एजेन्सी । दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा परी १० सिरियालीको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।
गत अक्टोबरमा गाजा पट्टीमा युद्ध सुरु भएपछि हेजबुल्लाह र इजरायली सेनाबीच सीमाक्षेत्रमा दैनिक जसो गोली हानाहान हुन थालेपछि दक्षिणी लेबनानको नाबातिहको वादी अल–काफुर क्षेत्रमा भएको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या अहिलेसम्मको सबैभन्दा ठूलो हो ।
अन्तर्राष्ट्रिय मध्यस्थताकर्ताहरूले इजरायल र प्यालेस्टिनी हमास लडाकूहरूबीच गाजा युद्धविराममा पुग्ने प्रयास गरिरहेका छन् । वार्ताले युद्ध रोक्नका लागि मद्दत गर्ने विश्वास कूटनीतिज्ञहरूले लिएका छन् ।
लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणको पुष्टि गरेको छ । अधिकारीहरूका अनुसार मृत्यु हुनेमा सिरियाली शरणार्थी तथा श्रमिकहरू रहेका छन् ।
लेबनानको सरकारी राष्ट्रिय सञ्चारमाध्यमले पनि लिवियाली अधिकारीलाई उद्धत गर्दै मृत्यु हुनेमा सिरियाली शरणार्थी र कामदार रहेको उल्लेख गरेको छ ।
इजरायली सेनाले आफ्नो टेलिग्राम च्यानलमार्फत दिएको जानकारी अनुसार लेबनानको हेजबुल्लाहको हतियार भण्डारण केन्द्रमा रातभर आक्रमण गरिएको र उक्त क्षेत्र इजरायलबाट करिब १२ किलोमिटर टाढा रहेको नाबातिह क्षेत्रमा रहेको छ ।
वादी अल–काफुरमा भएको मृत्युपछि हेज्बुल्लाहले उत्तरी इजरायलको आयलेट हा-शहरका समुदायमाथि कात्युशा रकेट प्रहार गरेको र करिब ५५ वटा रकेटको आक्रमणमा कोही पनि हताहत नभएको तर त्यसका कारण कतिपय स्थानमा आगलागी भएको इजरायली सेनाले जनाएको छ ।