सेलिनजेन (जर्मनी) । पश्चिमी जर्मनीको सोलिनजेन सहरमा शुक्रबार आयोजित एक उत्सवमा छुरा आक्रमण हुँदा तीन जनाको मृत्यु हुनुका साथै चारजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीले संदिग्ध आक्रमणकारीको खोजी जारी राखेको बताएको छ । ‘अहिलेसम्म आतङ्ककारीबारे कुनै विस्तृत विवरण छैन, प्रहरीले फोटो र भिडियोसहित अनलाईन पोर्टलमार्फत शुक्रबार राती भएको आक्रमणको जानकारी खोजिरहेको छ’ ,डुसेलडोर्फ सहरका एक प्रहरी प्रवक्ताले बताए ।
आक्रमणको लगत्तै विशेष प्रहरी बलको टोली हेलिकप्टरसहित घटनास्थलमा पुगेको थियो । आक्रमणकारीले ‘मानिसहरूलाई अन्धाधुन्ध छुरा प्रहार गरेको’ बिल्ड दैनिकले जनाएको छ ।
सोलिनजेन सहरको ६५०औँ वार्षिकोत्सवका अवसरमा आयोजित महोत्सवमा यो आक्रमण भएको हो । सोलिनजेनका मेयर टिम–ओलिभर कुर्जबाचले घटनाबाट सम्पूर्ण सहर स्तब्ध भएको बताए ।
‘हामी सबै मिलेर सहरको वार्षिकोत्सव मनाउन चाहन्थ्यौं तर अहिले यस अप्रिय घटनामा मृत्यु हुनेप्रति शोक व्यक्त गरिरहेका छौँ’, कुर्जबाचले भने । कुर्जबाचले घटनास्थलमा गरेको कामको लागि आपतकालीन सेवालाई धन्यवाद दिए र आक्रमणको प्रत्यक्षदर्शीप्रति सहानुभूति प्रकट गरेका छन् ।