एजेन्सी । भारतको बैंलोरमा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याका अभियुक्त भनिएका सञ्जय रोयले घटनाबारे नयाँ खुलासा गरेका छन् ।
टाइम्स अफ इन्डियाका अनुसार पोलिग्राफ टेस्टमा उनले सीबीआईलाई अगस्ट ८ को राति सेमिनार कोठामा गल्तीवश प्रवेश गरेको र आफु पुग्दा डाक्टरको शव त्यहाँ देखेको बताएका हुन् ।
अभियुक्त सञ्जयका अनुसार एक जना बिरामीको अवस्था नाजुक थियो । उनलाई अक्सिजन चाहिएको थियो । त्यही भएर उनले डाक्टरलाई खोजिरहेका थिए ।
यसैबीच आफू तेस्रो तल्लाको सेमिनार कोठामा पुगेको रोयको भनाई छ । उनका अनुसार प्रशिक्षार्थी डाक्टरको शव त्यहीँ थियो । उनले डाक्टरको शरीरलाई हल्लाए, तर कुनै चाल थिएन । जसका कारण आफू डराएको र बाहिर भागेको उनको भनाई छ ।
यसै क्रममा कुनै चीजसँग ठोक्किँदा आफ्नो ब्लुटुथ त्यहीँ खसेको पनि रोयको जिकिर छ । आरोपितले प्रशिक्षार्थी डाक्टरलाई पहिले नै नचिनेको दाबी गरेका छन् । घटना भएको दिन अस्पतालको गेटमा सुरक्षाकर्मी नभएको र कसैले नरोकेको पनि उनले बताएका छन् ।
यस घटनामा सीबीआईले रोयसहित हालसम्म १० जनाको पोलिग्राफ परीक्षण गराइसकेको छ । जसमा आरजी कारका पूर्व प्रधानाध्यापक सन्दीप घोष, एएसआई अनुप दत्त, ४ जना सह चिकित्सक, एक स्वयंसेवी र दुई जना गार्ड रहेका छन् ।
डाक्टरको शव अगस्त ९ को बिहान फेला परेको थियो । त्यसपछि देशभरका चिकित्सकहरू सडकमा उत्रिएका थिए । सर्वोच्च अदालतको पुनरावेदनपछि धेरै अस्पतालका चिकित्सकले हडताल रद्द गरेका छन् । तर, बंगालमा विरोध प्रदर्शन जारी छ ।
कोलकाता उच्च अदालतको आदेशमा सीबीआईले यस मुद्दाको अनुसन्धान गरिरहेको छ ।