Logo
Logo

बालश्रमिक राख्ने ३५ उद्योगलाई कारबाही


315
Shares

बागमती । बालबालिकालाई श्रमिकका रूपमा काममा लगाउने ३५ उद्योग प्रतिष्ठान तथा रोजगारदातालाई श्रम तथा रोजगार कार्यालय हेटौँडाले कारबाही गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा ९५ उद्योग प्रतिष्ठान गरिएको अनुगमनका क्रममा बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने ३५ प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरेको हो ।

कार्यालयका प्रमुख छन्दनारायण श्रेष्ठका अनुसार ती प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरी ६१ हजार १०० जरिवाना तथा तीन लाख ९१ हजार २५६ रुपैयाँ जरिवाना गराइएको छ । सो अवधिमा विभिन्न उद्योग प्रतिष्ठानबाट बालश्रमिकका रूपमा रहेका ३५ जना बालबालिकाको उद्धार गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताए ।

आव २०८०/८१ मा दुई सय ३५ प्रतिष्ठानमा अनुगमन गर्दा अधिकांश ठूला उद्योग प्रतिष्ठानमा न्यूनतम पारिश्रमिकलगायत श्रम कानुनको पालना गरेको पाइए पनि साना उद्योग प्रतिष्ठानमा नियुक्तिपत्र, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र व्यवसायजन्य सुरक्षाको अवस्था कमजोर रहेको पाइएको प्रमुख श्रेष्ठले जानकारी दिए ।

अनुगमनका क्रममा कमजोर पाइएका उद्योग प्रतिष्ठानलाई सुधार गर्न निर्देशन दिएको र श्रमिक तथा व्यवस्थापकलाई समेटेर सचेतनामूलक कार्यक्रमसमेत गरेको उनले बताए । कार्यालयमा हाल होटल, उद्योग, वर्कसप गरी ५० वटा उद्योग प्रतिष्ठान सूचीकृत रहेको र १५० प्रतिष्ठानलाई सूचीकृत हुन ताकेता गरेको कार्यालय प्रमुख श्रेष्ठले बताए ।

यो अवधिमा पारिश्रमिकसम्बन्धी ७९ उजुरी दर्ता भएकामा ६० उजुरी कार्यालयको पहलमा प्रत्यक्ष वार्तामार्फत समाधान गरिएको र बाँकी १९ उजुरी समाधानको प्रक्रियामा रहेको प्रमुख श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्