एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो बलभुताले भ्याएसम्म देशका लागि सबै थोक दिएको बताएका छन् । सोमबार सिकागोमा भएको अधिवेशनमा डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसलाई पार्टीको जिम्मेवारी हस्तान्तरण गर्दै उनले आफ्नो बलभुताले भ्याएसम्म देशका लागि राम्रो गरेको बताएका हुन् ।
‘अमेरिका, मैले तिम्रा लागि सक्दो योगदान गरेँ’, ८१ वर्षीय बाइडेनले करिब एक घण्टा लामो सम्बोधनका क्रममा देशभक्तिपूर्ण एक कवितांश उद्धृत गर्दै भने । उनले नोभेम्बरमा डोनाल्ड ट्रम्पविरुद्ध उपराष्ट्रपतिलाई व्यापक समर्थन गर्न मतदातासँग आग्रह पनि गरे ।
सन् २०२४ को ह्वाइट हाउसको दौडबाट बाहिरिने बाइडेनको आश्चर्यजनक निर्णयलाई सम्मेलनमा भेला भएका शुभचिन्तकको भीडले तालीको गडगडाहतसहित भब्य स्वागत गरेको थियो । बाइडेनले डोनाल्ड ट्रम्पलाई सङ्केत गर्दै ‘आफूलाई पद छोड्ने कुराले कुनै समस्या नपारेको’ बताएका थिए ।
सन् २०२० मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा तत्कालिन राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै पदबाट जाने समयमा देखाएको व्यवहारलाई लिएर कतिपय अमेरिकी रिपब्लिकन पार्टीका नेताहरू पनि खुशी थिएनन ।
बाइडेनको कमजोर प्रस्तुतीका कारण डेमोक्र्याटिक पार्टीको निर्वाचनप्रति चिन्ता व्यक्त गरेका डेमोक्र्याटहरूको चासोलाई सम्बोधन गर्न र पार्टीलाई पुनः सक्रिय पार्न ह्यारिस सफल भएका छन् ।