काठमाडौं । एनआईसी एशिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा ‘एनआईसी एशिया स्काई क्लब कार्ड’ सार्वजनिक गरेको छ । उक्त कार्डको प्रयोग गरेर यती एयरलाइन्सको टिकट खरिद गर्दा १० प्रतिशत छुटसहित अन्य सुविधाहरूसमेत उपलब्ध हुने बैकले जनाएको छ ।
भिसा को–ब्रान्डेड कार्डका रूपमा आएको यती एयरलाइन्स तथा यस बैंकका सम्पूर्ण ग्राहकहरूले प्राप्त गर्न सक्ने बताइएको छ । यती एयरलाइन्सको मोबाइल एप तथा वेबसाइट प्रयोग गरेर यस कार्डबाट ई–कमर्स भुक्तानी गरी सबै प्रकारका टिकट काट्दा ग्राहकहरूले १० प्रतिशत छुट पाउने बताइएको छ । यस्ता प्रत्येक कारोबारमा माइलेज पोइन्ट्स र ५ किलोग्राम अतिरिक्त ब्यागेज सुविधा पाइनेछ भने यती एयरलाइन्सका विभिन्न काउन्टरमा यो कार्ड देखाएर टिकट काट्दासमेत उक्त छुट उपलब्ध हुनेछ ।
साथै, उक्त कार्डको प्रयोग गरेबापत देशभरका विभिन्न होटल, रेष्टुरेन्ट, अस्पताल र यती एयरलाइन्सको स्काई क्लब कार्डमा उपलब्ध हुने सम्पूर्ण सुविधा एवं छुटहरू प्राप्त गर्न सकिनेछ । यो कार्ड लिनका लागि ग्राहकहरूले बैंकको शाखा कार्यालयमा पुगेर आवेदन दिन सक्ने बैंकले बताएको छ ।