काठमाडौं । भारतका लागि प्रस्तावित राजदूत शंकर शर्माले भारतका लागि राजदूत सिफारिस किन गरेको भन्ने प्रश्नको जवाफ नेपाल सरकारले दिनुपर्ने बताएका छन् ।
संसदीय सुनुवाइ समितिमा भारतका लागि शर्मालाई राजदूत सिफारिस गर्न नमिल्ने भनी परेको उजुरीमाथि सुनुवाइका क्रममा भारतका लागि प्रस्तावित राजदूतलाई सांसदहरूले सोही देशमा काम गरेर फर्किएपछि फेरि जान मिल्छ ? भनेर प्रश्न गरेका थिए ।
जवाफमा शर्माले भने, ‘कानुन, संविधानमा मैले लेखेको पनि देखेको छैन । एउटा निर्देशिका देखेको हो । यसको जवाफ नेपाल सरकारले दिनुपर्ने हो ।’
आफूलाई नेपाल सरकारले भारतका लागि राजदूतमा प्रस्तावित गरेकाले किन गरेको हो भन्ने जवाफ उसैले दिनुपर्ने बताए । आफूलाई एउटा सरकारले नियुक्त गरेको, अर्कोले फिर्ता बोलाएको र तेस्रोले नियुक्ति सिफारिस गरेको उनले बताए । ‘म त पूर्व राजदूत हो, अनइम्प्लोइड (बेरोजगार)’, उनले अगाडी भने ।