काठमाडौं । निजमती प्रशासनलाई थिलथिलो बनाउने गरी बढुवामा बरियता मिच्न थालिएको छ । यसपटक पनि मुख्यसचिव नियुक्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीले चौथो वरियताका सचिवलाई मुख्यसचिव बनाएपछि कर्मचारी प्रशासनमा झन निराशा छाएको छ । सरकारमा रहेकाले आफू अनुकुलका मुख्यसचिव बनाउदा कर्मचारी प्रशासनका विचौलिया हाबी भएको र वेथिति निम्तिएको छ ।
आफूभन्दा कनिष्ठलाई मुख्यसचिव बनाएको भन्दै तोयानारायण ज्ञवालीले राजीनामा नै दिइसकेका छन् । उनको राजीनामा स्वीकृतसमेत भएको छ । दिनेश भट्टराई र रामकृष्ण सुवेदीले पनि काम गर्ने जागर लगाएका छैनन् । उनीहरूले पनि कनिष्ठलाई सचिव बनाएकोमा निकट कर्मचारीसँग गुनासो पोखेका छन् । गणतन्त्र स्थापनापछि नेपालमा सबैभन्दा बढी कर्मचारीतन्त्रमाथि प्रहार भएको देखिन्छ ।
स्थायी सरकार भनेर चिनिने कर्मचारीतन्त्रमाथि अस्थायी सरकारले निरन्तर प्रहार गर्दै आएको छ । केही स्वार्थी र लोभी कर्मचारीका कारण स्थायी सरकारमाथि चरम राजनीतिक हस्तक्षेप हुँदै आएको छ ।
गणतन्त्र स्थापनापछि मुख्यसचिव बनेका भोजराज घिमिरेदेखि एकनारायण अर्यालसम्म हेर्दा राजनीतिक नेतृत्वले स्थायी सरकारलाई अस्थिर बनाउँदै आएको पाइन्छ । कहिले अवधि बाँकी छँदै राजीनामा गर्न लगाएर त कहिले बरियता मिचेर मुख्यसचिव बनाउँदा कर्मचारीतन्त्र तहसनहस भएको छ ।
ओली नेतृत्वको सरकारले बरियता मिचेर चौथो नम्बरका एकनारायण अर्याललाई मुख्यसचिव बनाउँदा वरिष्ठतामा पहिलो नम्बरमा रहेका सचिव तोयनारायण ज्ञवालीले राजीनामा दिइसकेका छन् ।
गणतान्त्रिक सरकारले तत्कालीन मुख्यसचिव भोजराज घिमिरेलाई अवधि बाँकी छँदै बरियता मिचेर माधवप्रसाद घिमिरेलाई मुख्यसचिव बनाएपछि कर्मचारीतन्त्रमा जान थालेको पहिरो अहिलेसम्म थामिएको छैन । घिमिरेलाई मुख्यसचिव बनाएपछि त्योबेला बरिष्ठ सचिव उमेशप्रसाद मैनालीलगायतले राजीनामा दिएका थिए । घिमिरेपछि लिलामणि पौडेललाई पनि बरियता मिचेर मुख्यसचिव बनाइएको थियो ।
वरिष्ठलाई पाखा लगाएर पौडेललाई मुख्यसचिव बनाएपछि शंकरप्रसाद कोइरालासहितका वरिष्ठ सचिवहरूले राजीनामा दिएका थिए । लिलामणि पौडेलपछि मुख्यसचिव बनेका सोमलाल सुवेदी बीचैमा एसियाली विकास बैंकमा जागिर खान जाँदा मुख्यसचिव नियुक्तिमा बिचौलिया हाबी भएका थिए । सुवेदीले जागिर मिल्नेबित्तिकै राजीनामा दिएको भए त्यो बेलाका वरिष्ठ सचिव शान्तराज सुवेदी मुख्यसचिव बन्ने थिए ।
तर, लोकदर्शन रेग्मीलाई मुख्यसचिव बनाउने गरी राजेन्द्रकिशोर क्षेत्रीलाई मुख्यसचिव बनाइयो । क्षेत्रीपछि मुख्यसचिव बनेका लोकदर्शन रेग्मीले पनि बेलायतको राजदूत बनेर बीचैमा शंकरदास बैरागी खनाललाई मुख्यसचिवका लागि मार्ग प्रशस्त गरिदिएका थिए । रेग्मीले पूरा अवधि मुख्यसचिव चलाएको भए चन्द्र घिमिरे मुख्यसचिव बन्ने थिए । खनालले पनि पूरा अवधि मुख्यसचिव नखाई राजीनामा दिएर राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति लिए ।
जस्केलाबाट छिरेर बैकुण्ठ अर्याल मुख्यसचिव बन्दा सूर्यप्रसाद गौतम मुख्यसचिव नभइ बिदा भए । मुख्यसचिव बनेका अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेर निलम्बनमा परेपछि ९ नम्बरमा रहेकी लिलादेवी गड्तौलालाई मुख्यसचिव बनाइयो । इतिहासमै बहालवाला मुख्यसचिवमाथि भ्रष्टाचार मुद्दा लागेर अर्यालले ‘रेकर्ड’ राखेलगत्तै महिलाबाट पहिलो मुख्यसचिव बनाएर अर्को ‘रेकर्ड’ राख्ने नाममा ९ नम्बरकी गड्तौलालाई मुख्यसचिव बनाएर कर्मचारीतन्त्र तहसनहस गरिएको छ । अहिले नियुक्त भएका अर्याल डेढ वर्ष पनि मुख्यसचिव नहुने भएका छन् ।