Logo
Logo

रुसी भूमिमा दोस्रो विश्वयुद्धपछिकै ठूलो आक्रमण, युक्रेनद्वारा ८२ बस्ती नियन्त्रण


एजेन्सी

1.7k
Shares

किएभ । युक्रेनले बिहीबार रुसमा आफ्नो सीमापार आक्रमणमा नयाँ प्रगति गरेको दाबी गरेको छ । उसले एक हजार वर्गकिलोमिटरभन्दा धेरै क्षेत्र कब्जा गरेको बताएको छ । यो दोस्रो विश्वयुद्धपछि रुसी भूमिमा कुनै विदेशी सेनाले गरेको सबैभन्दा ठूलो आक्रमण हो ।

रुसले उसले कुर्स्क क्षेत्रमा युक्रेनी सेनाबाट पहिलो गाउँ पुनः कब्जा गरेको बताएको छ । साथै उसले छिमेकी बेलगोरोड क्षेत्रमा ‘अतिरिक्त सेना’ पठाउने घोषणा गरेको छ ।

युक्रेनले अब दर्जनौँ बस्ती र सीमाबाट आठ किलोमिटर टाढाको सुद्जा सहरलाई नियन्त्रण गरेको बताएको छ । शीर्ष सैन्य कमान्डर अलेक्जेन्डर सिर्स्कीले भने, ‘हामीले एक हजार एक सय ५० वर्गकिलोमिटर क्षेत्र र ८२ बस्ती नियन्त्रणमा लिएका छौँ ।’
दुई वर्षभन्दा धेरै समयदेखि रुसी आक्रमणको सामना गरिरहेको युक्रेनी सेनाका लागि धेरै महिनाको असफलतालाई तोड्दै सिर्स्कीका सैनिकहरूले अगस्ट ६ मा आक्रमण सुरु गरेका थिए ।

राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई उनले आफ्नो सेनाले ‘कानून र व्यवस्था कायम गर्न तथा नियन्त्रित क्षेत्रहरूमा जनसङ्ख्याको प्राथमिक आवश्यकताहरू पूरा गर्न’ प्रशासनिक कार्यालय स्थापना गरेको जानकारी गराए । जेलेन्स्कीले ‘रुसी सेनाबाट सुद्जा सहरको मुक्ति पूरा भएको’ घोषणा गरे ।

एक लाख २० हजार रुसी विस्थापित

कुर्स्कमा सीमावर्ती क्षेत्रबाट करिब पाँच सय विस्थापितलाई रुसी रेडक्रसले खाना र कपडा वितरण गरिरहेको एएफपीका संवाददाताहरूले देखेको बताएका छन् । रुसले एक लाख २० हजारभन्दा बढी मानिस विस्थापित भएको बताएको छ ।

पूर्ण विनाश

युक्रेनी आक्रमणले रुसी सैनिकहरूलाई आश्चर्यचकित बनाएको छ र हजारौँको सङ्ख्यामा त्यहाँबाट मानिसहरूलाई हटाउनुपरेको छ । रुसी अधिकारीहरूका अनुसार लडाइँमा कम्तीमा १२ सर्वसाधारणको मृत्यु भएको छ भने एक सय २१ जना घाइते भएका छन् ।

मस्कोले सुदृढीकरणमा तीव्रता ल्यायो र बिहीबार कुर्स्क क्षेत्रको पहिलो गाउँलाई पुनः कब्जा गरेको घोषणा गर्यो । ‘सेनाले दुश्मको विनाश पूरा गरेको छ र क्रुपेट्सको बस्तीमा नियन्त्रण प्ुनःस्थापित गरेको छ’, मन्त्रालयले भनेको छ ।

रुसी सेनाले छिमेकी क्षेत्रहरू विशेषगरी बेलगोरोडमा आक्रमणलाई रोक्ने उपायको पनि घोषणा गरेको छ । बेलगोरोड क्षेत्रका गभर्नर व्याचेस्लाभ ग्ल्याडकोभसहितको अधिकारीहरूको बैठकमा मन्त्री आन्द्रेई बेलोसोभले रुसी सेनाले बेलगोरोड क्षेत्रलाई युक्रेनी आक्रमणबाट बचाउन ‘ठोस कारवाही’ को तयारी गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्