काठमाडौं । वर्तमान सरकार गठनको पूर्वसन्ध्यामा पक्राउ परेका बेचन झाको अनुसन्धानले ठूलै माछा पक्राउ पर्ने अपेक्षा गरिएको भए पनि बेचन झाका कारण ठूला माछा उम्कने हो कि भन्ने शंका छ । नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वगृहसचिव टेकनारायण पाण्डेले बेचन झासँग बयान लिएपछि यस विषयमा थप गहिराइमा पुग्न सकिने बताएकै कारण राजनीतिक तहमा आएको तरंगले डेढ महिनासम्म बेचैनी दिएको थियो ।
तर आइतबार काठमाडौ जिल्ला अदालतले उनको बयान र मिसिल अध्ययन गरेर पूपक्र्षका लागि थुनामा पठाएसँगै आरोपी सबै राम्रोसँग सुत्न पाएका छन् । झा पक्राउपछिका बयानले ठूला माछासम्म पुग्ने ‘नेक्सस’, खुल्ने अपेक्षा गरिएको थियो । उनलाई पुर्पक्षका लागि थुनामा पठाएपछि ठूला माछा भनिएकी परराष्ट्रमन्त्री आरजु राणा भारत पुगेकी छिन् भने अन्य आरोपीहरु चैनको श्वास लिएर आनन्दले बसेका छन् ।
सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा पेश गरेको आरोपपत्रमा पनि कोही कसैलाई दोषी नदेखाई उनलाई थुनामा राख्ने आदेश माग गरिएको थियो । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अरोपमा प्रहरीले गतवर्ष पूर्वगृहसचिव पाण्डेसहित पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी लगायतलाई पक्राउ गरेको थियो ।
यो प्रकरणमा पक्राउ परेका धेरैजसो धरौटी बुझाएर छुट्दा समेत पाण्डे र रायमाझीसहितका प्रतिवादीहरू भने अहिले पनि पुर्पक्षका लागि केन्द्रीय कारागारमै छन् ।
पछिल्लोपटक पक्राउ परेका पूर्व गृहमन्त्रीका छोरा प्रतीक थापा पनि केन्द्रीय कारागारमै रहेका छन् । सचिव पाण्डेले माथिल्लो तहसम्मको चेन खुल्ने संकेत गर्दै बयानमा भनेका व्यक्ति बेचन झा पनि अहिले केन्द्रीय कारागारमै पुगेका छन् । बेचन झालाई प्रहरीले ४७ दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।
झा पक्राउको असर सत्ता परिवर्तनसम्म जोडिएको आरोप विपक्षी दलहरूले लगाउँदै आएका छन् । प्रचण्ड सरकार ढल्नु केही दिनअघि मात्रै झा पक्राउ परेका थिए । झालाई पक्राउ गरेपछि भुटानी शरणार्थी प्रकरणको लहरो कांग्रेस र एमालेका उच्च तहसम्म पुग्ने भएकाले यसबाट जोगिन उनीहरूले सत्ता साझेदारी गरेको आरोप सत्ताबाट बाहिरिँदै गर्दा माओवादी र रास्वपाले लगाएका छन् । झालाई पक्राउ गर्ने विशेष ब्यूरोका डिआइजी मनोज केसीको सरुवा र सिआइबी प्रमुखबाट श्यामलाल ज्ञवालीलाई हटाउनु पनि यसको असर हो । थापा र ज्ञवालीले सुरुमा अनुसन्धान गरेकोले धेरै कुरा थाहा थियो । तर, ठूला माछा उम्काउन उनीहरुको सरुवा गरियो ।
नक्कली भुटानी शरणार्थीको लिष्टमा नाम थप्न भनेर केसीले नै बेचनलाई २ करोड रूपैयाँको चेक दिएका थिए । चेक लिएको भएपनि नसाटिएको प्रहरीले जनाएको छ । प्रहरी अनुसन्धान मुख्यगरी यही विषयमा केन्द्रित भएको पाइएको छ । टेकनारायणसँग सोधपुछ नै नगरेको प्रहरीले चेकको विषयमा भने चेक दिने, चेक दिँदा भिडिओ खिच्ने र चेक साट्न बैंक जाने व्यक्तिसँग पनि सोधपुछ गरेको छ ।
गत वर्ष पक्राउ परेका केसी धरौटीमा रिहा भएका थिए । बेचनलाई पक्राउ गरिसकेपछि केसीलाई बोलाएरै प्रहरीले कागज गराएको छ । ‘मैले २०७८ मंसिर ८ गते रातको ८ बजेको समयमा मेरो नामको हिमालयन बैंकको खाताको रु. २ करोडको चेक लिने बेचन झा नाम गरेका व्यक्ति हाल मेरो सामुन्ने उपस्थित भएका यिनै व्यक्ति हुन्’, रामशरण केसीले बयानमा भनेका छन् ।
भुटानी शरणार्थीको नाममा नेपालीहरूलाई अमेरिका लैजानका लागि २०७८ मंसिर १३ गतेको मन्त्रिपरिषदको बैठकबाट केही निर्णयहरू हुन लागेको र उक्त निर्णय गराउने काम बेचन झाले गर्ने यसअघिका अर्का प्रतिवादी सानु भण्डारीले बताएका थिए । उनले निर्णय गराउने बेचन झालाई २ करोडको चेक दिन भनेकाले आफूले चेक दिएको रामशरणले बताएका थिए । बेचनलाई चेक दिन जाँदा मोबाइलमा भएको कुराकानीको २ वटा अडिओ र चेक दिइसकेपछि मन्त्रिपरिषदबाट निर्णय भए नभएको बारेमा कुराकानी गर्दाको रेकर्ड पनि प्रहरीमा पेश भएको छ ।
रामशरण केसीले टेलिफोनका क्रममा रेकर्ड गरेको अडिओ आफ्नो नभएको बेचनले बयान दिएका छन् । उनले उक्त अडिओ आफ्नो नभएको दाबी गर्दै परीक्षण गर्न पनि तयार भएका थिए । तर, पोलिग्राफ लिन भने मानेका थिएनन । प्रहरी अनुसन्धानका क्रममा भने रामशरणको मोबाइल नम्बरबाट बेचनकै मोबाइल नम्बरमा टेलिफोन कुराकानी भएको दाबी देखिएकोले अहिलेका लागि यो काण्ड सामसुम भए पन कुनै दिन उल्टिन सक्ने छ । किनभने, बेचन झा र ठूला माछाको ‘कनेक्सन’ देखिएको छ ।