Logo
Logo

बेचनले आरजुलाई जोगाउन ‘पोलिग्राफ’ गर्न मानेनन्


1.8k
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका एक महत्वपूर्ण आरोपी बेचन झालाई आइतबार काठमाडौं जिल्ला अदालत पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइसकेको छ ।

बयान र थुनछेक बहस सकिएसँगै अदालतले दिएको आदेश अनुसार मुद्दाको फैसला नहुञ्जेलसम्मका लागि अब झा पुर्पक्षका लागि जेलमा रहनुपर्ने छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्नताको आरोपमा सर्बाधिक खोजी भइरहेका झा गत असार १३ गते नेपाल भारतको सिमावर्ती क्षेत्रबाट पक्राउ परेका थिए । उनीविरुद्ध ठगी, लिखित किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको अभियोग छ ।

भुटानी काण्डमा झासँग राज्यको माथिल्लो तहका ‘भिभिआइपी’ सँग नेक्सस रहेको आशंका गरिँदै आएको छ ।
झाले आफ्नो ‘पोलिग्राफ’ परीक्षण गर्न रहस्यमयी ढंगबाट अस्वीकार गरेका छन् । झाले केसीसँग बोलेको स्वरका बिषयमा परीक्षण गर्न सहमत भए पनि पोलिग्राफका लागि किन ठाडै इन्कार गिरे भनेर अदालत, कानुनव्यवसायी र प्रहरीमा यतिबेला निकै चासोको विषय बनेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अधिकृतहरूले पोलिग्राफ गर्न खोजेका थिए । तर झाले ठाडै अस्विकार गरेपछि झन् शंका, उपशंका र रहस्य गहिरिएको छ । झाको पोलिग्राफ लिन भन्दै प्रहरी प्रधान कार्यालयको पोलिग्राफ शाखामा पठाइएको थियो । त्यहाँ कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक अन्जु कँडेलले ‘पोलिग्राफ परीक्षण गर्न नमानेको’ भन्ने ब्यहोराको प्रतिवेदन काठमाडौँ प्रहरीलाई दिएकी छन् । उक्त व्यहोरा काठमाडौं अदालतमा समेत पेश भएको छ ।

ठूला अपराधका घटनामा डिएनए परीक्षण जस्तै पोलिग्राफ परीक्षण पनि बलियो आधार मानिँदै आएको छ । पोलिग्राफ परीक्षणमार्फत शंकास्पद एवं आरोपी व्यक्तिले सत्य साँचो प्रमाण ओकलेका दृष्टान्तहरु छन् । जसको प्रयोग हुँदा झालाई झुट लुकाउन मुस्किल हुन्थ्यो ।

प्रहरीले यसअघि दुई करोड रुपैयाँको चेक लिने प्रयोजनका लागि भुटानी काण्डका अर्का अभियुक्त रामशरण केसीसँग मोबाइलमा कुरा गरेको अडियो रेकर्ड बरामद गरिसकेको अवस्था छ । झाले लिएको २ करोडको चेकको फोटोकपी भने मुद्दाको अभियोगपत्रमा सामेल गरिएको छ ।

पोलिग्राफ परीक्षणमा फस्ने डरले झाले इन्कार गरेको अनुमान गरिएको छ । आपराधिक कार्यमा कुनै व्यक्तिले बोलेका कुराहरूको सत्यता जाँच गर्ने एकमात्र प्रविधि पोलिग्राफ हो । विज्ञहरु शंकित व्यक्तिले झुठ बोले वा नबोलेको बिषयमा पोलिग्राफ परीक्षणले संकेत गर्ने बताउँछन् । यसको प्रयोगबाट प्राप्त हुने नतिजाको आधारमा ८०–९० प्रतिशत नै विश्वास हुने बताइन्छ ।

झुठो बोलेको पत्ता लाग्ने भएकाले नै झाले अस्विकार गरेको बुझ्न गाह्रो छैन । पोलिग्राफ गर्ने भनिएका झा मात्र एक्ला पात्र भने थिएनन् । विगतमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनलाई गते गोली हानेर हत्या गरिएको घटनादेखि रानीबारीस्थित इन्जिनियर दम्पती हेमन्त श्रेष्ठ र अञ्जली श्रेष्ठको हत्या प्रकरणसम्म थुप्रै शंकित व्यक्तिहरूको पोलिग्राफ परीक्षण गरिएका छन् । त्यसबाट प्रहरीले महत्वपूर्ण प्रमाण अदालतमा पेश गरेका दृष्टान्त छन् ।

कानुनतः पोलिग्राफ परीक्षण संचालन गर्दा परीक्षण गरिने व्यक्तिको स्वीकृति अनिवार्य लिनु पर्ने हुन्छ । झा स्वयम्ले इन्कार गरेको अवस्थामा प्रहरीले जबर्जस्ती गराउन मिल्ने कुरा भएन । अनुसन्धानको क्रममा सत्यता परीक्षण गर्नको लागि झाको पोलिग्राफ गर्ने भनिएको थियो । जसले पोलिग्राफको माध्यमबाट अनुसन्धानलाई परिणाममुखी बनाउँथ्यो । यतिमात्र नभै प्रविधिको प्रयोगबाट प्रमाणहरूको पहिचान हुने संभावना थियो ।

नक्कली भुटानी काण्डमा मुछिएका अन्य खलपात्रहरुको घटनासँग सम्बन्धित थुप्रै तथ्य प्रमाणहरु बाहिरिने अवस्था थियो । यसरी अदालतबाट अन्तिम फैसला हुँदा झाले पोलिग्राफ परीक्षण इन्कार गर्नु नै नक्कली भुटानी प्रकरणको ठहरमा पुग्न एउटा बलियो आधार हुने देखिएको छ ।

बेचन झाको ‘कनेक्सन’ परराष्ट्रमन्त्री आरजु राणा देउवासँग छ । आरजुले नै नक्कली भुटानी शरणार्थीमा झाले तयार पारेको नाम समावेश गर्न तत्कालीन गृहमन्त्री बालकृष्ण खाणलाई फोन गरेकी थिइन्, लगत्तै झा गृह मन्त्रालय पुगेका थिए । उनले गृहमन्त्री खाणलाई आरजुले पठाएको भन्नासाथ खाणले गृहसचिव टेकनारायण पाण्डेलाई भेट्न पठाएका थिए ।

यस विषयमा खाण र पाण्डेसँग थप बयान लिने हो भने आरजु उम्कने ठाउँ छैन । त्यही भएर तत्कालीन गृहमन्त्री रवि लामिछानेले झालाई पक्राउ आदेश दिएलगत्तै आफू फस्ने डरले सत्ता समीकरण परिवर्तन भएको कुरालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुझेका छन् । भ्रष्टाचारीको मुखै हेर्दिनँ भन्ने ओलीले अब आरजुलाई पक्रने आँट गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्