Logo
Logo

राधा भण्डारीको दोस्रो उपन्यास ‘धमिलो प्रकाश’ लोकार्पण


567
Shares

काठमाडौं । साहित्यकार राधा भण्डारीको दोस्रो उपन्यास ‘धमिलो प्रकाश’ लोकार्पण गरिएको छ । मिलाप मासिकको आयोजनामा काठमाडौंमा शनिबार एक विशेष समारोहबीच साहित्यकार एवं वरिष्ठ पत्रकार प्रा.पुरुषोत्तम दाहलको प्रमुख आतिथ्यतामा उक्त कृति लोकार्पण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रा.दाहाल, महाकाव्यकार खेमनाथ दाहाल, साहित्यकार हरि अधिकारी, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, उर्जाविद् कृष्ण भण्डारी, वरिष्ठ कलाकार लय संग्रौला, सर्जक राधा भण्डारीलगायतले उत्त कृतिको लोकापर्ण गरेका थिए ।

साहित्यकार हरि अधिकारीको सभापत्विमा भएको कार्यक्रममा मिलाप पब्लिकेशका कृष्ण भुसालले स्वागत मन्तव्य राखेका थिए भने स्रष्टा भण्डारीले लेखकीय भनाइ राखेका थिए ।

भण्डारीले पहिलो उपन्यास कृति ‘खुल्ला कैदी’ पाठकमाझ ल्याएको चार वर्षपछि दोस्रो कृति ल्याएको बताउँदै यो उपन्यास कोरोना–१९को महामारीबाट सिर्जित असमान्य परिस्थितिको पृष्ठिभूमिमा रचिएको जानकारी गराए ।

‘धमिलो प्रकाशले नेपाली समाजमा विद्यमान पुरुषप्रधान मानसिकतालाई उजागर गर्न खोजेको छ, जसले राष्ट्रको आधा आकाश भनिने नारीहरूमाथि शदियौंदेखि भौतिक, मानसिक दुवै स्तरमा चरम् शोषण गर्दै आएको छ,’ उनले भने ।

कार्यक्रममा वरिष्ठ कलाकार संग्रौला, गीतकार एवं वरिष्ठ रंग पत्रकार शान्तिप्रिय, वरिष्ठ गीतकार अमर वान्तु, साहित्यिक पत्रकार संघका अध्यक्ष लेकाली, समाजसेवी लीला नेपाल, ऊर्जाविद् कृष्ण भण्डारीलगायतले शुभकामना मन्तव्य राख्दै स्रष्टा राधा भण्डारीलाई नयाँ कृतिका लागि बधाई तथा शुभकामना दिएका थिए ।

महाकाव्यकार खेमनाथ दाहालले पुस्तकको टिप्पणी गर्दै नारी वेदना र प्रतिशोधको बिम्ब यो कृति रहेको बताए । यौन उत्पीडनमा परेका नारीको आवाज पनि यो कृति रहेको बताउँदै उनले यसमा सामाजिक विद्रोह रहेको समेत टिप्पणी गरे ।
समारोहका प्रमुख अतिथि प्रा.पुरुषोत्तम दाहालले संवादको शैलीमा रहेको उपन्यासले समाजमा रहेका विकृतिलाई उजागर गरेको बताए । उनले कृति सरल र गहन रहेको बताउँदै समाजमा रहेको विकृतिलाई कृतिकार भण्डारीले हिम्मत गरेर पाठकमाझ ल्याएको बताए ।

कार्यक्रमका सभापति साहित्यकार अधिकारीले आफ्नो प्रकाशक संस्था शब्दबिम्ब प्रकाशन प्रा.लि.बाट कृति पाठकमाझ आएको जानकारी गराउँदै यसमा स्रष्टा भण्डारीको भाषा शैलीलाई परिमाजित नगरिकन प्रस्तुत गरिएको जनाकारी गराए ।

रिना श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा आयोजकका तर्फबाट मिलापका अध्यक्ष कृष्ण भुसाल र मिलाप फाउण्डेशनका अध्यक्ष गीता अधिकारीले प्रमुख अतिथि र अतिथिहरूलाई मायाको चिनो अर्पण गरेका थिए । कार्यक्रममा विविध क्षेत्रका विशिष्ठ व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।

उपन्यासको मूल्य ४०० रुपैयाँ राखिएको छ । कृतिलाई स्रष्टाले आफ्ना माता पिता भीमादेवी पराजुली र भेषराम पराजुलीमा समर्पण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्