नेपाल प्रहरीको दुईवटा नारा छन् । एक– प्रहरी मेरो साथी । अर्को– मुस्कानसहितको सेवा । तर, प्रहरी न नागरिकको साथी बन्न सके, न त उसले मुस्कानसहितको सेवा दिन सक्यो ।
जनता–प्रहरी सधैँ सँगै हुन्छन् । अझ ट्राफिक प्रहरी बढी जनतासँग घुलमिल हुन्छ । तर, जनता र ट्राफिक प्रहरीको सम्बन्ध कहिल्यै राम्रो बन्न सकेन । सवारी चालकहरूको त ट्राफिक प्रहरी दुस्मनजस्तै नै बनेको छ ।
ट्राफिक प्रहरीको मुख्य काम प्रचलित कानुनले दिएको अधिकारको अधीनमा रही सडकमा ट्राफिक नियमन र नियन्त्रण गर्नु हो । चालकले मापसे गरेर साधन चलाएको छ ? कि उससँग लाइसेन्स÷विलबुक छैन ? उसले ट्राफिक नियम विपरीत चलाएको छ ? यसको नियमन गर्ने जिम्मा, कर्तव्य र अधिकार ट्राफिक प्रहरीको हो ।
ट्राफिक प्रहरीको मुख्य उद्देश्यमा दुर्घटना न्यूनीकरण तथा रोकथाम गर्ने, ट्राफिक नियमको कार्यान्वयन गराउने, सडक प्रयोगकर्ताहरूलाई अनुशासनको भावना जगाउने, जनतालाई सडक सुरक्षाबारे शिक्षित गर्ने र संवेदनशीलताको भावना विकास गर्ने छन् ।
तर, ट्राफिक प्रहरीले आफ्नो मुख्य उद्देश्य नै भुलेको छ । उसको मुख्य उद्देश्य चालकलाई कारबाही गर्ने र राजस्व संकलन गर्ने व्यवसाय थालेको छ । जसरी हुन्छ ‘चिट’ काट्न लागिपरेको छ । गत आर्थिक वर्ष मात्रै ट्राफिक प्रहरीले १ अर्ब ७५ करोड ८१ लाख राजस्व उठाएको छ । राजस्व उठाउने काममा ट्राफिकलाई लगाउँदा विकृति बढेको छ । आम नागरिकमा असन्तुष्टि बढेको छ ।
ट्राफिक प्रहरी राजश्व संकलनमा मात्र केन्द्रित बन्दा सबैको तारो बन्ने गरेको छ । नागरिकमा त्रास बढेको छ । केहीले अनाहकमा ज्यान समेत गुमाएका छन् । यसको पछिल्लो उदाहरण हो– भक्तपुरको गठ्ठाघरको दुर्घटना ।
गत बिहीबार गठ्ठाघरमा रुखको आडमा बसेर ट्राफिक प्रहरीले राडार ‘गन’मार्फत सवारीको गति मापन गरिरहेको थियो । उसले एउटा स्कुटरलाई अचानक बिच सडक रोक्न लगाए । स्कुटर रोकियो । सडकमा अचानक स्कुटर रोकिएपछि पछाडिबाट आएको ट्रकले ठक्कर दियो । तीव्रगतिको ट्रकले स्कुटरलाई ठक्करमात्र दिएन, झन्डै एक सय मिटर परसम्म घिसारेर लग्यो । स्कुटर चालकको शरीर क्षतविक्षत भयो ।
दुर्घटना हुनेवित्तिकै वरपर मानिस जम्मा भए । त्यो भीड आक्रोशित र एकत्रित भयो । ट्राफिक प्रहरीले सडकमा जथाभाबी ‘स्पीड चेकिङ’ गरेका कारणले दुर्घटना भएको भन्दै भीड ट्राफिक प्रहरीमाथि जाइलाग्यो । सडकमा गति मापन गर्न बसेका ट्राफिक प्रहरीको भागाभाग भयो । स्थिति निकै तनावग्रस्त बन्यो । केही प्रदर्शनकारी र प्रहरी घाइते भए । प्रदर्शनकारीमाथि प्रहरीले लाठीचार्ज ग¥यो । स्थिति नियन्त्रणमा गर्न अश्रु ग्यास नै हान्नु प¥यो । यो त पछिल्लो उदाहरण मात्रै हो । यस्ता घटना धेरै हुने गरेको पाइन्छ ।
ट्राफिक प्रहरीको काम राजश्व उठाउने होइन । अर्कातिर चालकहरू पनि अराजक छन् । नियमको पालना गर्दैनन् । पैदलयात्री पनि उतिकै दोषी छन् । आकाशे पुलमुनिबाट बाटो काट्छन् । जेब्रा क्रसिङको प्रयोग गर्दैनन् । सडक पनि गतिलो छैन । गल्ती सबैको छ । तर, दोष सबै चालकको टाउकोमा थुपारिन्छ ।
यातायात क्षेत्रबाट करिब २५ प्रतिशत राजश्व संकलन हुन्छ । तर, यसको सुधारका लागि पर्याप्त बजेट हुँदैन । संघीय राजधानी काठमाडौंकै सडकहरूमा बाइक छिर्ने भ्वाङहरू छन् । सडकमा राखिएका ट्राफिक सूचना चिह्नहरू पनि सबै ठाउँमा छैन । कतिपय स्थानमा अगाडि ट्राफिक चेकजाँच भइरहेको छ भनेर बोर्डसम्म राखिएको हुँदैन ।
प्रहरीको तथ्यांकअनुसार नेपालमा दैनिक ९७ वटा सडक दुर्घटना हुने गरेको छ । तीन वटा दुर्घटनामा औसतमा सात जनाको मृत्यु हुने गरेको छ । आर्थिक वर्ष २०८०÷८१ मा २ हजार ३६९ जनाले ज्यान गुमाएका छन् ।
ट्राफिक प्रहरीले आफ्नो मुख्य उद्देश्य नै भुलेको छ । उसको मुख्य उद्देश्य चालकलाई कारबाही गर्ने र राजस्व संकलन गर्ने भएको छ । जसरी हुन्छ ‘चिट’ काट्न लागिपरेको छ । कमिसन लिने प्रवृत्तिले ट्राफिक प्रहरीलाई बदनाम बनाउँदै लगेको छ ।
नियम कानुन भनेको समयसँगै परिवर्तन हुनुपर्छ । कतिपय सन्दर्भमा परिस्थितिवश नियमको उल्लङ्घन भएको पनि हुन सक्छ । उदाहरणका लागि ५० किलोमिटरको गतिमा आएको गाडी हल्का ओरालो लाग्दै गर्दा ५५÷६० को गतिमा पुग्न सक्छ । उकालोमा स्कुटरजस्ता गियर नभएका साधन कुदाइरहेको गतिभन्दा स्पिड नगरे तान्दैन । यसलाई गल्तीका रूपमा लिने कि नलिने ?
त्यस्तो अवस्थामा चालकलाई केवल सम्झाइबुझाइ पठाउनु टा«फिक प्रहरीको दायित्व हो । तर, यहाँ सिँधै पाँच सयदेखि १५ सयको चिट कटेर पठाइन्छ । नियम पालनाका लागि अभिप्रेरित गर्नुको सट्टा अनेक तरहको झमेला खडा गरेर जरिबानाका नाममा राजस्व सङ्कलन गर्ने नियत राखिन्छ ।
राजस्व संकलन गरेर स्याबासी र कमिसन लिने प्रवृत्तिले ट्राफिक प्रहरीलाई बदनाम बनाउँदै लगेको छ । ऊप्रतिको धारणासमेत नकारात्मक बनेको छ । ट्राफिक प्रहरी देख्नसाथ ‘यसले चिट काट्छ’ भन्ने मनसिकता छ । कुनै दिन लाइसेन्स÷बिलकुल बोक्न भुल्यो भने ट्राफिक प्रहरी देख्नसाथ ‘टाप’ कस्नुपर्छ । नत्र हजार÷पन्ध्र सय ठटाइहाल्छ । यसरी भाग्दा पनि दुर्घटना निम्तन सक्छ ।
ट्राफिक प्रहरीको कामकारबाहीप्रति कसैले प्रश्न उठायो भने सत्य वा असत्यको खोजी नगरी प्रहरीविरुद्ध खनिने गरेका छन् । प्रहरीले साथ दिनेभन्दा दुःख बढी गरेको बुझाइ छ । प्रहरी नागरिकलाई अनाहक झन्झटमा फसाउनका लागि हो भन्ने धारणा बढेको छ । त्यसैले सत्य तथ्य नबुझी प्रहरीविरुद्ध आवाज उठ्ने गरेको पाइन्छ ।
यो कुरा समाज र प्रहरी दुवैका लागि राम्रो होइन । प्रहरी नागरिक सुरक्षाका लागि खटिने सरकारी बर्दीधारी सङ्गठन हो । उसको विश्वास गर्न छाडेर अविश्वास गर्नु कदापि राम्रो होइन । तर, अविश्वास गर्ने वातावरण चाहिँ प्रहरीबाटै बनेको छ । यो कसरी बन्यो भन्नेतर्फ सरोकारवाला सचेत हुनु जरुरी छ ।
निश्चय पनि सबै ट्राफिक प्रहरी खराब मात्रै हुँदैनन् । न त सधैँ सवारी चालकले मात्रै गल्ती गर्छ । तर, सधैँ प्रहरीको नजरमा चालक र चालकको नजरमा प्रहरी दोषी हुन्छन् । त्यसैले नियामक निकायलाई मात्रै दोष दिएर सवारी चालकहरूबाट हुने लापरबाहीलाई भुल्न हुँदैन ।
ट्राफिक प्रहरी राष्ट्रसेवक हुन् । सम्पूर्ण सेवा राज्यबाट प्राप्त हुन्छ । त्यसैले राज्य कोषमा राजस्व तिर्ने, बुझाउने नागरिकप्रति, देशप्रति प्रहरी उत्तरदायी र कर्तव्यनिष्ठ हुनैपर्छ । नागरिक र देशप्रतिको बफादारिता भुल्नु हुँदैन ।
सडकमा गुड्ने हरेक सवारी साधनको गति मापनका लागि त्यही किसिमको प्रविधि जडान हुनु पर्ने हो । तर, अत्याधुनिक प्रविधि र स्रोत साधन नहुँदा ट्राफिक प्रहरीहरू स्पिड ‘गन’ लिएर बाटो बाटोमा तेस्र्याएर आतंक सृजना गरेका छन् ।
नियम विपरीत काम गर्नेलाई कानुनसम्मत कारबाही पनि गर्नु पर्छ । तर, कारबाही सप्रमाण हुनुका साथै न्यायसङ्गत हुनु पनि उत्तिकै जरुरी छ । उसले ठिक ग¥यो भन्ने अनुभूति दिलाउन सक्नुपर्छ ।
यसका लागि कार्य क्षेत्रमा खटिने हरेक ट्राफिक प्रहरीले आफ्ना कर्तव्य र दायित्वप्रति सजग र सचेत रहन जरुरी छ । सवारी चालको गल्तीअनुसार सम्झाउने, सचेत गराउने र कारबाही गर्ने गर्नुपर्दछ । यसो गर्न सकियो भने एकअर्कामा शत्रुताको भावना हुँदैन ।
सानोठुलो र धनीगरिब नभनी सडकमै न्याय निशाफी तरिकाले काम गर्ने हो भने आमनागरिक ट्राफिक प्रहरीको पक्षमा उभिन बाध्य हुनेछन् । र, उसको मनोबल सधैँ उँचो रहेनछ । प्रहरी मेरो साथी र मुस्कानसहितको नाराले पनि सार्थकता पाउने छ । तर, यसमा ट्राफिक प्रहरीको साथ आम नागरिकले साथ दिन भने जरुरी छ ।