काठमाडौं । माओवादी सत्तामा हुँदा लगातार कमाउ अड्डामा रहेका माओवादीनिकट भनिएका कर्मचारीहरूमा रुवाबासी चलेको छ । माओवादी सरकारबाट बाहिरिएसँगै उनीहरूको ठाउँमा एमाले र कांग्रेसनिकट कर्मचारीहरू हालीमुहाली गर्न आइपुगेका छन् । भन्सार, राजस्व, पर्यटन, महावाणिज्य दूतावास, सम्पत्ति शुद्धीकरण जस्ता महत्वपूर्ण ठाउँमा बसेर रजाइँ गरिरहेका माओवादी सहसचिवहरूको व्यापक सरुवा भएको छ ।
यसैसाता मन्त्रिपरिषद्को बैठकले सहसचिव सरूवा गर्दा केही सहसचिवहरू भने जोगिएका छन् । माओवादी सत्ताबाट सबैभन्दा बढी लाभ लिने चक्रबहादुर बुढा राजस्व अनुसन्धान विभागको महानिर्देशकबाट संघीय मामिला तथा सामान्य प्रशासनको अतिरिक्त समूहमा पुगेका छन् ।
उनी राजश्व अनुसन्धान विभागमा पुग्ने वित्तिकै क्यासिनो प्रकरणमा मुछिएका थिए । क्यासिनोबाट बरामद भएको अबैध रकमलाई बैध बनाउन नक्कली कागजातको सहयोग लिएको स्रोतको दाबी छ । त्यसैगरी केही व्यापारीको प्रभावमा परेर उनले विद्युतीय सवारी साधनले कर छली गरेको नाममा विद्युतीय सवारी साधन आयातकर्ताहरूलाई दुःख दिएका थिए ।
आफ्ना साला पर्ने उपेन्द्र शाहीलाई प्रयोग गरी विभिन्न उद्योगी, व्यापारी र बैंकरसँग मोटो रकम असुलेका थिए । रुपन्देही भ्रमणमा गएको बेला त्यहाँका उद्योगीहरूसँग तीन करोड असुलेको स्रोतले बताएको छ । हेर्दा सोझो देखिएपनि कमाउ मामिलामा चतुर बुढाले प्रचण्डलाई बुझाउनुपर्छ भनेर असुल धन्दा थालेका थिए । सो कुरा प्रचण्डकी छोरी गंगा दाहालले थाहा पाएपछि बुढा हच्किएका थिए । त्यति मात्र होइन, बुढाको धन्दाको विषयमा पूर्वअर्थमन्त्री जनार्दन शर्मा कहाँ पनि गुनासो पुगेपछि शर्माले घरमै बोलाएर बुढाको सात्तो काढेका थिए ।
विभाग स्रोतका अनुसार बुढाको रुचि अनुसन्धानभन्दा पनि व्यापारीहरूलाई बोलाएर दुःख दिने थियो । अख्तियारको नाम लिएर व्यापारीहरूलाई दुःख दिएपछि अख्तियार प्रमुख प्रेम राईले आफ्नो कार्यकक्षमा बोलाएर बुढालाई झपारेका थिए ।
राजस्व अनुसन्धान विभागबाट कोलकत्ताको महावाणिज्यदूत खान परराष्ट्र मन्त्रालय पुगेका सहसचिव नवराज ढुंगानाको पनि सरुवा भएको छ । मुखैमा आएको महावाणिज्यदूत गुमाएर उनी सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयतिर पुगेका छन् ।
ललितपुरको प्रमुख जिल्ला अधिकारी हुँदा बालकुमारी घटनामा जिम्मेवारी खोसिएका रुद्रप्रसाद पण्डित त्यसलगत्तै गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख बन्न सफल भएका थिए । गृह मन्त्रालय अर्को पार्टीको भागमा पर्नेवित्तिकै उनी माओवादीले नेतृत्व गरेको मन्त्रालय अन्तर्गत रहेको पर्यटन विभागको महानिर्देशक भए । माओवादी कै विभागीय मन्त्री हुँदा पण्डित सहकारी विभागको रजिष्ट्रारसमेत रहेका थिए । उनी अहिले राष्ट्रिय योजना आयोगमा सरुवा भएका छन् ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा निजी सचिव रहेका अर्जुन भण्डारी पनि राष्ट्रिय योजना आयोगमै पुगेका छन् । महावाणिज्यदूत बनेर अमेरिका जाने चलखेलमा रहेका सहसचिव भण्डारीको माओवादी सत्ता ढल्नेवित्तिकै अमेरिका जाने सपना तुहिएको छ ।
श्रीमती र छोरा अमेरिकामा ‘सेटल’ गराएर नेपालमा जागिर खाँदै आएका भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौलालाई ओली सरकारले भन्सारबाट झिकेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयतिर कुदाएको छ ।
वीरगञ्ज भन्सार, ललितपुरको प्रमुख जिल्ला अधिकारी, नाथमको प्रमुख, मध्यमस्तरीय करदाता कार्यालय प्रमुख र भन्सार विभागको महानिर्देशक बनेका माओवादी सत्ताका तरमारा सहसचिव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जनसंख्या बढाउन पुगेका छन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक हुँदा बदनाम र विवादित सहसचिव पुष्पराज शाही कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख हुँदा विवादमा तानिएका र सम्पत्ति शुद्धीकरणको नेतृत्वमा हुँदा ‘गन्हाएका’ जाजरकोटे शाही पिछडिएको क्षेत्रबाट नायब सुब्बा, शाखा अधिकृत र उपसचिव बनेकाले सरकारले त्यहीँ क्षेत्रमा खटाएर उचित निर्णय गरेको छ ।
कोलकत्ताको महावाणिज्यदूतबाट भर्खरै फर्किएका सहसचिव ईश्वरराज पौडेललाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरुवा गरिएको छ । सहसचिव पौडेलले काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृत, अध्यागमन विभागको महानिर्देशक हुँदै कोलकत्ताको महावाणिज्यदूत बनेका उनी प्रदेशमा पुगेका हुन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक माओवादी सहसचिव कमलप्रसाद भट्टराई राष्ट्रिय सूचना आयोग पुगेका छन् । माओवादी सत्तामा हुँदा हङकङको महावाणिज्यदूत, भन्सार विभागको महानिर्देशक, पर्यटन, अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा जस्ता मालदार ठाउँमा बसेका भट्टराई राष्ट्रिय सूचना आयोग पुगेका हुन् ।
चितवन, गोरखाजस्ता जिल्लाको प्रमुख जिल्ला अधिकारी बनेका नारायणप्रसाद भट्ट राष्ट्रिय सतर्कता केन्द्र पुगेका छन् । भरतपुर महानगरपालिका मेयरको ‘मतपत्र च्यात्ने’ काण्डका सिडिओ भट्ट पनि मुखमै आइसकेको महावाणिज्यदूत गुमाएर सतर्कता केन्द्र पुगेका छन् ।
अर्थमन्त्री वर्षमान पुनले भरतपुर महानगरपालिकाबाट तानेर अर्थ मन्त्रालयको महत्वपूर्ण मानिने बजेट तथा कार्यक्रम महाशाखा प्रमुख बनाएका नरेन्द्रकुमार रानामगर पनि सरुवा भएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले श्रीकृष्ण नेपाललाई उक्त महाशाखा प्रमुख बनाएर अतिरिक्तमा पुरÞ्याइदिएका थिए । उनको लोक सेवा आयोगमा सरुवा गरिएको छ ।
माओवादीनिकट भनेर परिचित आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारी कर्णालीको प्रदेश प्रमुखको कार्यालय सरुवा भएका छन् । अहिलेको सरुवामा नदेखिएका एमालेहरू सहसचिव लक्ष्मी निरौला, विन्देश्वर लेखक, झक्कप्रसाद आचार्य र भरत खनालहरू हाबी भएको स्रोतको दाबी छ । उनीहरू चारैजना परराष्ट्रमा सरुवा भएका छन् ।