काठमाडौं । परराष्ट्र मन्त्रालयमा प्रधानमन्त्री केपी शर्मा ओलीले रुचाइएका पात्र सचिव बन्ने निश्चित भएको छ । परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साललाई बेल्जियमको राजदूतमा सिफारिस गरेपछि प्रधानमन्त्रीनिकट रहेका सहसचिव अमृत राई सचिव बन्ने निश्चित भएको हो ।
सत्ता समीकरणको सूत्रधार आरजु राणा देउवालाई बाध्यतावश परराष्ट्रमन्त्री बनाउनु परे पनि परराष्ट्र आफूअनुकुल चलाउन ओलीले सचिवमा आफ्नो विश्वासपात्र ल्याएका हुन् । परराष्ट्रमन्त्री राणा चीनविरोधी, भारत, अमेरिका, यूरोपनिकट भएकाले पनि प्रधानमन्त्री ओली राणासँग सशंकित छन् । अझ आरजुले बिआरआईका विषयमा नकारात्मक कुरा गरेपछि ओलीलाई चीनसँग सम्बन्ध बढाउन अप्ठेरो परेको छ ।
सेवा लम्साल भर्खरै मात्र सचिव भएकी थिइन । छोटो समयमा उनलाई हटाउँदा कुटनीतिक क्षेत्रमा राम्रो सन्देश गएको छैन । परराष्ट्रसचिव जस्तो संवेदनशील पदमा ओलीले राजनीतिक भाग खोज्नु पनि दुर्भाग्य हो । राई एमालेनिकट भएकै कारण सचिव बन्ने मौका पाएका छन् । कुटनीतिक क्षेत्रमा राईको मुल्यांकन यसैगरी गरिएको छ ।
विगतमा मुख्यसचिव, सचिव भैसकेकाहरू पनि राजदूत भएका कारण लम्सालले केही मुख खोलेकी छैनन । नेपालको इतिहासका पहिलो महिला परराष्ट्रसचिव भएकी लम्सालको कार्यकाल अझै बाँकी छ । उनी परराष्ट्रसचिव भएको ८ महिनामा मात्रै भयो । सचिवको रूपमा २०८२ असारसम्म काम गर्ने अवसर हुँदाहुँदै लम्साललाई अन्यायपूर्वक हटाइएको छ ।
२०८१ साउन ३१ गतेको मन्त्रिपरिषद् बैठकले लम्साललाई राजदूत बनाउने निर्णय गरेको छ । सरकारले लम्साललाई युरोपियन युनियन (ईयू) को मुख्यालयसमेत हेर्ने गरी बेल्जियमको राजदूतका लागि सिफारिस गरेको छ । उक्त सिफारिससँगै लम्साल इयूको पनि जिम्मेवारी सम्हाल्ने पहिलो महिला राजदूतको रेकर्ड बनाउने भएकी छिन् ।
ओलीले परराष्ट्रका सहसचिव अमृत राईलाई सचिव बनाउने मनसायसहित लम्साललाई राजदूत बनाएको स्रोतहरूले उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले खास रुचाएका र पटकपटक अवसर दिएका सहसचिव राईलाई आफ्नो कार्यकालमा सचिव बनाउने खोजेको देखिन्छ ।
हुन त, लम्साल अवकाश भएपछि राई स्वतः सचिव हुने लाइनमा थिए । वरिष्ठताको आधारमा सचिव बनाउने परराष्ट्रमा परम्परा रहेको छ । सोहीकारण राई सचिव भने हुने थिए । तर, ओलीको साथ पाए भने राई निकै लामो समय सचिव हुने अवसर पाउने छन् ।
अहिले मन्त्रालयको प्रवक्ता भएर काम गरिरहेका राई परराष्ट्रमा भएकामध्य सबैभन्दा सिनियर सहसचिव हुन् । उनले दक्षिण अफ्रिका र संयुक्त राष्ट्रसंघका लागि नेपाली राजदूत भएर काम गरिसकेका छन् ।
राई उपसचिव भएको बेलामा र वर्तमान प्रधानमन्त्री ओली परराष्ट्रमन्त्री भएको बेलामा निजीसचिव भएर पनि काम गरेका थिए ।
प्रशासन तर्फको शाखा अधिकृत हुँदै २०६७ वैशाखमा महिला कोटाबाट परराष्ट्रको उपसचिव बनेकी लम्साल सोही कोटा प्रयोग गरेर परराष्ट्रको सहसचिव भएकी थिइन् । दुईपटक कोटा प्रयोग गरेकी सेवाले तीनपटक ‘कोटा’ प्रयोग गरेका गहेन्द्र राजभण्डारीलाई विस्थापित गर्ने भएकी हुन् । ‘डब्बल’ कोटावाला सेवा ‘सिंगल’ सिफारिसमा बेल्जियमको राजदूत बन्नेछिन् ।
राजभण्डारी तीन महिनापछि बेल्जियमबाट नेपाल फर्किसक्नु पर्नेछ । सहसचिव हुँदा पाकिस्तानको राजदूत बनेकी लम्साल सचिव भएपछि बेल्जियममा पुगेकी हुन् । परराष्ट्र सचिव भइसकेका व्यक्तिहरू संयुक्त राष्ट्रसंघको स्थायी नियोग न्युयोर्क जाने प्रचलन रहँदै आएको थियो । परराष्ट्र सचिव भएका भरतराज पौड्याल क्यानडा पुगे भने लम्साल बेल्जियमतिर लागिन् । यसले पराष्ट्र सचिवको मूल्य मान्यतामा ह्रास आएको कुटनीतिक क्षेत्रका विज्ञले बताएका छन् ।