Logo
Logo

स्थायी कमिटि बैठकबाट प्रधानमन्त्री डराएको नेकपाका नेताको आरोप


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौ, २५ बैशाख ।
सत्तारुढ नेकपाका २० प्रभावशाली स्थायी कमिटीका नेताहरुले बिहीबार लागि बोलाइएको स्थायी कमिटी बैठक सार्नु गम्भीर गल्ती भएको निष्कर्ष निकालेका छन्। बैठकमा आफ्नै पार्टीका नेताहरुलाई फेस गर्न नसकेर प्रधानमन्त्री केपी शर्मा ओली डराएको समेत उनीहरुको आरोप छ ।


स्थायी कमिटी बैठक स्थागित भएपछि बिहीबार २० नेताहरुले पार्टी केन्द्रीय कार्यालय धुम्बाराही पुगी बैठक सारिएको विषयमा जवाफ माग गरेका छन्।

२५ गतेको स्थायी कमिटी बैठक बिनाकारण स्थगित भएको भन्दै नेताहरुले तत्काल मिति तोकेर बैठक राख्न माग गरेका छन्। ‘हामीले तोकिएकै मितिमा स्थायी कमिटी बैठक बस्छ भनेर तयारी अवस्थामा बसेका थियौं। हिजो बेलुका अचानक बैठक स्थागित भएको सूचना पायौं।’ स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले भनिन्, ‘बिनाकारण किन बैठक स्थागित गरियो? बैठक स्थगित हुँदा हामीमाथि नै अपमान भएको महशुस गरेका छौं।’ उनीहरूले तत्काल बैठक सुरु नभएसम्म निरन्तर दबाब दिइरहने निष्कर्ष निकालेका छन्।

‘हामीले कुनै पद प्रतिष्ठा मागेका छैनौं। प्रधानमन्त्रीज्यूले एकपछि अर्को गर्दै विवादित निर्णय गर्नुभयो। मन्त्रीहरु नै अनियमिततामा फस्दै गए।’ एक स्थायी कमिटी सदस्यले भने, ‘सरकारलाई के त्यस्तो बाध्यता आइलग्यो विवादित अध्यादेश ल्याउनुपर्ने‚ सांसद अपहरण गर्नुपर्ने? त्यसको जवाफ माग्न बैठक चाहियो भनेर मागेका थियौं। उल्टै अपमानित गर्ने ढंगले बैठक स्थगित गर्ने काम गरियो।’ बैठकमा आफूलाई लागेका विषय राख्न नपाएको भन्दै नेताहरुले आक्रोस पोखेका थिए।

प्रधानमन्त्री केपी ओली स्थायी कमिटी बैठकमा फेस गर्न नसकेपछि भागेको २० स्थायी कमिटी नेताहरुले निष्कर्ष निकालेका छन्। ‘प्रधानमन्त्रीज्यूले पार्टी कमिटीमा कुनै निर्णय नै नगरी मनमौजी तरिकाले काम गर्नुभयो।’ एक स्थायी कमिटी सदस्यले भने, ‘बैठकमा नेताहरुको आलोचना थेग्न नसक्ने देखेपछि बैठकबाटै भाग्नुभयो।’ प्रधानमन्त्री ओलीले चित्तबुझ्दो जवाफ नदिएसम्म नछोड्ने नेताहरुले बताएका छन्। यसअघि वैशाख १० गते २० स्थायी कमिटी नेताहरुले अध्यक्ष ओली प्रचण्डलाई पत्र नै लेखेर बैठक माग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्