Logo
Logo

गट्ठाघर दुर्घटनाका मृतकलाई आफ्नी बहिनी दाबी गर्ने युवक पक्राउ


3.7k
Shares

काठमाडौं । भक्तपुरको गट्ठाघरमा स्कुटर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिलाई आफ्नो बहिनी भनेर दाबी गर्ने युवक पक्राउ परेका छन् ।

भक्तपुर प्रहरीले दोलखाको मेलुङ गाउँपालिका– ४ का करिब ३० वर्षीय शम्भु नेपालीलाई गएराति पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले शम्भुलाई पक्राउ गरी अहिले ठिमी प्रहरीको नियन्त्रणमा राखिएको जानकारी दिए ।

बिहीबार दिउँसो करिब साढे बजेतिर ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि उनले घटनास्थलमै पुगेर मृतकलाई आफ्नी बहिनी भनेर विवरण टिपाएका थिए । तर, साँझ घटनास्थल नजिकैको सीसीटिभी फुटेज हेर्दा मृत्यु हुने महिला नभई पुरुष भएको खुलेको थियो । त्यसपछि प्रहरीले उनलाई खोजेर नियन्त्रणमा लिएको हो ।

उनले मृतकलाई किन आफ्नी बहिनी भने भन्ने खुल्न सकेको छैन । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बिहीबार दिउँसो गट्ठाघरमा बा३९प ८९४४ नम्बरको स्कुटरलाई ना६ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा एक व्यक्तिको मृत्यु भएको थियो ।

मृतकका आफन्तले आज बिहान टिचिङ अस्पताल पुगेर सनाखत गरेपछि ती मृतक व्यक्ति ओखलढुंगाका उत्तम कोइराला रहेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्