Logo
Logo

सशस्त्रका दुई डीआईजीसहित १६ अधिकृत घर जाँदै


4.2k
Shares

काठमाडौं । सशस्त्र प्रहरीका डीआईजीदेखि डीएसपीसम्म १६ अधिकृत एकसाथ अवकाशमा जाँदैछन् । ३० वर्षे सेवा अवधिका कारण उनीहरू अर्को साताबाट अनिवार्य अवकाशमा जान लागेका हुन् ।

अवकाश हुनेमा सशस्त्र प्रहरी बल नेपाल नं ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीको प्रमुख रहेका डीआईजी अभिकुमार खत्री र सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कार्यरत दुर्गाप्रसाद भट्टराई समेत छन् । उनीहरु दुवैजना एकसाथ बिदा हुनेछन् ।

अवकाश हुन लागेका १६ जानै अधिकारी २०५१ सालमा नेपाल प्रहरीको सहायक निरीक्षक (असई) मा भर्ना भएका हुन । तर, उनीहरू सशस्त्र प्रहरीको स्थापनासँगै सशस्त्र प्रहरीमा गएका थिए ।

नेपाल प्रहरीबाट सशस्त्र प्रहरीमा जाँदा एक तह बढुवाको अवसर दिइएको थियो । तर त्यसअघि नै दुई जनाले भने प्रहरी निरीक्षकमा नाम निकालेका थिए । उनीहरू डीएसपीमा बढुवा हुँदै सशस्त्र प्रहरीमा प्रवेश गरेका थिए ।

यस्तै असईबाट सईमा बढुवा भएर सशस्त्र प्रहरीमा गएकाहरू पनि यो ब्याचका सबै जना अवकाश हुँदैछन् । सशस्त्र प्रहरी निरीक्षकदेखि डीआईजीसम्म १६ जना रहेको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपानेले बताए । जसमा १ एसएसपी, दुई डीएसपी र ११ जना एसपी रहेका छन् ।

सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट नवलपरासीका प्रमुख एसएसपी विश्वकुमार भट्टराई पनि अवकाश हुने भएका छन् । उनी सईबाटै सशस्त्र प्रहरीमा प्रवेश गरेका भए पनि पछि सशस्त्र प्रहरी निरीक्षकमा नाम निकाल्न सफल भएका थिए ।

एसपीहरू दिपेन्द्र गिरी, अम्मरबहादुर ऐर, अशोककुमार शाक्य, प्रेमबहादुर रावल, गोपालप्रसाद श्रेष्ठ, त्रिभुवन बिष्ट, उद्धवबहादुर रावल, पूर्णबहादुर साउद, धनबहादुर सिंह, भीमबहादुर चौधरी र महेन्द्रराज भारती रहेका छन् । त्यस्तै अवकाश हुने दुई डीएसपीमा राजेश्वरप्रसाद साह र हरिबहादुर शाही रहेका छन् ।

अवकाशमा जान लागेका दुई एसपी र एक डीएसपीलाई भने विशेष बढुवा दिएर बिदा गर्न लागिएको हो । सशस्त्र प्रहरीमा अवकाश हुने बेलामा कार्यरत पदमा ५ वर्ष काम गरेको र ३० वर्षे सेवा अवधिका कारण अवकाश भइजानेलाई एक तह बढुवा गर्ने व्यवस्था छ ।

सोही व्यवस्थाका कारण अवकाश हुन लागेका एसपी भीमबहादुर चौधरी र महेन्द्रराज भारती तथा डीएसपी हरिबहादुर शाहीलाई विशेष बढुवा गरिएको हो । यसअघि चौधरी र भारती डीएसपी थिए । उनीहरूलाई केही दिनअघि मात्रै एसपीमा विशेष बढुवा गरिएको हो । यस्तै हरिबहादुर शाही पनि सशस्त्र प्रहरी निरीक्षक नै थिए। उनलाई पनि विशेष बढुवा गरेर डीएसपी बनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्