Logo
Logo

निर्वाचनमा गठबन्धन गर्न नपाइने ?


4.3k
Shares

काठमाडौं । निर्वाचनको बेला दुई वा दुई भन्दा बढी दलहरू गठबन्धन गर्न नपाउने गरी निर्वाचन कानुनको मस्यौदा तयार गरिएको छ । निर्वाचनमा राजनीतिक दलहरूले गठबन्धन गर्न नपाउने गरी निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन संशोधन विधेयकको मस्यौदा तयारी गरेको स्रोतले जनाएको छ ।

गठबन्धन नभएमा राष्ट्रिय दल बन्न नसक्ने केही दललाई रोक्ने गरी यो कानुनको मस्यौदा गरेर संसदमा पठाउन लागिएको स्रोतले जनाएको छ । योसँगै राष्ट्रिय पार्टी बन्न संघमा मात्र नभएर प्रदेश र स्थानीय तहमा पनि निश्चित प्रतिशत मत ल्याउनुपर्ने प्रस्ताव गरिएको स्रोतले जनाएको छ । राजनीतिक दलसम्बन्धी अहिलेको कानुनले राजनीतिक स्थायित्व कायम हुन नसकेको तर्क गर्दै आयोगले कानुन संशोधनको मस्यौदा तयार पार्न थालेको हो । ‘निर्वाचन कानुनको मस्यौदा कांग्रेस एमालेकै चाहना अनुरुप गरिएको छ’, स्रोतले भन्यो ।

दुई ठूला दलहरु मिलेर सरकार चलाइरहेका बेला गठबन्धन निषेधको कानुन निर्माण हुन थालेको हो । दलहरूभित्र निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने बहस चलिरहेकै बेला निर्वाचन आयोगले गठबन्धनलाई निषेध गर्ने व्यवस्थासहितको राजनीतिक दलसम्बन्धी ऐन संशोधनको मस्यौदा गोप्य रुपमा तयार गरेको छ ।

‘गठबन्धन गरेर निर्वाचित भएपछि पटकपटक विवाद आउने गरेको र जनमतको समेत सही परीक्षण हुन सकेन, त्यसकारण दलहरुबीच चुनावी गठबन्धन गर्न नपाउने गरी राजनीतिक दलसम्बन्धी ऐन संशोधन विधेयकको मस्यौदा तयार गरिएको हो’, स्रोतले भन्यो ।

आयोगले निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको संयोजकत्वमा गृह, कानुनलगायका मन्त्रालयका प्रतिनिधि सम्मिलित समिति नै बनाएर मस्यौदा तयार गरेको आयोग स्रोतले जनाएको छ ।

यति मात्र नभएर आयोगले निर्वाचनमा थ्रेस होल्डसमेत बढाउने प्रस्ताव गर्दै छ । अहिले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कम्तीमा एक सांसद जितेर समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याए राष्ट्रिय दलको मान्यता पाउने व्यवस्था छ । तर, अब आयोगले तयार पारेको कानुनको मस्यौदामा स्थानीय तह र प्रदेशमा समेत निश्चित प्रतिशत मत ल्याएपछि मात्रै राष्ट्रिय दलको मान्यता दिने व्यवस्था गरिएको छ । कति प्रतिशत मत ल्याउनुपर्छ भन्ने टुंगो चाहिँ लागेको छैन । ‘संभवत अब ७ प्रतिशत मत ल्याउनुपर्ने प्रस्ताव गरिन्छ’, स्रोतले भन्यो ।

आयोगले दल विभाजनसम्बन्धी व्यवस्थामा पनि कडाइको तयारी गरेको छ । ४० प्रतिशत सांसद र केन्द्रीय सदस्य भएमा दल विभाजन गर्न सक्ने अहिलेको व्यवस्थालाई परिमार्जनको तयारी छ ।

कुनै दलबाट निर्वाचित भएको व्यक्ति पूरा अवधि त्यही दलमा रहनुपर्ने बाध्यात्मक व्यवस्था प्रस्ताव गरिएको छ । यसले दल विभाजनलाई निरुत्साहन गर्ने आयोगको अपेक्षा छ । स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएकाले पनि कार्यकालभर कुनै दलमा प्रवेश गर्न नपाइने व्यवस्था गर्न लागिएको स्रोतले जनाएको छ ।

आयोगले दल दर्ताको प्रावधानलाई कडाइ गर्न खोजेको छ । अहिले ५ सय जनाको हस्ताक्षरसहित दल दर्ता गर्न सकिने व्यवस्था छ । तर, अब आयोगले समावेशिताको सिद्धान्त अनुरूपका सबै मापदण्ड पूरा गरेर सदस्यहरूको विवरण अनलाइनबाट बुझाउनुपर्ने प्रस्ताव गरेको छ ।

सरकारी सेवामा रहेकाहरू राजनीतिक दलमा सक्रिय हुन नपाउने व्यवस्था अहिले भए पनि नियमन हुन सकेको छैन । अब त्यसमा पनि कडाइ गर्ने तयारी आयोगको छ । दलभित्रको विवाद टुंगो लगाउने जिम्मेवारी सम्बन्धित दललाई नै दिने प्रस्ताव आयोगको छ । दलहरूको आर्थिक कारोबार पारदर्शी बनाउन अनलाइनलाई व्यवस्थित बनाउने र दलको खर्च राज्यले नै बेहोर्ने गरी ‘स्टेट फन्डिङ’ सम्मको प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्