Logo
Logo
कला-साहित्य

‘मोहित’ भित्रका मोहित-भाका


विवश वस्ती

441
Shares

गीति–सर्जक मोहितमर्दन थापाले सङ्गीत कर्मसँग साक्षात्कार गर्ने अवसर विरासतकै रुपमा पाए । प्रातः स्मरणीयक जगतमर्दन थापाका सुपुत्र मोहितले प्रथम साङ्गीतिक एल्बम ‘मोहित’ आम श्रोतामाझ ल्याउनुलाई आफ्ना श्रद्धेय पिता जगतमर्दनको अनवरत सङ्गीत साधना र अभ्यर्थनाको उपजको रुपमा अथ्र्याउनु धेरै सान्दर्भिक होला ।

२०१३ सालदेखि नै नेपाली साङ्गीतिक आकाशमा चम्किएका जगतमर्दन नेपाली सङ्गीत जगत्लाई धेरै कालजयी शब्द र स्वर अर्पण गरेर कोरोनाकालीन समयमा हामीबिच बिदा भइसकेका छन् । दिवङ्गत पिताको बिँडो थाम्ने कार्यमा मोहितमर्दनले अग्रसरता लिएको दसीस्वरुप ‘मोहित’ सार्वजनिक हुन पुगेको मान्न सकिन्छ ।

‘मोहित’ भित्र आधुनिक, पपलगायत शैलीमा सङ्गीतबद्ध सात थान गीत छन् । सबै गीत शब्द, सङ्गीत र स्वरका त्रिवेणीमा प्रवाहमान हुँदै आ–आफ्नो हिसाबले उम्दा र गतिशील छन् ।

‘धुवाँजस्तै उड्छ यो मन माथि–माथि आकाशमा
आगोजस्तै जल्छ यो तन आँधी, हुरी, बतासैमा…।’

जीवन संघर्षका विविध पाटाहरू प्रतिविम्बित भएका छन्, यो गीतमा । जीवन अनेक सङ्घर्षशील विम्बहरूको संयोजन हो । ती विम्बहरूमा दुःख, सुख, पीडा, खुसी, आशा, निराशालगायत अनेक इन्द्रेनीहरू टाँगिन्छन् । त्यो इन्द्रेनीले फिँजाउने अनेक रंगहरूका कारण नै जीवन कहिले गाढा र कहिले फिका प्रतीत हुनु स्वाभाविकै हो ।

उनी लेख्छन्–
‘मौसमसँगै जीवन चल्यो, बादलजस्तै आकार बन्यो
हुरी, बतास, तुफानसँगै ठक्कर खाँदै चल्नु प¥यो ।’

हरेक मानिसको जीवनलाई हेर्ने दृष्टिकोण फरक–फरक हुन्छ र बाँच्ने शैली पनि भिन्नाभिन्नै । पप शैलीमा आयुष्मान विष्टको स्वरमा सजिएको ‘मोजै गरौंला…’ बोलको गीतमा युवा पुस्तामा हुर्किँदो उपभोक्ता संस्कृतिप्रति सामान्य कटाक्ष गरिएको आभास हुन्छ ।

थापाको शब्दले भन्छ,
‘घाम पानी झैँ रहेछ जीवन खटन सहुँला, बचन सहुँला
लाइहालौं पिरती, यस्तै रहेछ जेजे भइजाला, परे बेरौंला…।’
यो गीतको आखिरीतिर भने जीवनवादी सोच र संकल्प प्रकट भएको देखिन्छ, जसले युवा पुस्तामा आशा जगाउने आधार दिलाउँछ ।

प्राचीन समयदेखि आजपर्यन्त नारीको सौन्दर्यलाई केन्द्रविन्दुमा उभ्याएर अनेक सिर्जना भएका छन् । चाहे त्यो गीत–संगीतमा होस् वा आख्यानहरूमा नै । रोमान्टिक शब्द–विम्बमा टेकेर लेखिएको ‘झरनाको चिसो पानी…’ बोलको गीतमा नारी सौन्दर्यको अप्रतिम बखान गरिएको छ–
‘जवानीमा केके भयो थाहै भएन
पिरतीको नशै मिठो थाहै हुँदैन
तिम्रो हाम्रो पहिलो भेटमा आँखा जुध्यो नि
के गरुँ कसो गरुँ मनमा भइरनी
जुनेली रातमा लाग्ला है, लाग्ला है मोहनी…।’

हरेक मानिसलाई जीवन यात्रामा गतिशील तुल्याउने दुई आधार हुन्छन्, एउटा अतीतका सुखद–दुःखद पक्षका समीक्षा र अर्को भविष्यप्रति भरोसा । वर्तमान त जेनतेनले चलिरहेकै हुन्छ, कहिले ‘रमरम मरौटी हुँदै’ र कहिले तनावको भुवँरीमा रुमल्लिँदै । दिपेशकिशोर भट्टराईद्वारा स्वरबद्ध ‘बिहानीको नौलो किरणमा…’ जीवनलाई अर्थपूर्ण रूपले नियाल्ने प्रयत्न गरिएको छ ।

शब्दले भन्छ–
‘हामी दुईको मायाको सम्झनामा, उदाएको भाव कल्पनामा
बन्ने छ दुई मुटुको मिलनमा, सजिएको प्रीतिको दरबारमा…।’
‘गोधूलि साँझमा…’ बोलको गीतले प्रेमिल स्वप्नका अतल गहिराइमा डुबुल्की मार्न चाहेको देखिन्छ । सञ्जीव सिंहको सुमधुर र भाव–गम्य स्वरमा सजिएको यो गीत शब्द–संयोजनका दृष्टिले पनि सर्वोच्च स्थानमा छ ।

शब्दले भन्छ–
‘गोधूलि साँझमा तिमी हिँड्ने गोरेटोमा
तिम्रो सुवास पछ्याउँदै आएँ तिम्रो यादमा…।’

जीवनको आरोह–अवरोहमा कसैसँग सम्बन्ध जोडिने र त्यसमा विघटन आउने प्रक्रिया शदीयौँदेखि चल्दै आएको छ । तर आफू जन्मिएको र हुर्किएको परिवेशमा मौलाएको पे्रम–भाव भने मानव मस्तिष्कबाट कहिल्यै मेटिएर जाँदैन, त्यो त समयान्तरसँगै झनै प्रगाढ र स्मृतिदंशले भरिपूर्ण हुन्छन् । यी शब्दहरूले त्यही संकेत–बोध गर्दछ–

‘बिहानी पख चरीले सुनायो पुरानो गीत
देउराली र भञ्ज्याङमा हामीले लगाएको प्रित…।’

प्रेम–सन्दर्भद्वारा सुसज्जित गीत हो, ‘हावा चल्यो सुस्तरी–सुस्तरी÷मनमा माया उर्लियो बेस्सरी…।’ सुवानी मोक्तानको नरम स्वरलहरीले भरिभराउ यो गीत अरू गीतहरूभन्दा पृथक् स्वादानुभूति दिलाउन सक्षम देखिन्छ ।

गीत–संगीतले सदैव मानव जीवनको विकास–यात्रामा सहचरको भूमिका निर्वाह गर्दै आएको यथार्थलाई कदापि बिर्सन मिल्दैन । ‘मोहित’ भित्रका मोहित शब्दहरूलाई पर्गेल्दै जाँदा यो यथार्थलाई सहजै अनुभूत गर्न सकिन्छ ।

‘मोहित’ भित्रका जीवन–मूल्यले सज्जित शब्दहरूलाई स्वर–धरालतमा उभ्याउन जगतमर्दन थापा, आयुष्मान विष्ट, प्रताप दास, दिपेशकिशोर भट्टराई, सञ्जीव सिंह, विश्व नेपाली र सुवानी मोक्तानले अग्रसरता लिएका छन् । सङ्गीत–साधकहरू मनोहर सुनाम, मदन सिंह, कल्याण सिंह र सुनिल सिंह नेपालीको संगीतका कारण ‘मोहित’ भित्रका हरेक गीतहरू नयाँ र विशिष्ट उँचाइ ग्रहण गर्न सफल देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्