Logo
Logo

भक्तपुरबाट उप- निर्वाचन लड्ने वामदेवको तयारी


- दृष्टि न्युज/संवाददाता

126
Shares

काठमाडौं, २४ बैशाख
जसरी पनि प्रधानमन्त्री बन्ने अभियानमा लागेका नेकपाका उपाध्यक्ष वामदेव गौतम पाल्पाबाट अस्वीकृत हुने देखेपछि भक्तपुरबाट चुनाव लड्ने तयारीमा जुटेका छन् । भक्तपुर क्षेत्र नम्बर २ बाट चुनाव लड्ने उनको तयारी छ ।


सो क्षेत्रका सांसद महेश बस्नेत राजिनामा दिन तयार भएपछि वामदेवले छलफल थालेका हुन् । २०७४ को निर्वाचनमा बस्नेतले ठूलो मतान्तरले जितेकाले सो क्षेत्रमा उनले चासो देखाएका हुन् । बस्नेतले ३४ हजार चार सय १२ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार १८ हजार ६ सय ८७ मत मात्र ल्याएका थिए । केहीले अन्र्तघात नै गरेपनि जित्ने ठानेर उनी भक्तपुरबाट चुनाव लड्ने तयारीमा लागेको नेकपा उच्च स्रोतले दृष्टिन्यूजलाई बतायो ।

यसका लागि वामदेवले दुई चरणमा नेता बस्नेतसँग कुरा गरिसकेका छन् । बस्नेतले आफु राजिनामा दिन र सहयोग गर्न तयार रहेको बताएका छन् ।

बस्नेत प्रधानमन्त्री ओली निकट नेता हुन् । केही दिनअघि उनले आफु वामदेवका लागि राजिनामा दिन तयार रहेको एक अन्तर्वातामै बताएका थिए ।

यसअघि पाल्पा क्षेत्र नम्बर १ का सांसद दलबहादुर रानालाई राजिनामा दिलाएर वामदेवलाई उप निर्वाचनमा उठाउने तयारी थियो । तर, पाल्पा नेकपाकै नेताहरुले विरोध गरेपछि वामदेव हच्किएका हुन् । राजिनामा दिन रानालाई नेकपाका महासचिव विष्णु पौडेलले राजि बनाएका थिए । राना विगतमा वामदेव निकट नै नेता हुन् । पाल्पामा थोरै मात्र मत रहेकाले पनि उनले पाल्पाभन्दा भक्तपुर रोजेका हुन् ।
यसअघि वामदेव डोल्पा, बर्दिया, काठमाडौं लगायत क्षेत्रबाट पनि उपनिर्वाचनमार्फत सांसद बन्ने प्रयास गरेका थिए । तर, अन्तिम समयमा आएर उनी पछि हटेका थिए ।

गत २० बैशाखमा बसेको नेकपाको सचिवालय बैठकले वामदेवलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको थियो । प्रधानमन्त्री ओलीले आफुले राजिनामा दिएर प्रधानमन्त्री बनाउने वचन दिएका छन् । प्रधानमन्त्री हुनका लागि प्रतिनिधिसभाकै सांसद हुनुपर्ने भएपछि वामदेव उप निर्वाचनको तयारीमा लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्