काठमाडौं । केपी शर्मा ओलीको प्रधानमन्त्रीमा चौथो पटक आगमनसँगै छिमेकी मुलुक भारतले हेर्ने दृष्टिकोण के हो भन्ने अन्योल रहेको छ । परराष्ट्रमन्त्री डा. आरजु देउवाको भारत भ्रमण र भारतीय विदेशसचिव विक्रम मिश्रीको नेपाल भ्रमणबाट पनि भारतीय दृष्टिकोण प्रष्ट खुल्न सकेको छैन । जसको कारण प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण भारत नहुने देखिएको छ ।
बिमस्टेक सम्मेलनअन्तर्गत थाइल्याण्ड जाने र त्यही भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ‘साइडलाइन’ वार्ता गर्ने मनस्थितिमा रहेका ओली सो सम्मेलन रोकिएपछि अलमलमा परेका छन् । थाइल्याण्डको आन्तरिक राजनीतिक कारणले बिमिस्टेक सम्मेलन रोकिएको छ । जसले गर्दा प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारत र चीन नभई अमेरिका हुने देखिएको छ ।
अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री ओली जाने निश्चित भएको हो । त्यसको तयारी परराष्ट्र मन्त्रालय जुटिसकेको छ । सेप्टेम्बर २३ देखि सुरु हुने महासभाका लागि प्रधानमन्त्री ओली सेप्टेम्बर २१ वा २२ मा अमेरिका जाने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार प्रधानमन्त्री ओली अमेरिका जाने निश्चित भए पनि सेप्टेम्बर २१ वा २२ मध्ये कहिले जाने भनेर समय निश्चित भइसकेको छैन ।
भदौ १८ र १९ गते थाइल्यान्डमा हुने भनिएको छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलन अनिश्चित भएको भएपछि प्रधानमन्त्री ओली अमेरिका जाने भएका हुन् । थाइल्यान्डका प्रधानमन्त्री हेरफेर, बंगलादेशको आन्तरिक विवाद, म्यानमारमा आन्तरिक द्वन्द्व, श्रीलंकामा प्रधानमन्त्रीको चुनावलगायतका विषय लिएर बिमस्टेक सम्मेलन स्थगित भएको हो ।
थाइल्यान्डका प्रधानमन्त्री स्रेथा थाविसिनलाइ अनियमितता गरेको भन्दै त्यहाँको संवैधानिक अदालतले गत साउन ३० गते पदमुक्त गरेको थियो । त्यसको भोलिपल्ट पेतोङत्रान सिनावात्रा प्रधानमन्त्रीमा नियुक्त भइन् । बिमस्टेक सम्मेलन अन्योलमा परेपछि प्रधानमन्त्री ओली यूएनको महासभामा भाग लिन अमेरिका जाने तयारीमा जुटेका थिए ।
यसअघि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिच बैंककमा साइडलाइन वार्ता हुने तय थियो । मोदी पनि अहिले थाइल्याण्ड जाने तयारी छाडेर युरोप भ्रमणमा निस्केका छन् ।
अमेरिकामै मोदी र ओलीबिच साइडलाइन वार्ता हुने सम्भावना रहेको बताइएको छ । सेप्टेम्बर २६ मा प्रधानमन्त्री ओलीले महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयका एक सहसचिवका अनुसार प्रधानमन्त्री ओलीको यो अमेरिका भ्रमण नभएर यूएनको महासभामा भाग लिन अमेरिका जान लागेको भनेर बुझ्नुपर्ने बताए ।