Logo
Logo

बालुवाटारको ‘जुम्रा’लाई नेता रावलको जवाफ


- दृष्टि न्युज/संवाददाता

252
Shares

काठमाडौं, २८ बैशाख । प्रधानमन्त्रीका प्रेस सल्लाहकारका रुपमा सुर्य थापाको वालुवाटारमा सुनियोजित प्रवेशपछि उनी पटकपटक विवादमा आएका छन् । उनले बेला–बेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, तत्कालीन एमाले उपाध्यक्ष भीम रावलविरुद्ध जथाभावी शब्द प्रहार गर्दै आएका छन् ।
प्रधानमन्त्रीको सल्लाहकार जस्तो जिम्मेवारीमा बसेका व्यक्तिले आफ्नै नेताविरुद्ध विषबमन गर्नुले उनी झन् विवादमा आएका छन् । पार्टीभित्र झुम्रोको ‘जुम्रो’ भनेर चिनिने थापाको नियुक्ति उनलाई नेताविरुद्ध प्रयोग गर्नका लागि मात्रै हो भन्ने कुरा नेकपाका नेताहरुको बुझाइ छ ।
यस्तै, पछिल्लो समय नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका रावलले प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापालाई गतिलो जवाफ दिएका छन् । थापाले एक्लो बृहस्पति नबन्न चेतावनी दिएपछि नेता रावलले त्यसको जवाफमा ‘के अब देश, जनता, विधि, सिद्धान्त, आदर्शको पक्षमा बोल्ने व्यक्तिहरुमाथि दमन गर्न खोजिएकै हो त ? के अब देश कुनै नयाँ रंगको निरंकुशतन्त्रको कुचक्रमा धेकेलिनै लागेको हो त ?’ भन्दै प्रश्न गर्दै आफ्नो हैसियतमा बस्नसमेत भनेका छन् ।
‘देश र जनताको पक्षमा बोल्दा २०३२ सालमा निरंकुश पञ्चायती शासनले मलाई केन्द्रीय कारागारमा थुन्दा प्रधानमन्त्री केपी ओलीजी पनि त्यही हुनुहुन्थ्यो तर उहाँका सल्लाकार सूर्य थापा भने त्यो बेला १० महिनाको शिशु हुनुहुन्थ्यो । अतः मैले कुन सन्दर्भमा देशको पक्षमा कस्ता कविता, लेख, दस्तावेज लेखेँ र आन्दोलनमा नेतृत्व गरेँ भन्ने कुरा उहाँलाई थाहा नुहुनु स्वाभाविक हो । मैले नेपालको संविधान तथा नेकपाको राजनीतिक सिद्धान्त र नीति अनुरुप देश र जनताको पक्षमा बोल्दा मलाई ‘राष्ट्रवाद’को बहसमा उत्रेको हो भनी धम्कि दिएको पढ्दा २०३३ सालमा ‘श्री ५ को सरकारको घुँडा टेकुवा नीति मूर्दावाद’ भन्ने पर्चा निकालेकोमा तत्कालिन निरंकुश शासकहरुले राजकाज मुद्दा लगाएर झ्यालखानामा थुनेको सम्झना भयो । मैले देशको पक्षमा बोल्दा प्रधानमन्त्री केपी शर्मा ओलीजीका सल्लाहकारले धम्की दिएपछि सम्पूर्ण नेपाली जनताको तर्फबाट म पनि प्रश्न गर्न चाहन्छुः के अब देश, जनता, विधि, सिद्धान्त, आदर्शको पक्षमा बोल्ने व्यक्तिहरुमाथि दमन गर्न खोजिएकै हो त ? के अब देश कुनै नयाँ रंगको निरंकुशतन्त्रको कुचक्रमा धेकेलिनै लागेको हो त ? म राष्ट्रिय हित, जनता, संविधान, पार्टी विधानको पक्षमा र कुनैपनि रंगको निरंकुशताको विरुद्ध अगाडि बढ्न तयार छु’, रावलको भनाई उद्धृत गर्दै उनका स्वकीय सचिव गोविन्द दुवालले फेसबुकमा लेखेका छन् ।
नेता रावलले प्रधानमन्त्रीका सल्लाहकार थापाले आफूलाई धम्की दिएको उल्लेख गर्दै यस्ता धम्कीले सुकेको हाँगाको पात पनि नझर्ने बताएका छन् । ‘गत आम निर्वाचनमा बर्दिया निर्वाचन क्षेत्रबाट नेकपाको उम्मेदवार भएका कमरेड वामदेव गौतमलाई हराउनका लागि पार्टी केन्द्रीय कार्यालयमा बसेर षडयन्त्र गर्ने सूर्य थापालाई कारबाही गर्नुपर्नेमा प्रधानमन्त्रीले पुरस्कृत किन गर्नुभयो, कारबाही होस् भनेर कमरेड वामदेव गौतमले स्थायी कमिटीको भर्खरै सम्पन्न चौथो बैठकलगायत अनेक पटक कुरा त्यतिकै उठाउनु भएको रहेनछ । निरंकुश राणा शासकहरु कवि शिरोमणि लेखनाथको पिँजडाको सुगा भन्ने कविताबाट तर्सेका थिए । मैले स्थायी कमिटीको बैठकमा प्रस्तुत गरेको कविता पार्टी विधान, पद्धति, राष्ट्रिय हित र स्वाभिमानको पक्षमा कति शक्तिशाली रहेछ भन्ने मलाई महसूश भएको छ, सूर्य थापाजीले तर्सेर निन्दा गरेको पढ्दा । जबसम्म देशमाथि विगतका निरंकुश व्यवस्थाहरुले थोपरेका असमान सन्धि–सम्झौताहरु रहिरहने छन्, नेपालमा वाह्य हस्तक्षे भइरहनेछ, शासकहरु विधि, पद्धति र राष्ट्रिय हित प्रतिकूल काम गरिहने छन्, तबसम्म मैले मात्र होइन देशभक्त–लोकतन्त्रवादी नेपालीहरुले मैले लेखेजस्ता कविता र गीत लेखिरहने छन्, मन्तव्य दिइनै रहनेछन् र आवश्यक परेमा अझ सशक्त रुपमा उत्रने छन्’, रावलले थपेका छन् ।
होली वाइनदेखि, आइफाड पुरस्कार, तरकारीमा विषादी परीक्षणदेखि राजपासँग गरिएको सम्झौतासम्म मैले भनेको कुनैपनि कुरा तथ्यसँग मेल खाँदैन भनेर प्रमाणित गर्न सल्लाहकार थापालाई रावलले आग्रह गरेका छन् । ‘सल्लाहकारको सल्लाह भए २०३२ सालमा मैले झ्यालखानादेखि तत्कालीन नेकपा (एमाले)मा देखे भोगेका कुरा र गुटबन्दीका पत्र–पत्रहरु लगायत अन्य तथ्यहरुमा समेत बहस गरौँला । यद्यपि जुन देशमा सरकार चलाउनुपर्नेले गुट चलाउन थाल्छन्, त्यहाँका सल्लाहकारहरुबाट धेरै अपेक्षा गर्नु शायद उचित हुँदैन होला’, रावलले लेखेका छन् ।
नेता रावलका दुई कवितामाथि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार थापाले कटाक्ष गरेका थिए । रावलले २०५६ सालमा लेखेको ‘लिम्पियाधुरा’ र उनले हालै स्थायी कमिटि बैठक चलिरहँदा बैठकमै सुनाएको ‘धुँवाले छोपिँदै दियो’ शीर्षकको कविता सामाजिक सञ्जालमा शेयर गर्दै थापाले कटाक्ष गरेका हुन् । यसपछि अहिले नेता रावल र थापाबीच वाकयुद्ध चलको छ ।

प्रतिक्रिया दिनुहोस्