शाङ्हाइ एउटा औद्योगिक शहर । सिंगो चीनलाई नै आर्थिक रुपमा धान्न सकेकोमा गर्व गर्थे शाङ्हाइका व्यस्त मान्छेहरू । त्यो व्यस्त शहरमा म पनि पहिले कहिल्यै नसोचे जस्तो व्यस्त हुन थालेँ ।
छोरी किन्डरगार्टेन छोडेर प्राथमिक स्कूलमा जान थालेपछि हरेक दिन अत्यन्त भीडभाडको लामो लोकल बस चढेर स्कूल पुर्याउने र लिन पनि जाने मेरो जिम्मेवारी थपियो । उसलाई स्कूल पुर्याएर आफ्नो युनिभर्सिटी जान्थेँ । छुट्टीको दिन– हरेक आइतबार– बच्चाले चिनियाँ कला सिकोस् भनेर आर्ट क्लासमा लिएर जान्थेँ ।
तीनजना सँगै बस्न थालेपछि घर व्यवहार शुरु भयो । होस्टेलमा बस्ने विद्यार्थी नभएर परिवारकी गृहिणी भएँ । कपडा धुने, खाना बनाउने, भाँडा माझ्ने जस्ता ‘काम’ नै नठानिने काममा पनि व्यस्त हुनुपर्यो । त्यसमाथि महिनाको एकपल्ट जापानी साथीहरूलाई एउटा लेख बुझाउनु पथ्र्यो ।
सरोज यति व्यस्त थिए अस्पताल, प्रयोगशालामा र पुस्तकालयमा कि उनलाई दोष दिने ठाउँ नै थिएन । तैपनि मैले लेखेका लेखलाई अंग्रेजीमा अनुवाद गरिदिने काम उनैको थियो । त्यति समय निकाल्न पनि उनलाई गाह्रो नै थियो ।
घरमा र साथीहरूलाई चिठी लेख्न पनि पातलो हुन थाल्यो । उताबाट आएका चिठीमा काठमाडौंका राम्रा समाचार विरलै सुन्न पाइन्थ्यो । ४५ सालको भूकम्पबारे सुन्दा मनमा थप त्रास बढ्यो । चिनियाँ टेलिभिजनले पनि देखाएका थिए नेपालको भूकम्प । कहिले सुन्न पाइएला देशको राम्रो समाचार भन्ने लागिरहन्थ्यो ।
मेरो भने काम नै दिनभरी एउटा बसबाट अर्को बसमा चढ्ने र उत्रिने जस्तो हुन थाल्यो । त्योबेला शाङ्हाइको बसको भीड उस्तै ! बस्न पाउने भनेको कहिलेकाहीँ मात्र हुन्थ्यो । एकपल्ट एकजना आमाले दुईजना जुम्ल्याहा बच्चा एकैसाथ बोकेर बस चढेर पनि सिट नपाएको देखेको छु । मेरो अवस्था त त्यो भन्दा राम्रै थियो । त्यो देख्दा पनि मन दिक्क हुन्थ्यो । सुनेको चीन र देखेको चीनको चित्र फरक भएजस्तो लाग्थ्यो ।
त्यतिबेलासम्म मेरो त सपनाको देश थियो चीन । चीन पुगेपछि देखेका, भोगेका कतिपय कुराले भने कर्ममा नभए जुनै देशमा पुगे पनि मान्छेले दुःख पाउनुपर्ने रहेछ भन्ने लाग्न थाल्यो । त्यतिबेलाको चीन आफैँ पनि सङ्क्रमणको अवस्थामा थियो ।
धनी र गरीबको बीचमा विस्तारै फरक देखिन थालेको थियो । यातायातको निम्ति धेरैले लोकल बस नै चढ्नु पथ्र्यो । व्यक्तिगत गाडी धेरै कमको मात्र हुन्थ्यो, उदाउँदै गरेका निजी कम्पनीका मालिकका हुन्थे ती । ट्याक्सी पनि भर्खरै चल्न थालेका थिए र ती छोइनसक्नु महंगा हुन्थे ।
चीनलाई त्यतिबेलासम्म पनि अझै साइकलको देश नै भनिन्थ्यो । सडकमा साईकलको छुट्टै लेन हुन्थ्यो । अफिसको समयमा त साइकल दौडेको देख्दा सलहको भीड जस्तो देखिन्थ्यो । बच्चाहरूलाई स्कूल पुर्याउन र लिन जान पनि साइकलकै प्रयोग गर्थे चिनियाँहरू । बच्चा राख्न मिल्नेगरी बनाएको हुन्थ्यो साइकल । साँच्चै भन्ने हो भने साइकलमा यात्रा गर्दा बसमा भन्दा सजिलो हुन्थ्यो ।
पछि सरोजले पनि एउटा साइकल किने हस्पिटल जान÷आउनको निम्ति । मैले भने आँट गरिनँ त्यो भीडमा साइकल चढन । एकपल्ट किशोरावस्थामा साथीहरूको लहैलहैमा मैले पनि घरमा केही नभनी साइकल चढ्न त सिकेकी थिएँ, बहालमा साइकल लिएर । कमलादीमा नराम्ररी लडेर हात मड्केपछि फेरि साइकल चढ्ने आँट कहिल्यै गरिनँ ।अब त चीन पनि रूसाइकलको देश’ रहेन । धेरै फरक भइसकेको छ ।
बाबुआमाको व्यस्ततासँगै छोरीको पनि व्यस्तता बढ्यो । किन्डरगार्टेनमा हुँदा त खेल्दै सिक्न पाइन्थ्यो । अब भने दिनदिनै बस चढेर स्कूल जानुपर्ने मात्र होइन, होमवर्क पनि गर्नुपर्ने भयो । तर, उसको पढाइ पनि राम्रो, मिलनसार र ज्ञानी थिई ।
विदेशीलाई चिनियाँ बच्चाहरूसँग पढ्नु सजिलो त थिएन, तर शिक्षकहरू उसको तारिफ नै गर्थे । ६ वर्षकी सानी फुच्ची, अरूको आँखामा पनि ज्ञानी र हिसी परेकी थिई । स्कूलका शिक्षिकाहरूले निकै माया गर्थे । ऊ खुशी नै थिई ।
बेला बेलामा फिल्म हेथ्र्यौँ । त्यतिबेला चीनका अन्तिम सम्राट फु यीबारे एउटा फिल्म चलिरहेको थियो । हामीले पनि हेर्यौँ । त्यो फिल्मले निकै प्रभावित पा¥यो । त्यत्रो ठूलो देश महाचीनको सम्राटले पनि आखिर सबै किसिमको सुख सुविधा छोडेर जन साधारणको जीवन यापन गरेको देख्दा जनता नै सबैभन्दा शक्तिशाली हुँदा रहेछन् भन्ने लाग्यो ।
जनउभार उर्लेपछि सत्ताबाट ओर्लिनुको विकल्प नहुँदो रहेछ ! आफ्नो देशमा पनि एकपछि अर्को आन्दोलन भइरहेको समाचार सुन्दा हामीकहाँ पनि कुनै दिन गणतन्त्र स्थापना होला भन्ने कुरामा विश्वास बढ्यो । त्यो फिल्मले कताकता एउटा भविष्यवाणी नै गरेजस्तो लाग्यो ।
लेख्न थालेपछि त लेख्नैका निम्ति पनि छुट्टै अध्ययन चाहिन थाल्यो । एकचोटी कलम बिसाएर फेरि लेख्न थाल्दा त्यति सजिलो नहुने रहेछ । बाहिर जापानी पाठकका निम्ति लेख्नु भनेको आफ्नो खुसीले लेख्ने जस्तो मात्र भएन । निशिकावा र सुसुमुले आफ्नो युनिभर्सिटीका साथीहरूलाई मात्र नभएर मेरो लेख जापानका अन्य साथीहरूलाई पनि पठाउने गरेका रहेछन् । विस्तारै पाठक प्रतिकृया पनि आउन थाले ।
कुनै कुनै लेख त जापानकै पत्रिकामा पनि छापिन थालेछन् । जस्तै व्यस्तताको बिचमा पनि एउटा सार्थक जीवन बिताउन पाएकोमा खुसी हुन पनि थालेँ । पहिलेपहिले लेखेको कुरा छापिँदा नै खुसी हुन्थेँ । अहिले त लेखेका कुरा विदेशमा छापिने मात्र होइन, अझ पैसा पनि आउन थालेपछि झनै खुशी थिएँ ।
जीवन केही सजिलो जस्तो पनि हुन थाल्यो । होस्टेलमा पनि अलि ठूलो कोठा उपलब्ध भयो हाम्रो निम्ति । कोठामै फोन पनि राख्यौँ । नत्र फोन गर्न वा रिसिभ गर्न तल अफिससम्म जानु पथ्र्यो ।
जीवनमा कहिलेकाहीँ असल दिनहरू पनि आउने रहेछन् भनेर केही आशावादी पनि हुन थाल्यौं । दुई वर्षको बीचमा धेरै नै उतार चढाव आएको महसुस भइरह्यो । फेरि केही सपना देख्न थालेँ । देश फर्केपछि बुढाबुढीको निम्ति वृद्धाश्रम खोल्ने, त्यो नसके पनि ज्येष्ठ नागरिकका निम्ति काम गर्ने, बच्चाहरूको निम्ति काम गर्ने, लेखक नै भएर सत्यको यात्रा गर्ने आदि … ।
अहिले फर्केर हेर्दा लाग्छ, बुद्धले सिकाएका चार आर्यसत्य, अनित्यता र अन्तरनिर्भरताको शिक्षा बुझ्न हरपल हामीलाई अवसर मिलिरहेको हुँदोरहेछ । तर, त्यो साँच्चै अनुभूतिजन्य ज्ञानमा परिणत हुन भने निकै मेहनत गर्नुपर्ने रहेछ । अझै त्यति मेहनत गर्न सकेको छैन ।