Logo
Logo

चार चिनियाँ नागरिकमाथि अभद्र व्यवहारमा मुद्दा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काडमाडौं, २९ बैशाख । सिंहदरबार अगाडि लकडाउन र निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि नै हातपात गर्ने चार चिनियाँ नागरिकलाई अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ ।
महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले उनीहरुलाई आइतबार अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान गरिने जानकारी दिए । शुक्रबार अपराह्न बन्दाबन्दीका समयमा निषेधित क्षेत्रको उल्लंघन गरी प्रहरीमाथि आक्रमण गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।
परिसरका अनुसार गाभिड र लियो लाओलाई महानगरीय प्रहरी वृत्त दरबारमार्ग र ज्याङ जङ तथा गेगा न्यानीलाई सिंहदरबारस्थित वृत्तमा राखिएको छ । पक्राउ परेका अन्यलाई भने छाडिएको छ । उनीहरु घर जान पाउनुपर्ने माग राख्दै ‘वी वान्ट टु गो ब्याक होम’ लेखेको प्लेकार्ड बोकेर निषेधित क्षेत्र तोडी सिंहदरबारतर्फ आएका थिए । उनीहरूले प्रहरीको लाठी खोसेर प्रहरीलाई नै हिर्काएका थिए । त्यसको जवाफमा प्रहरीले पनि उनीहरूमाथि लाठी हानेको थियो । सोही क्रममा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतसहित पाँच प्रहरी र ६ चिनियाँ घाइते भएका थिए । पर्यटन राहदानीमा घुम्न आएका ती चिनियाँ ठमेलबाट रानीपोखरी, रत्नपार्क हुँदै सिंहदरबारतर्फको निषेधित क्षेत्रतर्फ आएका जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्