Logo
Logo

गौतमबुद्धले देखाएको सद्मार्ग सबैका लागि अनुकरणीय : उपराष्ट्रपति


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौँ, २५ वैशाख । उपराष्ट्रपति नन्दबहादुर पुनले सत्य, अहिंसा र सदाचारका आदिपुरुष गौतमबुद्धले देखाउनुभएको सद्मार्ग हामी सबैका लागि सदैव अनुकरणीय र मननीय रहिआएको बताउनुभएको छ । २५६४ औँ बुद्ध जयन्तीका अवसरमा आज शुभकामना दिँदै उहाँले विश्वभरका मानिस भौतिक र आत्मिक सुख शान्तिको खोजीमा रहेका वर्तमान विश्व सन्दर्भमा गौतम बुद्धबाट व्यक्त शान्ति र अहिंसाका सत्य वचनको महत्व र सान्दर्भिकता झनै बढेर गएको बताउनुभएको छ ।

कोरोना भाइरसविरुद्ध लड्न र विजय प्राप्त गर्न सिङ्गो मानव समुदाय एकताबद्ध हुन र धैर्य गर्न आवश्यक रहेको भन्दै उहाँले कोरोना भाइरसविरुद्ध लड्नु परिरहेको कठिन परिस्थितिमा गौतम बुद्धले दिएका उपदेश अझै सान्दर्भिक बनेको उल्लेख गर्नुभएको छ । उपराष्ट्रपतिले गौतमबुद्धले दिएको उपदेशलाई हृदयङ्गम् एवं आत्मसात् गर्न सकिएमा कोरोना भाइरसलगायत मानव समुदायका साझा शत्रुविरुद्ध लड्न प्रेरणा मिल्नुका साथै राष्ट्र तथा विश्वमा नै बन्धुत्व, सद्भाव र दिगो शान्तिको स्थापना हुने विश्वास व्यक्त गर्नुभएको छ ।

यसैगरी आजै परेको किराँत समुदाय (राई, लिम्बू, सुनुवार र याक्खा)को ठूलो पर्व उभौली तथा चण्डी पूर्णिमाको अवसरमा शुभकामना दिँदै उहाँले देश विदेशमा रहनुभएका सम्पूर्ण किराँत समुदायमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । उपराष्ट्रपतिले बुद्ध जयन्ती र उभौली पर्वले कोरोना भाइरविरुद्ध लड्न तथा शान्ति र समृद्धिको मार्गमा अगाडि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामनासमेत गर्नुभएको छ ।

प्रधानमन्त्रीद्वारा भोलि दीप प्रज्वलन गर्न आग्रह

प्रधानमन्त्री केपी शर्माओलीले आज २५६४ औँ बुद्धजयन्तीका अवसरमा दीप प्रज्वलन गर्न आग्रह गर्नु भएको छ । उहाँले २५६४ औँ बुद्धजयन्तीका अवसरमा आज साँझ ७ बजे सबै नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गर्नुभएको उहाँका प्रेस सल्लाहकारका सूर्य थापाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्धको लडाइँका अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभ र मृत्युवरण गर्नुभएकाको शान्तिका लागि दीप प्रज्वलन गर्न आग्रह गर्नुभएको हो । (रासस)

प्रतिक्रिया दिनुहोस्