Logo
Logo

प्रहरीमाथि ढुंगामुढा गरेपछि हवाईफायर, दुई घाइते


- दृष्टि न्युज/संवाददाता

0
Shares

दैलेख, २८ बैशाख । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ मा स्थानीयबासीले डुंगामुढा प्रहार गरेपछि प्रहरीले जवाफी कारबाहीमा दुई राउण्ड हवाईफायर गरेको छ । ढुंगामुढासहित प्रहरी र स्थानीयवासीबीच शनिबार साँझ करिब ७ बजेतिर झडप हुँदा एक प्रहरी जवान खगेन्द्र सुनार र स्थानीय कमल शाही घाइते भएको प्रहरीले जनाएको छ ।
सालटाकुरा नाव–साल्टाडाँडा सडक निर्माणका क्रममा लकडाउनको उल्लंघन गरी ५०÷६० स्थानीयवासी जम्मा भएको जानकारी पाएपछि प्रहरी सो ठाउँमा पुगेको थियो । प्रहरी पुगेपछि एक्कासि प्रहरीमाथि स्थानीयवासीद्वारा आक्रमण भएपछि बाध्य भएर भीड नियन्त्रणमा लिन जवाफी कारबाहीमा दुई राउण्ड हवाईफायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख हरिबहादुर ओलीले जानकारी दिए ।
‘लकडाउन उल्लंघन गरी सडक खन्ने क्रममा विवाद भएको जानकारीपछि बोलाइएको प्रहरीमाथि आक्रमण हुँदा सो घटना भएको हो’, नगरपालिकाका उपप्रमुख तारा शाहीले भने । उनका अनुसार प्रहरीकोे बर्दीसमेत च्यातिएको भन्ने खबर आएको छ । शनिबार दिउँसो मात्रै सहमतिका आधारमा सडक खन्ने भनेर काम गर्न आग्रह गरिएको थियो ।

उपप्रमुख शाहीले आफूहरु दिउँसो त्यहीँ बसेको र मान्छेहरुको भीडभाड पनि धेरै भएकाले आफूहरुले प्रहरीलाई त्यहाँ पठाएको बताए । उनले त्यो घटनाका बारेमा सबै बसेर, सल्लाह गरेर नियम कानूनअनुसार अघि बढ्ने पनि बताए ।
अहिले घटनास्थलमा थप सुरक्षा बल दुल्लूबाट पठाइएको र स्थिति सामान्य भएको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान हुने र आवश्यक छानबिन गरी कारबाही अघि बढाइने दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए । प्रदेश सरकारको रु २० लाख र नगरपालिकाको रु पाँच लाख साझेदारीसहित रु २५ लाख रकममा उपभोक्ता समितिमार्फत उक्त सडक निर्माणकार्य भइरहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्