Logo
Logo

लकडाउन खुकुलो पारिएसँगै पत्रपत्रिका प्रकाशन सुरु


- दृष्टि न्युज/संवाददाता

0
Shares

बागलुङ, २९ बैशाख । लकडाउन खुकुलो पारिएपछि प्रकाशकले पत्रपत्रिकाको प्रकाशन र वितरण सुरु गरेका छन् । कोरोनाको जोखिमले अपर्झट बन्दाबन्दी भएपछि पत्रपत्रिका छापिन सकेका थिएनन् । यस बीचमा प्रकाशकले पत्रिकाको ‘पिडिएफ’ लाई अनलाइन र सामाजिक सञ्जालमार्फत पाठकलाई उपलब्ध गराएका थिए । पत्रिकाको डिजिटल संस्करण पनि प्रभावकारी बनेको थियो ।
बागलुङ र पोखराबाट एकसाथ प्रकाशित हुने ‘ढोरपाटन राष्ट्रिय दैनिक’ आइतबारदेखि पोखरामा पूर्ववतरूपमा वितरण हुन थालेको छ । ढोरपाटन सञ्चार प्रालिद्वारा प्रकाशित उक्त पत्रिका सोमबार आजदेखि बागलुङ, पर्वत र म्याग्दीमासमेत वितरण हुनेछ ।
‘आवश्यक सुरक्षा सावधानी अपनाएर वितरण शुरु गरेका छौँ’, पत्रिकाका सम्पादक हरिनारायण गौतमले भने । बागलुङबाट प्रकाशित ‘धौलागिरि जागरण दैनिक’को वितरण पनि आइतबारदेखि शुरु भएको छ । प्रकाशक आदर्श सञ्चार सहकारी संस्थाले वितरकलाई अनिवार्य मास्क, सेनिटाइजर र पञ्जा प्रयोग गर्न भनेको छ ।
घर, पसल, वित्तीय संस्था र कार्यालयमा भौतिक दूरी कायम गरी वितरणको व्यवस्था मिलाइएको प्रकाशकले जनाएका छन् । वितरकलाई सकभर बाहिरैबाट पत्रिका दिन लगाइएको छ । साप्ताहिक पत्रिकाले पनि अर्को साताबाट वितरणलाई निरन्तरता दिने भएका छन् । गुहेली सञ्चार सहकारी संस्थाद्वारा प्रकाशित ‘जननिगरानी साप्ताहिक’ को प्रकाशन आइतबारदेखि शुरु भए पनि वितरण भने आउँदो सातादेखि गरिने जनाएको छ ।
पत्रकार महांघबागलुङ शाखाका अध्यक्ष दिल शिरीषले पत्रपत्रिकाको प्रकाशन र वितरण नियमित हुनुलाई सुखद मान्नुपर्ने बताउनुभयो । उहाँले सुरक्षा उपाय अपनाएर विस्तारै सबै काममा फर्कनुपर्ने धारणा राखे । ‘कोरोनाको जोखिम अझै लम्बिन सक्छ, के सधँै बन्दाबन्दी गरेर बस्ने ? अब विकल्पमा जानुपर्छ, उच्च सावधानी अपनाऔँ, भौतिक दूरी कायम गरौँ’, उनले भने ।
सरकारले शुक्रबारदेखि बैंक, वित्तीय संस्था, उद्योग, व्यापार, व्यवसाय सञ्चालनमा लचकता अपनाएपछि पत्रपत्रिका वितरणमा पनि सहजता थपिएको हो । कोरोनाका कारण सिर्जित लामो अवरोधपछि हकर अखबार बोकेर ग्राहक÷पाठककहाँ पुगेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्