गरेपछि आइतबार १६ र मंगलबार थप सात जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । पहिलो पटक भेटिएका संक्रमितको सम्पर्कमा रहेकाहरुको स्वाब परीक्षण गर्दा एकै वडाका २२ जनामा संक्रमण भेटिएको थियो ।
यस्तै, नेपालगञ्जमा कोरोना संक्रमितको सम्पर्कमा रहेका ५६ जनाको स्वाब संक्रन गरिएको छ । संक्रमितको सूचनाका आधारमा उनीहरुको सम्पर्कमा रहेका नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ का पाँच स्थानबाट गए रातिसम्म तिनको स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना फोकलपर्सन श्रेष्ठले जानकारी दिए ।
खजुरास्थित कोरोना आइसोलेशन अस्पतालमा राखिएका संक्रमितले भनेअनुसार उनीहरुको सम्पर्कमा रहेकाहरुको स्वाव लिइएको हो । स्वास्थ्यकर्मीले गए राति अबेरसम्म बसेर कोरोना परीक्षणका लागि स्वाब संक्रलन गरेका हुन् ।
राति अबेर भएपछि ससाना बालबालिका घर गएका थिए । बाँकी १५ जनाको आज स्वाब संकलन गरिने श्रेष्ठले जानकारी दिए । नेपालगञ्ज– ८ को जोलाहनपुरुवा टोलबाट २२ संक्रमित फेला परेपछि उनीहरुको सम्पर्कमा रहेका आसपासका टोलमा समुदायस्तरबाट स्वाब संकन शुरु गरिएको हो । गए राति सङ्कलित स्वाब आज परीक्षण गरिने छ ।
यही वैशाख १९ गते ६० वर्षीय एक जनामा संक्रमण देखिएपछि उनको सम्पर्कमा रहेका ९४ जनाको परीक्षण गर्दा २२ संक्रमित फेला परेका थिए । अहिले २३ जनाको सम्पर्कमा रहेका व्यक्तिको खोजी गर्दै स्वाब लिने काम भइरहेको फोकल पर्सन श्रेष्ठको भनाइ छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन र प्रदेशको सामाजिक विकास मन्त्रालयको टोलीको प्रत्यक्ष निगरानीमा स्वाब संकलन शुरु गरिएको श्रेष्ठले जानकारी दिए ।
यसैबीच पहिलोपटक कोरोना भाइरस पोजेटिभ भेटिएका नेपालगञ्ज–७ का ६० वर्षीय पुरुषको घरपरिवारका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । पहिलो पटक संक्रमण पुष्टि भएका संक्रमितलाई पछ्याउँदै परिवारका सदस्य, उनले पढाएका बालबालिका र सम्पर्कमा आएका ९४ जनाको स्वाब संकलन गरिएकामा २२ जनामा कोरोना पोजेटिभ पुष्टि हुँदा घरपरिवारका सदस्यको नतिजा भने नेगेटिभ आएको भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाले जानकारी दिए ।
संक्रमितका श्रीमती, बुहारीसहित चार दाजुभाइको रिपोर्ट नेगेटिभ आएको हो । परिवारको रिपोर्ट नेगेटिभ आएपछि टोलबासीले उनीहरुलाई फूलमाला लगाएर स्वागत गरेका थिए ।
गत शुक्रबार ६० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएपछि उनको परिवारलाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइमा राखिएको थियो । मेसु थापाका अनुसार आठ घरका २३ जनामा कोरोना संक्रमण फैलिएको छ । पहिलो संक्रमितबाटै कोरोना फैलिएको हो वा अरु संक्रमित पहिलो थियो भन्नेबारे थप अनुसन्धान गर्नुपर्ने देखिएको डा थापाको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्