Logo
Logo

अश्लीलताको खेती


1.3k
Shares

हिन्दू नारीहरूको पर्व तिज नजिकिँदै छ । योसँगै जताततै तिज गीत घन्किन थालेको छ । नयाँ–पुराना कलाकार तिज गीत सार्वजनिक गर्न तछाँडमछाड छन् । तर, कति गीत सार्वजनिक रुपमा सुन्न सकिन्छ । कति गीत सुन्दा कान सुन्नुपर्ने अवस्था छ ।

गीतमा मौलिकता छैन । चर्चा र भाइरल हुने मनसायमा गीत बनाउने होड चलेको छ । पछिल्लो समय बजारमा आइरहेका तिज गीतहरूले यही पुष्टि गर्छ । केही समयअघि ‘विस्ताराले पोल्यो’ बालेको तिज गीत विवादमा पर्यो । गायिका शान्तिश्री परियार माफी माग्न बाध्य भइन् । त्यस्तै ‘मायाको पोको’ गीत पनि विवादित नै रह्यो ।

पछिल्ला अधिकांश तिज चेलीहरुको गीत परम्परा र संस्कृतिसँग मेल खाने खालका छैनन् । त्यस्ता गीतहरू गाउनेहरू आलोचित भएपनि चर्चामा आइरहेका छन् । तर, सम्बन्धित निकायलाई वास्ता छैन । सोही कारण तिज गीतको नाममा समाजमा अश्लीलता र अराजक मौलाइरहेको छ ।

पहिले–पहिले तिजमा दुःखका वेदना गाउने परम्परा थियो । दुःख वेदनाका भाव झल्कन्थे । धुरुधुरु रुवाउने खालका हुन्थेँ । चेलीको मर्म, सुख–दुःख, खुसी, उमंग र दैनिकीका सास्तीहरू गीतको विषय बन्थ्यो । मेलापात, घाँसदाउरा र घर व्यवहारका विषय हुन्थे ।

तर, अहिलेका तिज गीतमा छाडापन छ । महिलालाई होच्याउने, उपहास गर्ने प्रवृत्तिका छन् । गीतमा न तिजको मर्म बोक्ने शब्द छन्, न त प्रस्तुति नै । छिट्टै चर्चामा आउन बदनाम नै भएपनि अपाच्य गीतले ल्याउने गरेको पाइन्छ ।

अहिले बजारमा आएका तिज गीत परिवारसँग बसेर हेर्न लायक छैन । गीतमा उच्छृंखल र दोहोरो अर्थ लाग्ने शब्द बढी छ । दरमा दारु मिसाएजस्तै । हुन त परिवर्तनशील समयमा गीतमा परिवर्तन स्वाभाविकै हो । तर, हरेक कुराको एउटा सीमा हुन्छ । सीमा नाघ्दा भगवानको पाला सीताको त हरण भएको थियो ।

समय अवश्य फेरिएको छ । योसँगै रातो सारी पेटीकोट बनेको छ ! गीतका शब्दहरूमा अश्लीलताले डेरा जमाएको छ । पहिला ज्योति मगरलाई उच्छृंखल गीत गाउनेको ट्याग लगाइन्थ्यो । तर, अहिले कयौं ज्योति मगरहरू बिना ट्याग जन्मिसके ।
गीत, संगीत समाजका प्रतिबिम्ब हुन् । तर, अहिले तिज गीत दोहोर अर्थ लाग्ने शब्दको भण्डार भएको छ । संस्कृतिको नाममा छाडापन मौलाएको छ । यसका केही उदाहरण हुन्– विस्ताराले पोल्यो… । मायाको पोको । दरको साटो रक्सी खाइन्छ । पिसाब लाग्यो । पोइला जान पाम… । लास्टै चोटि हो । भिनाजु पल्केर । ठेल न बुढी ठेल… । ढाँडे बिरालो… आदि ।

यी गीतहरूले न नारीको भावना बोलेको पाइन्छ, न दुःखका वेदना । यस्ता गीतहरूले केवल नारीलाई नै उडाएको छ । तिजको महत्व घटाएको छ । गीतमा घटना प्रधान र महिला सशक्तीकरणका आवाज छैनन् । छिट्टै चर्चामा आउन भीडमा बदनाम नै भएपनि नाम चम्काउन गलत नियतका तिज गीतको सहारा लिएको पाइन्छ । त्यसो त उच्छृंखलताको भीडमा फाट्टफुट्ट राम्रा गीत पनि भेटिन्छ ।

गीत, संगीत समाजका प्रतिबिम्ब हुन् । तर, अहिले संस्कृतिको नाममा छाडापन मौलाएको छ । अहिले बजारमा आएका तिज गीत परिवारसँग बसेर हेर्न लायक छैन । गीतमा उच्छृंखल र दोहोरो अर्थ लाग्ने शब्द बढी छ । दरमा दारु मिसाएजस्तै ।

वर्षभरि नाक मुख नदेखाउने, नाम नै नसुनेका कलाकार पनि सके आफू नांगिएर, शब्दलाई बंग्याएर हिट हुने मेलो बनेको छ, तिज गीत । पार्टी प्यालेसमा भोज, हिन्दी र अङ्ग्रेजी गीतमा कम्मर मर्काउने नाच । समय, काल, परिस्थिति फेरिएको छ । त्यसैमा पुरुष पनि ‘बिच्च बिच्चमा’मा छिर्न थालेका छन् ।

खासमा नारीले हर्ष र बिस्मात गीतको माध्यमबाट अभिव्यक्त गर्ने पर्व हो, तिज । माइतीको आँगनीमा नाच बरिलै, तिजको रहर आयो बरिलै जस्ता भावनाका गीतहरू तिजमा गाउने चलन थियो ।

पहिलेको तुलनामा अहिले तिज गीतमा धेरै लगानी भइरहेको छ । विडम्बना के हो भने यो खर्चले हाम्रो संस्कृतिलाई थोरै भएपनि जगेर्ना गर्नुको साटो कमजोर बनाइरहेको छ । पैसा खर्च गरेपछि जो कोही पनि कलाकार बन्न सक्छन् भन्ने मान्यताले जरा गाड्दै गएको छ ।

हुन त परिवर्तन समयको नियमित चल्ने प्रक्रिया हो । समयक्रमसँगै सामाजिक, राजनीतिक व्यवस्था त फेरिन्छ भने गीतसंगीत पनि परिवर्तन हुने नै भए । हिजोजस्तै आज पनि तिज गीत भन्नासाथ बुहारीहरूको गुनासो र रोइकराई हुनुपर्छ भन्ने होइन ।

बुहारी जीवनको विरह, वेदना र सकस फेरिए होलान् । माइती जान नपाउने बाध्यता हट्यो होला । सासुले बुहारीलाई गर्ने व्यवहार फेरिए होलान् । तर, आधुनिकताको नाममा तिजको मैलिकता कत्तिको सम्बोधन गर्न सकेका छन् ? भन्ने प्रश्न चाहिँ गहन हो ।

बजार अर्थ व्यवस्था, प्रविधिको विकास र भूमण्डलीकरणले गर्दा मान्छेका इच्छालाई असीमित बनाइदिएको छ । हुनेहरूका लागि चाडपर्व सहज छ । सुखद छ । अरूलाई आफ्नो आर्थिक हैसियत देखाउने अवसर पनि छ । इष्टमित्रसँगको भेटघाटमा तडकभडक छ । सुनका गहना र थरी–थरीका साडीको प्रतिस्पर्धा छ ।

चाडबाड त करोडपतिको जत्ति हो, रोडपतिको पनि उत्ति नै हो । तर, यहाँ यहाँ त हुनेखाने र हुँदा खानेको अलग–अलग पर्वका रूपमा तिज चिनिन थालेको छ । भड्किलो पहिरनसँगै गीतको मौलिकता नै तोडमोड गरिनु संस्कृति र सभ्यतामाथि नै आँच पु¥याउनु हो । सिर्जनाहरू समग्र महिलाको सामाजिक तथा सांस्कृतिक जीवनलाई बोल्ने हुनुपर्छ । संस्कार सपार्ने कि बिगार्ने ? त्यो हाम्रै जिम्मेवारी हो ।

हामी आधुनिक बन्न खोज्छौँ । गल्ती त्यहीँबाट सुरु हुन्छ  । आपसी भेटघाट गर्नु, रमाइलो गर्नु सकारात्मक कुरा हो । तर, टोलै थर्काउने गरी चर्काचर्का स्वरमा गीत बजाउनु, भड्किलो पहिरन, पार्टी प्यालेसमा दरको बहानामा दारु पार्टी गर्नु, गहना र लुगाको प्रदर्शनी गर्नु गलत कुरा हो ।

जुन पर्व हो त्यसैसँग मेल खाने शब्द चयन गर्न, गाउन किन सक्दैनौँ ? तिजका गीत बिग्रेकी हामी बिग्रिएका हौँ ? संस्कार बिग्रार्ने हामी । अनि आफूले बिगारेको संस्कार र संस्कृति कसले सुधारिदिने ? आत्मसमीक्षा गर्ने अवस्था आएको छ ।

चर्चामा आउनकै लागि छाडा गीत गाउनेहरूलाई हामीले बहिष्कार गरौँ त, अर्को पटक हतोत्साहित भएर त्यस्ता कलाकार आफै किनारा लाग्छन् । गलत कुरालाई सुधार्न सकिन्छ तर नियतवश गलत गर्नेहरूबाट सुधारको अपेक्षा गर्न सकिँदैन । यसर्थ, हामी आफू सुधारको मार्गमा लाग्यौँ भने गीत आफै सुध्रिन्छन् ।

प्रतिक्रिया दिनुहोस्