काठमाडौं । भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा थुप्रै ब्राण्डका ईभीबीच टाटाको पञ्च ईभीले ग्राहकको ध्यान खिच्न सफल भएको छ ।
भदौ ११ गतेदेखि सुरु भएको अटो शोमा टाटा मोटर्सको ३२८ वटा ‘पन्च ईभी’ बुकिङ भएको छ । अटो शोको पहिलो दिनमै एक सयभन्दा बढी गाडी बुकिङ भएको थियो ।
बहुप्रतिक्षित पञ्च ईभी उत्कृष्ट एक्ट ईभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित टाटाको पहिलो उत्पादन पञ्च ईभी अत्याधुनिक प्रविधियुक्त रहेको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले जनाएको छ ।
१६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्सको साथ पञ्च ईभीमा २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) दुई भिन्न ब्याट्री प्याक रहेका छन् ।
यसका साथै यस गाडीमा ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ । गाडीले २७० देखि २९० किलोमिटर सम्मको रेन्ज प्रदान गर्नेछ । पञ्च ईभीमा १ लाख ६० हजार किलोमिटर वा ८ वर्षसम्मको वारेन्टी दिइएको छ ।
टाटा पन्च ईभी प्लस एस एमआर, एलआई र प्लस एलआर गरी तीन भेरिएन्टमा उपलब्ध छ । प्लस एस एमआरको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ, पन्च ईभी इम्पावर्ड एलआईको मूल्य ३६ लाख ९९ हजार र पञ्च ईभी इम्पावर्ड प्लस एलआरको मूल्य ३८ लाख ९९ हजार तोकिएको छ ।
सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ भन्छन्, ‘टाटा मोटर्ससँगको व्यापारिक साझेदारीमा पञ्च ईभी नेपालमा सार्वजनिक गर्न पाउँदा हामी हर्षित अनि उत्साही छौँ । लामो समयदेखि नेपाली विद्युतीय गाडीको बजारमा नेतृत्वदायी भूमिका निर्वाह गरेको सिप्रदीले पञ्च ईभीसँगै नेपाली बजारमा फेरि यही स्थान कायम गर्नेमा हामी विश्वस्त छौँ । अत्याधुनिक प्रविधियुक्त कम्प्याक्ट यसयुभी – पञ्च ईभीले हाम्रा ग्राहकलाई वातावरणमैत्री, आरामदायी र सुरक्षित यात्राको अनुभूति पाउनु हुनेछ ।’