Logo
Logo

दक्षिण एसियामा अशान्तिको कालो बादल


डा. दीपेश केसी

3.1k
Shares

अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गर्न लाग्दा असरफ घानीले हतार हतार देश छाडे । श्रीलंकामा राजापाक्षे परिवार नै देश छाडेर भाग्नुप-यो । पाकिस्तानमा इमरान खान जेल जानुप-यो । बंगलादेशमा शेख हसिना देश छाड्न बाध्य भइन् ।

सत्ता चलाइरहेका दक्षिण एसियाका उल्लेखित नेताहरूलाई देश छाड्न एक घण्टाको पनि समय मिलेन । कतिले त लुगा र जुत्ता समेत हतार हतार लगाएर भाग्न भ्याए । दक्षिण एसियामा विगत तीन वर्षमा यी घटनाहरू घटे । जो जो नेता देश छाड्न बाध्य भए उनीहरूलाई लाग्दथ्यो कि आफू सर्वशक्तिमान् छु ।

सत्तामा बसेर जति लुटे पनि कसैले केही गर्न सक्दैनन् । सेना, प्रहरी सबै आफ्नो हातमा छ भन्ने भ्रम थियो । तर जनता नै इतिहासका अजय शक्ति हुन् भन्ने कुरा जनताको विद्रोहले पुष्टि ग¥यो । त्यसैले नेपालमा पनि कसैले घमन्ड नगरे हुन्छ । भित्रभित्र पानी उम्लिसकेको छ, त्यो सडकमा पोखिन मात्र बाँकी छ ।

दक्षिण एसियामा श्रीलंका आर्थिक विकासमा उदाहरणीय थियो । एकाएक आर्थिक रुपमा टाट पल्टियो । पर्यटकको आकर्षणको केन्द्र थियो । तर, राजापाक्षे परिवारको तानासाहविरुद्ध जनता सडकमा उत्रिए । पाकिस्तानमा इमरान खानले चालेको नीति उनकै लागि प्रत्युत्पादक बन्यो ।

अमेरिकी प्रभाव बलियो रहेको पाकिस्तानमा उनी अमेरिकाविरोधी बन्न थाले । चीनका आयोजनाहरू धमाधम भित्राए । तर, सेनाको साथ उनलाई मिलेन । उनी जेल हालिए । अफगानिस्तानमा तालिबानले अमेरिकाविरोधी शक्तिको साथ पायो । अमेरिकाको साथ पाएर राष्ट्रपति बनेका घानीले अमेरिकाले काबुल छाड्नु अघि नै देश छाडे ।

बंगलादेशमा दोहोरो अंकको आर्थिक वृद्धि थियो । विपक्षीलाई दबाएर शासन गरेकी शेख हसिनाले त्यो आर्थिक वृद्धिको जस त लिइन् तर उनीविरुद्ध विद्यार्थीले विद्रोह गरे । सुरक्षा निकायले पनि अन्तिम अवस्थामा साथ दिएन । बंगलादेशको राष्ट्रपिता शेख मुजिबर रहमानकी छोरी हसिनाले देश छाडेर भारतमा शरण लिइन् ।

शेख हसिनाका पक्षधरले बंगलादेशको घटनामा अमेरिकाले भूमिका खेलेको आरोप लगाइरहेका छन् । अमेरिका बंगलादेशमा आफ्नो प्रभाव बलियो बनाइरहेको थियो । त्यसमा हसिना तयार भइनन् । तर, विदेशी शक्तिलाई दोष दिएर पन्छने प्रवृत्ति संकटग्रस्त देशहरुमा चलिरहेको छ । पक्कै पनि विदेशी शक्तिले ठाउँ पाएपछि आन्तरिक मामलामा खेल्छन् नै । तर, बंगलादेशका घटनाका पछाडि शेख हसिनाको धेरै गल्तीहरू छन् । उनको शासनकालमा विपक्षी दबाइए । चुनाव लड्नबाट वञ्चित गरिए । विपक्षी नेता बेगम खालिदा जिया जेल हालिइन् । चुनावमा भारी बहुमत ल्याएपछि हसिनामा अहंकार बढ्यो । उनले फरक मतको सम्मान गर्नु त परै जाओस् दमन गरेर शासन गर्नुपर्छ भन्ने मान्यता राखिन् ।

अतिवादी मुसलमानको साथ लिन खोजिन् । त्यसैले हसिनाले देश छाडेपछि लेखक तसलिमा नसरिनले कडा शब्दमा लेखिन्, आफूलाई जुन मुस्लिम अतिवादीले बंगलादेशमा बस्न दिएनन् त्यही अतिवादीको साथ लिँदा तिनैले हसिनालाई लखेटेको भनिन् । हसिनाले त देश छाडिन् । उनका सन्तान सुरक्षित रहेका छन् । तर, उनको समर्थकहरू हिंसाको सिकार बनेका छन् ।

बंगलादेशमा हिन्दू बौद्धलगायत अल्पसंख्यकमाथि दमन चलिरहेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दू बौद्धलगायत अल्पसंख्यकको सुरक्षाको विषय उठाएका छन् । पश्चिमा र मुस्लिम जगत त्यसबारे मौन नै छ । तर, बंगलादेश दोहोरो अंकको आर्थिक वृद्धिबाट संकटग्रस्त मुलुकमा झरिसकेको छ । उसलाई फेरि उठ्न निकै समय लाग्न सक्छ ।

बंगलादेशको घटनाले दक्षिण एसियामा अशान्तिको कालो बादल मडारिइसकेको छ । धार्मिक र जातीय हिंसा फैलन सक्ने संकेत गरेको छ । अर्कोतर्फ, दक्षिण एसियाका अन्य देशमा पनि विद्रोहको आत्मबल बन्न सक्छ । नेपालमा त जिम्मेवार नेताहरूले बंगलादेशको घटना नेपालमा पनि हुनसक्ने बताइरहेका छन् ।

कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले त यो खतरा औँल्याइसकेका छन् । हुन पनि सत्तामा प्रभाव जमाउँदै आएका नेताहरू भ्रष्ट छन्, अधिनायकवादी सोचका छन् । उनीहरूले विगतमा बहुमतको दम्भ देखाएकै हुन् ।

केपी ओली, प्रचण्ड र शेरबहादुर देउवाले सरकारमा पुगेपिच्छे दम्भ देखाएर शासन गर्दै आएका छन् । ओलीले त दुई पटक संसद् विघटन गरेर संविधानको खिल्ली उडाए । नेताहरूले आफ्ना आसेपासे मार्फत दसौँ अर्ब भ्रष्टाचार गरेको तथ्यसहितका विवरणहरू सार्वजनिक भइरहेका छन् । विदेशमा घूस लेनदेनका एजेन्ट नै खडा गरेका छन् ।

आइटी प्रकरण, विद्युत् महसुल प्रकरण, सहकारी ठगी प्रकरण । एनसेल कर छली प्रकरण, सार्वजनिक जग्गा प्रकरण, भुटानी शरणार्थी प्रकरण, सुन काण्ड जस्ता काण्डै काण्ड छताछुल्ल छन् । यी प्रकरणमा झीनामसिना पात्रहरु जेल हालिएका छन् । केही कर्मचारीहरू पनि छानबिनको दायरामा ल्याइएका छन् । तर, सत्ताको नेतृत्व गर्ने राजनीतिक नेतृत्वको भूमिका विना यस्ता काण्डहरू हुन्छन् भन्ने जनताले पत्याएका छैनन् । त्यसैले नेपालमा जनविद्रोहको वातावरण तयार भइरहेको छ ।

राष्ट्रको ढुकुटीमा १५ अर्बभन्दा बढी विदेशी मुद्रा सञ्चिति छ । विदेशी मुद्रा सञ्चितिमा कीर्तिमान कायम गर्दा पनि बजार चलायमान छैन । व्यापारीहरू सटर बन्द गरेर भाग्नुपरिरहेको छ । बैंकको ऋणको साँवा त के ब्याज पनि तिर्न नसकेर व्यापारीहरू मर्ने अवस्थामा पुगिसके । किसानको हालत झन् पीडादायक छ । सामान्य व्यापार गरेर र खेती गरेर खाइनखाई जम्मा गरेको पैसा सहकारी माफियाले खाइदिएका छन् । लघुवित्त पीडितको पीडा उस्तै छ ।

कालोबजारी अघोषित रुपमा छुट दिएको छ सरकारले । दशैं तिहारलाई लक्षित गरेर तीन महिना अघि नै चामल, दाल, चिनी जस्ता दैनिक उपभोग्य सामाग्रीको मूल्य आकासिएको छ । जनताको चुल्हो निभ्दै छ । भोका पेटहरू कुनैपनि बेला सडकमा उत्रने अवस्था बन्न सक्छ ।

युवाहरू कानुनी र गैरकानूनी बाटोबाट भएपनि बिदेसिइरहेका छन् । तर, सत्ताको वरिपरि रहेको एउटा सानो हिस्सा मस्ती मारिरहेको छ । उनीहरूले सत्तामा पैसा र पावर मात्र देखेका छन् । जनताप्रति जिम्मेवार छैनन् । मुख्य नेताहरू जनतासँग जोडिएकै छैनन् । न त तिनका कार्यकर्ता धरातलीय यथार्थबारे खासै जानकार छन् । यीनै परिस्थितिले कुनैपनि बेला उठ्न सक्ने असन्तुष्टिको सुनामीले नेताहरू भाग्न पनि नभ्याउने स्थिति हुनसक्छ । ठ्याक्कै बंगलादेश, श्रीलंकाजस्तो अवस्था त नआउला तर, समयमै नेताहरु सच्चिएनन् भने त्यसले ठूलो विद्रोह निम्तन सक्ने संकेत भने देखापरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्