गत साता नेपालका प्रमुख सञ्चार माध्यमहरूमा दक्षिण छिमेक भारतका विदेश सचिव विक्रम मिश्री दुई दिने नेपाल भ्रमणमा आएको चर्चा सुन्दा मानौँ, कुनै मुलुकको राष्ट्र प्रमुख आएझैँ लाग्थ्यो । एउटा दैनिक पत्रिकाले त उनको भ्रमण तालिका नै छाप्यो ।
नयाँ दिल्लीमा हालै मात्र बहाली भएका विदेश सचिव नेपालको भ्रमणमा आउनु सामान्य कुरा हो । उनको ३० घण्टे काठमाडौं बसाइँमा नेपालका राष्ट्रपति, प्रधानमन्त्री, भूतपूर्वप्रधानमन्त्रीहरू तथा परराष्ट्रमन्त्रीसँग भेट्ने म्याराथन दौडझैँ थियो ।
परस्परमा कूटनीतिक सम्बन्धमा दुई मुलुकका उच्चतम तहमा भेटवार्ता हुनु सामान्य कुरा हो । तर, यो भ्रमण कुन स्तरमा, केका लागि थियो र उक्त भेटवार्तामा कुन–कुन विषयमा वार्ता भए भन्ने कुरा बाहिर आएको छैन ।
दुई सरकारका उच्च अधिकारीहरू बीच आपसी हितका मामिलामा के कस्ता छलफल भए त्यसलाई गोप्य राख्नुपर्ने कुनै कारण हुँदैन । कूटनीतिको कुरा गर्दा (भियना) कन्भेन्सनको कुरा आइहाल्छ । यो कन्भेन्सनअन्तर्गत परराष्ट्र मामिलाका बारेमा प्रोटोकलका कुराहरू आउने गर्दछन् । जसलाई सबै मुलुकहरूले पालना गर्ने परम्परा छ ।
नेपालको परराष्ट्र मन्त्रालयले केही वर्ष अघि एउटा प्रोटोकल पनि तयार पारेको थियो । त्यसअनुरुप राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रले परराष्ट्र सम्बन्ध गर्दा केही आचारसंहिताभित्र रहेर गर्नुपर्छ । तर भारतको हकमा यो आचारसंहिता लागू भएको देखिँदैन ।
उनले हाम्रा परराष्ट्रसचिव लम्सालसित प्रोटोकल अनुसार परस्पर हितका बारेमा खुलस्त वार्ता गर्नु जायज हो । तर, एउटा विदेशसचिवले राष्ट्रपतिदेखि प्रधानमन्त्री सबै प्रमुख दलका नेतासँग भेटघाट गर्नु कूटनीतिक मर्यादाको उल्लंघन हो ।
हाम्रा नयाँ दिल्लीस्थित नेपाली राजदूतले भारतका उच्च राजनीतिक तहका कुरा छाडौँ, त्यहाँ (भारत) का विदेशसचिवसँग भेट पाउन हम्मेहम्मे पर्दछ । नयाँ दिल्लीस्थित नेपाली राजदूतले अलि सजिलोसित भेट पाउने भनेको साउद एसिया डेक्स हेर्ने अधिकारीसित मात्रै हो ।
हाल नयाँ दिल्लीमा पुनर्बहाली पाएका नेपालका राजदूत डा. शंकर शर्माले भारतीय विदेशमन्त्री एस. जयशंकरसित भेट्न पाएको कुरा सार्वजनिक भएबाट भारतले नेपाललाई कति महत्त्व दिएको छ भन्ने कुरा छर्लङ्ग हुन्छ ।
हाम्रा नेताहरू प्रोटोकलको ख्याल नगर्ने र कसरी भारतीय उच्च तहमा रहने व्यक्तिहरूसित आफ्नो सम्बन्ध सुमधुर बनाउन कति लालायित हुन्छन् भन्ने कुरा केही वर्षअघि भारतका युपिए (युनाइटेड प्रोग्रेसिभ एलायन्स) का सरकारका विदेशमन्त्री खुर्सिद आलम खान काठमाडौं आउँदा होटेल द्वारिकामा नेताहरूको लामबद्धताले प्रस्ट पार्छ ।
उनलाई दर्शन भेट गर्न प्रोटोकलको कुनै ख्याल नगरी नेपाली मन्त्रीहरू मात्र होइन, पूर्वप्रधानमन्त्रीहरू समेत लाइन लागेको चर्चामा आएको थियो । यस्तो छ हाम्रो कूटनीतिको हबिगत । काठमाडौंमा त यस्तो गाईजात्रा भयो तर, त्योभन्दा बढी प्रहसन नयाँ दिल्लीमा भएको सुनियो ।
भारत भ्रमणमा रहेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सत्तारुढ दल भारतीय जनता पार्टी कार्यालयमा पुगेर जगहसाईं काम गरे । जबकि, देउवालाई भेट्न भारतीय नेताहरू उनी बसेकै होटेलमा आउनुपर्ने होइन र ? राजनीतिमा एउटै पार्टीको हरदम वर्चस्व रहँदैन । कहिले एउटा पार्टी सत्तामा हुन्छ भने अर्को पार्टी प्रतिपक्षमा हुने हुनाले हामीले सबैसित भाइचारा सम्बन्ध राख्नुपर्ने सामान्य कुरा पनि किन हेक्का नराखेका होलान् नेपाली नेताहरूले ?
त्यसैगरी पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि प्रोटोकलको कुनै ख्याल नगरी तीनताक एकाएक दिल्लीका मुख्यमन्त्री भएका अरविन्द्र केजरीवाललाई भेट गर्न पुगेका थिए ।
सन् १९६४ मा भारतको योजना आयोगमा सदस्यको रुपमा कार्यरत नारायणलाई भारतीय प्रधानमन्त्री लालबहादुर शास्त्रीले नेपालका लागि भारतीय राजदूतको रुपमा जति सक्यो त्यति छिटो कार्यभार सम्हाल्न जान भन्दै काठमाडौं आए । छिमेकी मुलुकसित सम्बन्ध कति महत्त्वपूर्ण हुन्छ भन्ने यसबाट पनि नेपाल भारतको प्राथमिकतामा पर्छ भन्ने बुझिन्छ ।
स्मरण रहोस्, भारतका तत्कालीन प्रधानमन्त्री शास्त्री नेपाल र भारतबीच चिसिएको सम्बन्धलाई भारतका नोकरशाह, कूटनीतिकहरूलाई भन्दा सार्वजनिक जीवनमा रहेका व्यक्तिलाई प्राथमिकता दिइ दुई मुलुकबीच रहेको तिक्ततालाई मैत्रीपूर्ण आयममा ढाल्न सकोस् भन्ने हेतुले काठमाडौंका लागि भारतीय राजदूतको रुपमा नारायणलाई चयन गरेका थिए ।
उनी बेलायती समकालीन नोकरशाहजस्तो अहम्को मानसिकता नरहेका एक गान्धीवादी नेता थिए । उनको बोलीमा मात्र होइन, व्यवहारमा समेत साँच्चिकै गान्धीवादी चरित्र थियो ।
कूटनीतिमा राष्ट्रिय हित सर्वोपरि हुन्छ । व्यक्तिगत सम्बन्ध वा भावनामा बगेर चालिनु हुँदैन भन्ने कुरामा राजनीतिक नेतृत्व र राष्ट्रसेवकहरूले हेक्का राख्नुपर्छ । परराष्ट्र सम्बन्धहरूका विभिन्न आयामहरू हुन्छन् । जसको सूक्ष्म ढंगले अध्ययन गरी पाइला चालिनुपर्दछ । त्यसो नगरिएमा दुर्घटना निम्तिन सक्छ ।
परराष्ट्र सम्बन्धहरूको बारेमा समय सापेक्ष अध्ययन अनुसन्धानका लागि हरेक मुलुकमा थिंकट्यांक राख्ने परम्परा छ । त्यही अनुरूप नेपालमा पनि परराष्ट्र मामिला हेर्ने एउटा कार्यालय रहेको देखिन्छ । तर, उक्त संस्थाले मुलुकका परराष्ट्र सम्बन्धका बारेमा के कस्तो कार्य गरिरहेको छ भन्ने खासै चर्चा सुनिँदैन ।
हाम्रो पूर्वी सिमानाबाट मात्र १९ किलोमिटर पर रहेको बंगलादेशमा उत्पन्न राजनीतिक घटनाबारे नेपालले के कति सूक्ष्म (माइक्रो) अध्ययन गरिरहेको छ भन्नेबारे हाम्रो चासो वाञ्छनीय हुन्छ । हालै बंगलादेशको कार्यकारी प्रमुखमा नियुक्त प्रा.डा. मोहमद युनुस नेपालसँग परिचित व्यक्ति हुन् ।
जसलाई नेपाल सरकारले हालसम्म शुभकामना दिन किन ढिलाइ गरेको होला बुझिनसक्नु छ कि दक्षिणको छिमेकले कुन पाइला चाल्छ त्यसपछि मात्र जे गर्नुपर्ला गरौँला भन्ने मनस्थितिमा किम्कर्तव्यमुड बसेको होला ओली सरकार ? दुई पक्षीय व्यापार बंगलादेशसित बढाउन हाम्रो परराष्ट्र मन्त्रालय सक्रिय हुनु अत्यावश्यक छ । यो पंक्तिकारले ढाकामा नेपालप्रति ठूलो सद्भाव रहेको प्रत्यक्ष अनुभव गरेको छ ।
राजनीतिक आफ्नो ठाउँमा छ । यसमा अनेकौँ उतारचढाव बेलाबेलामा भइराख्छन् । तर, जनता–जनताबीचको सम्बन्धलाई राजनीतिले बिगार्न सक्दैन । पूर्वपरराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्याय नेपाल–भारतबीचको सम्बन्धको बारेमा यस्तो धारणा राख्छन् । ‘कृतिम रुपमा आधुनिक समयको राजनीतिज्ञ नोकरशाह र कूटनीतिकहरू दीर्घकालसम्म दुई मित्र बीचको सम्बन्धलाई दिगो बनाउन सक्दैनन् । दुई मुलुकका जनताबीचको सम्बन्ध नै सबैभन्दा दिगो हुन्छ ।’
हामी नेपालीहरूमा लघुताभाष (इन्फेरियोरिटी कम्प्रेक्स)को मानसिकताले जह्रा गाढेको छ । र, हामी साना मुलुक हौँ । गरीब छौँ भन्ने मानसिकता हाम्रो लागि सबैभन्दा ठूलो तगारो हुन् कूटनीतिक कार्यान्वयनमा ।
कूटनीतिबारे विद्धान जोशेफ नेलेको अभिव्यक्ति यहाँ उल्लेख गर्नु मननीय हुन्छ । उनी भन्छन्–शक्ति तीन प्रकारका हुन्छन् । हार्ड पावर, सफ्ट पावर र स्मार्ट पावर । र, नेपालसित सफ्ट पावरजस्तो मौलिक धर्म संस्कृति, सञ्चार, जलस्रोत, पर्यटन र अनेक यस्ता सामाजिक र औपचारिक पक्षहरूको बौद्धिकतापूर्ण प्रयोग गरेर छिमेकीहरूसित सुदृढ सम्बन्ध बढाउनु वाञ्छनीय हुन्छ ।