Logo
Logo

सशस्त्रका एसपी नै तस्करका मतियार


2.5k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तस्करी रोक्न कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिइरहेको बेला सीमा नाकामा गलत व्यक्तिहरूको हालीमुहालीबाटै तस्करी रोकिन सकेको छैन । प्रधानमन्त्रीको आदेशपछि सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले सीमा क्षेत्रका जिल्लाहरू अनुगमन भ्रमण गरेपनि बाँकेको सीमा क्षेत्रबाट हुने गरेको तस्करी रोकिएको छैन । तस्करी नरोकेमा एक मिनेट पनि कमाण्डमा बस्न दिन्न भनेका आइजीपीले उनलाई हटाउन सकेका छैनन् ।

तस्करी नियन्त्रणकै लागि सरकारले पूर्वदेखि पश्चिमसम्म सीमा क्षेत्रमा सशस्त्र प्रहरीलाई तैनाथ गरी राखेको छ । सरकारले जुन उद्देश्यले सीमाक्षेत्रमा सशस्त्रका गण, गुल्म र बेस स्थापना ग¥यो सशस्त्र प्रहरीका कमाण्डहरु त्यसको ठिक विपरित कार्य गर्छन् भन्ने कुरा बाँकेले पुष्टि गरेको छ ।

बाँके जिल्लामा तस्करी चरम उत्कर्समा पुगेको देखिन्छ । तस्करी गरी सशस्त्र प्रहरीको क्षेत्र भएरै भित्रिएका अवैध भन्सार छलीका लाखौँ मूल्यका मालसामानहरू जिल्ला प्रहरी कार्यालय बाँकेले दिनहुँ बरामद गर्नुले तस्करी कुन हदसम्म भइरहेको छ भन्ने छर्लङ्ग हुन्छ ।

नेपाल प्रहरीले सामान पक्राउ गर्ने, सशस्त्र प्रहरी मुकदर्शक बन्ने अवस्था सिर्जना भएको बाँकेमा रहेका सशस्त्र प्रहरीका एक अधिकृतले भने । सीमा गस्तीअन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म, बिओपी र बेससमेतको जनशक्ति समावेश गरेर सीमा क्षेत्रको दशगजा इलाकामा बन्दोबस्तीका सामग्रीसहित परिचालित हुनुपर्नेमा एसपी विमल डाँगीले एउटा–एउटा कटबाँसको लठ्ठी दिएर गस्तीमा पठाउने गरेका छन् ।

भारतसँग जोडिएको बाँकेको करिब ६५ किलोमिटर खुला सीमा छ । त्यसको हरेक तीन÷तीन किलोमिटर दूरीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) तैनाथ छ । नेपालतर्फ भने सशस्त्र प्रहरीको उपस्थिति रहेको स्रोतले जनाएको छ ।

सीमा पैदल गस्तीले सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी तैनाथ गरिएको तथ्यलाई नै एसपी डाँगीले लत्याएका छन् ।

तराईमा स्थापन गरिएका मध्ये नेपाल भारत–सीमामा पर्ने बाँकेको बालेगाउँमा अवस्थित सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटर, बागेश्वरीबाटै घुमुवाहरु परिचालन गरी तस्करीलाई बढवा दिने गरेको छ । सशस्त्र प्रहरी उपरीक्षक (एसपी) विमल डाँगीले आफ्ना घुमुवालाई राती बाह्रपछि सामान छाड्न आदेश दिएको स्रोतले जनाएको छ । एसपी रमेश विक्रम शाही सरुवा भएर गएपछि उनको ठाउँमा ७ महिना अघिमात्र विमल डाँगी पुगेका हुन् ।

तस्करी रोक्न बाँके जिल्लाको ६५ किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरीका १० वटा विओपी (क्याम्प) राखिएका छन्, तर तस्करी भइरहेको देखिन्छ । सशस्त्र प्रहरीको क्याम्पहरु राखिएको क्षेत्रबाटै तस्करी भएर आएको लाखौं मूल्यका मालसामानहरु जिल्ला प्रहरी कार्यालय बाँकेले धमाधम पक्राउ गरिरहेको छ । सीमाक्षेत्रबाट तस्करी भएर आएको मालसामानहरु जिल्ला प्रहरी कार्यालयको प्रहरीले नेपालगन्ज र आसपासबाट अहिले दिनहुँजसो पक्राउ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्